
काठमाडौं महानगरपालिका–२६ स्थित गोङ्गबुको एउटा गेस्ट हाउसमा पत्नीको हत्या गरेर भागेका युवकलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काभ्रेको भुम्लु घर भएका सन्तोष सेन्चुरी छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पर्साबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो । अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार सेञ्चुरीलाई विरगंजबाट नियन्त्रणमा लिइएको हो।
सेन्चुरीले साउन २७ मा गोङ्गबुको कञ्चन कोशी होटल एन्ड लजमा लगेर २७ वर्षीया पत्नी ललिता विकको हत्या गरेका थिए ।
बुढानीलकण्ठ नगरपालिका–२ मा बस्दै आएका उनले पत्नीलाई गेस्ट हाउसमा लगेर घाँटी थिचेर हत्या गरेपछि पलङमुनि लुकाएर हिँडेका थिए । घटना लुकाउन उनैले साउन २८ मा प्रहरी वृत्त महाराजगन्जमा श्रीमती हराएको भन्दै निवेदन दिएका थिए । तर, साउन ३० गते राति गेस्ट हाउसमा पत्नीको शव प्रहरीले भेटेको सूचना पाएपछि उनी भागेर पर्सा पुगेका थिए ।
यसरी भएको थियो घटना
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार एक वर्षे छोरीकी आमा ललिता असनको एक गार्मेन्टमा काम गर्थिन्। सधैं झै काममा जान भनेर उनी २७ गते बिहान पनि छोरीलाई छाडेर असन पुगेकी थिइन् ।
अपराह्न २ बजे उनी आसनबाट हिँडेकी थिइन् । श्रीमानले पटक-पटक फोन गरेपछि ललिता तनावमा थिइन् । ललिताका परिवारका अनुसार २७ गते साँझ ६ बजेसम्म ललिताको फोन लागिरहेकै थियो । साँझसम्म घर नपुगेपछि उनका आफन्त र माइतीले खोजी शुरू गरेका थिए।
२८ गते प्रहरी वृत महाराजगञ्जमा ललिता हराएको भन्दै खोजतलास गर्न निवेदन दिएका थिए। निवेदन दिन ललिताका श्रीमान सेन्चुरी आफैं प्रहरीमा पुगेका थिए ।
हराएको ५ दिनसम्म पनि प्रहरीले फेला पार्न सकेन । ‘गार्मेन्टमा काम गरिरहेकी ललितालाई लिन उनका श्रीमान सन्तोष सेन्चुरी गएका थिए । उनले ललितालाई घुम्न जाऊ भन्दै फकाएर गोंगबु बसपार्कको होटलमा लगेर हत्या गरेका हुन्,' अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले लोकान्तरलाई भने,' सन्तोष ट्याक्सी चालक हुन् । दुई वर्षअघि मागी विवाह गरेका सन्तोष र ललितको १ वर्षीय छोरी पनि रहेकी छन्।'
बसपार्कको होटलको कोठामा गन्ध आएको अवस्थामा सर्च गर्दा ललिताको शव भेटिएको सूचना प्रहरीमा पुगेको थियो । सन्तोषले ललिताको हत्या गरेर होटलको बेडभित्र शव लुकाएका थिए ।
सन्तोषले गोंगबु मित्रनगरमा रहेको कञ्चन कोशी होटल एन्ड लजको २०१ नम्बर कोठा बुक गरेर ललितालाई लगेको प्रहरीले जनाएको छ।
राति सँगै बसेका जोडीहरू बिहान नदेखिपछि पैसा नतिरी फरार भए होलान् भनेर होटल कर्मचारीले सन्तोषलाई फोन गरेका थिए । उनी मोबाइल अफ गरेर फरार भएका थिए ।
घटनाबारे थप अनुसन्धान भैरहेको एसएसपी बस्नेतले बताए ।