२८ जेठ २०८३, बिहीबार
युक्रेन युद्ध अन्त्यको प्रयास

पाँच महिनाअघिको 'अप्रिय' क्षण भुलेर ह्वाइट हाउस जाँदै जेलेन्स्की, कस्तो आउला परिणाम ?

भदौ २, २०८२
काठमाडौं
पाँच महिनाअघिको 'अप्रिय' क्षण भुलेर ह्वाइट हाउस जाँदै जेलेन्स्की, कस्तो आउला परिणाम ?
फाइल तस्वीर

युरोपेली नेताहरूको दलबलसहित युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न जाने तयारीमा छन् ।

५ महिनाअघि राष्ट्रपति ट्रम्पबाट अपमान खेपेका जेलेन्स्की अहिले एक्लै जाँदैछैनन् । उनलाई युरोपेली देशका नेताहरूले दह्रो साथ र समर्थन दिएका छन् ।

यसैबीच, ट्रम्पका विशेष दुत स्टिभ विटकफले नयाँ खुलासा गरेका छन् ।

युक्रेनले नेटो (उत्तरी एटालान्टिक सन्धि सम्झौता)को सपना त्यागे युक्रेनलाई नेटोले जस्तै सुरक्षा दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहमत भएको खुलासा विटकफले गरेका हुन् ।

‘युक्रेनलाई बलियो सुरक्षा ग्यारेन्टी दिने सम्झौतामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहमत भएका छन्,’ विटकफको भनाइ उदृत गर्दै सीएनएनले लेखेको छ ।

उक्त सहमतिलाई युक्रेन युद्ध अन्त्य गर्ने शान्ति सम्झौताको अभिन्न अंग मानिएको पनि विटकफले जनाएका छन् । यससँगै सन् २०१४ मा रुसले आफ्नो कब्जामा लिएको क्राइमियामाथि युक्रेनले दाबी गर्न नहुने अर्को शर्त पनि पुटिनले सारेका छन् ।

‘रुसले सहमति जनाएको कुरा युक्रेन कहिल्यै पनि नेटोमा सामेल हुन नसक्ने अडानको समाधानका लागि एक उपाय थियो । यससँगै रुसले आगामी दिनमा कुनै पनि अन्य युरोपेली देशहरूमा आक्रमण नगर्ने प्रतिबद्धता पनि जनाएको छ,’ विटकफले भने ।

यद्यपि, क्रेमलिनले भने यस्तो सम्झौता भएकोबारे केही प्रतिक्रिया दिएको छैन ।

उत्तर अमेरिकी राज्य अलास्काको एंकोरेजमा गत शुक्रबार भएको राष्ट्रपति ट्रम्प र पुटिनबीचको छलफल नतिजाविहीन भएको चर्चा चल्दै गर्दा विटकफले यस्तो खुलासा गरेका हुन् ।

उक्त बैठकमा पुटिन हाबी देखिएको र ट्रम्प उनका अगाडि निरीह देखिएको भन्दै अमेरिका र युरोपमा ट्रम्पको आलोचना भएको थियो ।

बैठकमा ट्रम्पसामु पुटिनले रुसले करिब ७० प्रतिशत भू-भाग कब्जा गरेको डोनबास क्षेत्र आफ्नो नियन्त्रणमा रहनुपर्छ भनेर शर्त राखेको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार प्रकाशित गरेका थिए । ‍तर, विटकफले डोनबास क्षेत्रबारे केही बताएका छैनन् ।    

एंकरेजमा चुगाच हिमालको छायाँमा रहेको अमेरिकी संयुक्त सैन्य बेसक्याम्पमा रातो कार्पेट ओछ्याएर पुटिनलाई स्वागत गरिएको थियो । उक्त दृश्यले शीतयुद्धपछिको विश्व व्यवस्थामा आएको ‘नाटकीय’ परिवर्तनको संकेत गरिरहेको थियो ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट युद्ध अपराधमा आरोपित गरिएका पुटिनले उक्त अवसरलाई आफ्नो पक्षमा पार्न खोजेका थिए । यो राजनीतिक उपहार उनलाई अमेरिकी राष्ट्रपति ट्रम्पले दिए ।

उक्त भेटमा पुटिन हाबी भएको भन्दै युक्रेन र अन्य युरोपेली देशहरू सन्तुष्ट थिएनन् । बैठकमा दुई नेताबीच कुनै लिखित सम्झौता भएको थिएन । दुवै नेताबीच अर्कोपटक भेट्ने योजना पनि बनेको थिएन ।

यही असहज पृष्ठभूमिका बीच युक्रेनी राष्ट्रपति जेलेन्स्की उच्चस्तरीय वार्ताका लागि सोमबार वासिङ्टन पुगेका छन् ।  उनको यो भ्रमण युक्रेनको भविष्यका लागि सबैभन्दा महत्वपूर्ण कूटनीतिक दौडधूप हो । यसअघि ह्वाइट हाउसमै ‘अपमानजनक’ व्यवहार भएको महसुस गर्दै जेलेन्स्की लन्चसमेत छोडेर हिँड्नुपरेको घटना ताजै छ ।

ट्रम्पसँग राम्रोसँग ‘डिल’ गर्नकै लागि उनले यसपटक युरोपेली नेताहरूको सहयोग लिएका हुन् ।

सीएनएन लेख्छ, ‘अमेरिकी अडान परिवर्तन गराउनु उनको पहिलो र प्रमुख लक्ष्य हो । उनले, ट्रम्प पुटिनसँग भन्दा पनि युक्रेन र युरोपसँग नजिक हुनुपर्ने मत राख्दै आइरहेका छन् । उनले ट्रम्पलाई युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति अमेरिकी प्रतिबद्धता सम्झाउने प्रयास गर्नेछन् ।’

जेलेन्स्कीसँगै फ्रान्स, जर्मनी, बेलायत, इटाली र फिनल्यान्डका नेताहरू पनि वासिङ्टन पुगेका छन् । युरोप र युक्रेन एकै ठाउँमा छन् र कुनै पनि सम्झौता युक्रेनको सहमतिविना हुन सक्दैन भन्ने बलियो सन्देश दिनु जेलेन्स्कीको अर्को उद्देश्य हो ।

उनले आफूले कुनै पनि भूमि नत्याग्ने स्पष्ट पार्ने प्रयास गर्नेछन् ।

जेलेन्स्कीको अडानमा युरोपेली नेताहरू सकारात्मक छन् । युरोपेली नेताहरू साथमा भएपछि आफूमाथि ट्रम्प हाबी नहोलान् भन्ने उनको सजगता देखिन्छ ।

तर, जेलेन्स्कीका चुनौतीहरू पनि उत्तिकै गम्भीर छन् । उनको सबैभन्दा ठूलो चुनौती राष्ट्रपति ट्रम्प स्वयं हुन् । ट्रम्प आफ्नो 'अमेरिका फर्स्ट' नीतिका लागि परिचित छन् र उनले युक्रेनलाई दिइँदै आएको अमेरिकी सैन्य सहायताको बारम्बार आलोचना गरेका छन् ।

यस्तो अवस्थामा जेलेन्स्कीले ट्रम्पको व्यक्तिगत धारणा र राजनीतिक हिसाबकिताबलाई कसरी सम्बोधन गर्छन् भन्ने कुरा महत्वपूर्ण हुनेछ ।

दोधारमा ट्रम्प

राष्ट्रपति ट्रम्पका लागि युक्रेन युद्ध एक जटिल मुद्दा हो । उनले आफूले चुनाव जिते कार्यकाल सम्हालेको २४ घण्टाभित्र युक्रेन युद्ध समाप्त गर्ने प्रतिबद्धता चुनावी अभियानका क्रममा दिएका थिए ।

तर, उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेको ७ महिना पुगिसकेको छ । शान्तिका लागि अहिलेसम्म देखिने गरी प्रगति भएको छैन ।

अर्कोतिर, ट्रम्प पुटिनप्रति नरम भएको आरोप लाग्दै आएको छ । उनको अलास्का बैठक र त्यसपछिका अभिव्यक्तिहरूले उनी रुसको पक्षमा उभिएको देखिएको छ ।

ट्रम्पका लागि घरेलु राजनीतिको हिसाबकिताब पनि महत्वपूर्ण छ । युद्ध अन्त्य गर्न सके भने उनले आफूलाई एक बलियो नेता र शान्तिको दूतका रूपमा प्रस्तुत गर्न सक्छन् ।

पटक-पटक नोबेल शान्ति पुरस्कारको दाबी गरिरहेका ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न सके भने उनको दाबेदारी थप बलियो हुनेछ । तर, यदि उनले युक्रेनको हितविपरीत सम्झौता गरे भने आफ्नै रिपब्लिकन पार्टीभित्रबाट पनि आलोचनाको सामना गर्नुपर्ने हुन्छ ।

अलास्काकी सिनेटर लिसा मुर्कोवस्की जस्ता केही रिपब्लिकनहरूले जेलेन्स्कीलाई तानाशाह भन्न नसकिने र युद्धको जिम्मेवार पुटिन नै भएको बताइसकेका छन् ।

पुटिनसँग ट्रम्पको सम्बन्ध सधैं चर्चा र विवादको विषय बनेको छ । अलास्काको बैठकमा ट्रम्पको व्यवहार पुटिनमैत्री थियो । उनले संयुक्त पत्रकार सम्मेलनका क्रममा पुटिनलाई पहिले बोल्न दिए र आफू शान्तसँग सुनिरहे ।

उनको हैसियत विश्वकै शक्तिशाली देश अमेरिकाको राष्ट्रपतिभन्दा बढी एक सम्मानजनक आयोजकको जस्तो देखिन्थ्यो । यसले जेलेन्स्कीसँगको वार्तामा उनले खासै अपेक्षा नराखेको जस्तो देखिएको सीएनएनको टिप्पणी छ ।

जेलेन्स्कीको मुख्य शक्ति भनेको आफ्नो नैतिक अडान र युरोपेली सहयोगीहरूको बलियो समर्थन नै हो ।

अन्तर्राष्ट्रिय प्रतिक्रिया

अलास्का बैठकपछि र जेलेन्स्कीको वासिङ्टन भ्रमणले विश्वभर तरंग पैदा गरेको छ ।

युक्रेनमा गहिरो चिन्ता र अनिश्चितता छाएको छ । अमेरिकी समर्थनबिना यो युद्ध लड्न असम्भवप्रायः छ र अमेरिकाको नीतिमा आएको बदलावले उनीहरूलाई अस्तित्वको संकटमा धकेलेको छ ।

अलास्का बैठकपछि अमेरिकी विदेश नीतिमा आएको परिवर्तनलाई रुसी राजदूतले प्रशंसा गर्दै भनेका छन्, ‘पहिलोपटक अमेरिकाले हाम्रो कुरा सुनेको छ र हामीले के भनिरहेका छौं भनेर बुझेको छ ।’

रुसले यसलाई आफ्नो कूटनीतिक विजय र पश्चिमा गठबन्धनको कमजोरीको रूपमा व्याख्या गरिरहेको छ । पुटिनको कूटनीतिक जीत भएको भन्दै युरोपेली देशका राजधानीहरू (बर्लिन, पेरिस, लन्डन र ब्रसेल्स) रहेका नेटो मुख्यालयमा चिन्ता फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अलास्का बैठकको ऐतिहासिक तुलना

अलास्कामा ट्रम्प र पुटिनबीच भएको वार्तालाई इतिहासका केही महत्वपूर्ण कूटनीतिक क्षणहरूसँग तुलना गर्न थालिएको छ । अलास्का शिखर सम्मेलनको तुलना १९३८ को म्युनिख सम्झौतासँग गरिएको छ । त्यहाँ, बेलायत र फ्रान्सले चेकोस्लोभाकियाको भूभाग हिटलरलाई सुम्पेर ‘शान्ति’ ल्याउने प्रयास गरेका थिए ।

त्यसैगरी, १९४५ को याल्टा सम्मेलनमा पनि ठूला शक्ति राष्ट्रहरूले कमजोर राष्ट्रको उपस्थितिबिना नै उनीहरूको भविष्यबारे निर्णय गरेका थिए । यो अवस्था विगतमा युक्रेन संलग्न भएका मिन्स्क सम्झौता वा नर्मन्डी फर्म्याटजस्ता बहुपक्षीय वार्ता प्रक्रियाभन्दा बिल्कुल फरक देखिन्छ । ती सम्झौताहरूमा युरोपेली देशहरूको महत्वपूर्ण भूमिका थियो ।

ट्रम्पको शैलीले बहुपक्षीय कूटनीतिलाई कमजोर पार्दै व्यक्तिगत सम्बन्ध र बल प्रदर्शनमा आधारित ‘डिल मेकिङ’लाई प्राथमिकता दिएको देखिन्छ ।

कस्तो आउला परिणाम ?

जेलेन्स्की र ट्रम्पबीचको वार्ताबाट धेरै सम्भावित परिणामहरू निस्कन सक्ने विश्लेषकहरूको आंकलन छ ।

पहिलो सम्भावित परिणामअनुसार जेलेन्स्की र युरोपेली नेताहरूले ट्रम्पलाई युक्रेनको पक्षमा उभिन मनाउन सफल हुन सक्छन् । यसले पश्चिमा एकतालाई पुनर्स्थापित गर्नेछ र रुसलाई युक्रेनको सार्वभौमसत्तामा कुनै सम्झौता हुनेछैन भनेर स्पष्ट सन्देश दिनेछ ।

तर, ट्रम्पको शैली हेर्दा यो परिणाम थप जटिल हुन सक्ने आकलन पनि गरिएको छ । ट्रम्पले जेलेन्स्कीलाई रुसले कब्जा गरेको भूभागमाथिको दाबी छाड्न दबाब दिन सक्छन् । जेलेन्स्कीले यसलाई अस्वीकार गर्दा वार्ता असफल हुन सक्छ ।

यसको परिणामस्वरूप अमेरिकाले युक्रेनलाई दिँदै आएको सहायता कटौती गर्ने सम्भावना छ, यसले युक्रेनलाई अत्यन्तै कमजोर अवस्थामा पुर्‍याउनेछ ।

दुवै पक्षले ‘शान्तिको लागि प्रतिबद्धता’जस्ता अस्पष्ट भाषामा एक संयुक्त विज्ञप्ति जारी गर्ने सम्भावना पनि रहेको सीएनएनको भनाइ छ ।

उनीहरूले मुख्य मुद्दाहरूलाई भविष्यका लागि थाती राख्न सक्छन् । यसले तत्कालको संकट टार्न सक्छ, तर युक्रेनमाथिको अनिश्चितताको बादल भने कायमै रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्