
२०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनको तीन वर्षपछि प्रमुख राजनीतिक दलहरू शक्ति परीक्षणको सम्मुखमा उभिएका छन् ।
निर्वाचनको तीन वर्ष पुग्नै लाग्दा आगामी कात्तिक १७ गते रुपन्देही– ३ को उपनिर्वाचन हुन लागेको हो । यो आधाभन्दा बढी कार्यकाल सकिएपछि दलहरूमाथि हुन लागेको जनमतको परीक्षण पनि हो । यसलाई कतिपयले ‘मिनी जनमतसंग्रह’को रूपमा पनि लिएका छन् ।
दलहरूले रुपन्देहीको उपनिर्वाचनलाई निकै महत्त्वका साथ हेरेका छन् । चुनावदेखि अहिलेसम्म र चुनावअघिको सम्भावित शक्ति परीक्षणको रूपमा उपनिर्वाचन हुँदैछ ।
एकातिर परम्परागत नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाले उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् । अर्कोतिर जान्नेलाई छान्ने भन्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उपनिर्वाचनलाई प्रतिष्ठाको विषय मानेको छ ।
२०७९ मा एमालेसँग तालमेल गरेर राप्रपाका दीपक बोहरा निर्वाचित भएका थिए । स्वास्थ्यमा समस्या आएपछि प्रचारमा भाषण नै नगरी बोहराले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका थिए । उनै बोहराको २०८१ चैत १९ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
बोहरा २६८१ मतान्तरले विजयी भएका थिए । उनले ३६ हजार ७१७ मत प्राप्त गर्दा खाँणको ३४ हजार ३६ मत आएको थियो । ८४ हजार ८७ मतमा बोहराले ४३.६७ प्रतिशत मत प्राप्त गरेका थिए । दोस्रो स्थानका बालकृष्ण खाँणको ४०.४८ प्रतिशत मत आएको थियो ।
बोहरालाई ठूलो दल एमालेको मात्रै साथ थियो । कांग्रेसका खाँणलाई माओवादी, नेकपा एकीकृत समाजवादी, लोसपासहितका दलले समर्थन गरेका थिए ।
ठूला दलको समर्थन पाउँदा पनि खाँणले चुनाव जित्न सकेका थिएनन् । रुपन्देही १, २, ४ र ५ मध्ये कुनैमा पनि पनि राप्रपाले उम्मेदवारी दिएको थिएन । बदलामा राप्रपाले बोहराका लागि रुपन्देही– ३ रोजेको थियो । बोहराले २०७० मा पनि यही क्षेत्रबाट चुनाव जितेका थिए । उनीबाहेक रुपन्देही– ३ मा कांग्रेस र एमालेले आलोपालो चुनाव जित्दै आएका थिए ।
तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका जीतबहादुर गुप्ता तेलीले ५ हजार ७९६, नागरिक उन्मुक्ति पार्टीका तुलसीप्रसाद थारूले ४ हजार ७५१ मत, जनमत पार्टीका प्रमोदकुमार राउतले ३,३१७ मत प्राप्त गरेका थिए ।
२०७९ मा समानुपातिकतर्फ रास्वपाले परम्परागत दललाई चुनौती दिएको थियो । समानुपातिकतर्फ कांग्रेसले सबैभन्दा बढी २०,२७९ मत प्राप्त गर्दा एमालेले १६,९८६ मत पाएको थियो । तेस्रो भएको रास्वपाले १४,१५४ मत प्राप्त गरेको थियो ।
एमालेको सहयोगमा चुनाव जितेको राप्रपाले ९१८३ मत प्राप्त गरेको थियो । नागरिक उन्मुक्तिले ६,०१०, जसपा नेपालले ५,२९१, लोसपाले ५,०५३, जनमतले ३,७३२ मत ल्याउँदा माओवादी केन्द्रले २,६३७ मत मात्रै ल्याएको थियो ।
उम्मेदवार र गठबन्धनबारे टुंगो लगाउँदै दल
उपनिर्वाचनका लागि अब दुई/साढे दुई महिनाको समय बाँकी छ । तर, कुनै पनि दलले उम्मेदवार टुंगो लगाएका छैनन् । अघिल्लोपटक हारेका बालकृष्ण खाँणलाई नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा लागेको छ । अझै पनि कतिपयले खाँणलाई उम्मेदवार बनाउनुपर्ने प्रस्ताव गरेका छन् । तर, अघिल्लोपटक पराजित भएको र गम्भीर मुद्दा खेपेकाले उनलाई उम्मेदवार बनाउन नहुने मत कांग्रेसमा छ ।

कांग्रेसले खाँणलाई उम्मेदवार बनाउने सम्भावना कम रहेको बताइन्छ । कांग्रेसबाट प्रमोद यादव, रामचन्द्र ढकाल र सुशील गुरुङ प्रमुख दाबेदार हुन् । पूर्व सांसद एवं व्यवसायी गुप्ता कांग्रेसका सबैभन्दा बलियो दाबेदारका रूपमा देखिएका छन् । प्रशस्त पैसा समेत खर्च सक्ने नेतामा उनी परिचित छन् ।
अर्कोतिर, नेता खाँणले आफ्नो मुद्दा अदालतबाट किनारा लाग्ने समय पर्खिरहेका छन् । मुद्दाबाट ‘क्लीन चिट’ पाए एमालेको समर्थनमा उम्मेदवार बन्न सकिने विश्वासमा समेत खाँण रहेको चर्चा रुपन्देहीमा छ । मुद्दा जिते एमालेको समर्थन नपाए पनि जित्ने हिसाब खाँणले निकालेका छन् ।
नयाँ दलको चुनौती सामना गर्न नयाँ अनुहार उठाउनुपर्ने दबाब कांग्रेसलाई छ । उपनिर्वाचनअघिको माहोल बुझ्न र आवश्यक तयारी गर्न महामन्त्री विश्वप्रकाश शर्मा केही दिनअघि सो क्षेत्रमा पुगेका थिए । उनी दुईपटक रुपन्देही पुगेर कांग्रेसको स्थिति, उम्मेदवारसहितका विषयमा छलफल गरेका छन् ।
तुलनात्मक रूपमा एमाले भने उम्मेदवारबारे खुलिसकेको छ । यसअघि राष्ट्रिय सभा सदस्य रहेका खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने तयारी एमालेको छ ।

आन्तरिक रुपमा उनैको नाममा निर्वाचनको तयारी गर्न माथिबाटै सन्देश पठाइएको छ । यद्यपि, एमालेले उम्मेदवारको औपचारिक टुंगो लगाएको छैन ।
अघिल्लो निर्वाचनमा रुपन्देही ५ मा एमालेबाट खिमलाल भट्टराई कि वासुदेव घिमिरे भन्नेमा विवाद भएको थियो । उम्मेदवार बन्नैका लागि भट्टराई राष्ट्रिय सभाको सदस्यबाट राजीनामा दिएर रुपन्देही पुगेका थिए । भट्टराईलाई एमालेले आधिकारिक उम्मेदवार बनाएको थियो ।
तर, पहिले उम्मेदवारी दर्ता गराएका घिमिरेले अन्तत: चुनाव लडे र जिते । यसैले अघिल्लोपटक भट्टराईलाई अन्याय भएकाले यसपटक उनैलाई एमालेले टिकट दिन खोजेको हो ।
चुनाव लड्नका लागि भट्टराईसहित शशी पौडेल, हरिप्रसाद अधिकारी, यज्ञजित शाहको नाम क्षेत्रबाट माथि सिफारिस भएको बुझिएको छ ।
पौडेल व्यवसायी हुन् । अधिकारी सिद्धार्थ नगर नगरपालिकाका पूर्व प्रमुख हुन् ।
यता, कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले रुपन्देही– ३ को विषयमा उम्मेदवारबारे कांग्रेस आन्तरिक छलफलमा रहेको बताए ।
‘निर्वाचन क्षेत्रका साथीसँग कुराकानीमा महामन्त्रीसहितका नेताहरू पुगेर पार्टीको स्थिति र उम्मेदवारबारे नजिकबाट बुझिरहनुभएको छ । हामी यसपटक नयाँ र लोकप्रिय उम्मेदवार उठाउँछौं’ विश्वकर्माले भने, ‘किनकि हामीलाई राम्रो उम्मेदवार उठाउन बाध्यता नै छ ।’
संघ र प्रदेशमा एमालेसँग सत्ता समीकरण रहे पनि चुनाव एक्लै लड्ने तयारीमा कांग्रेस रहेको विश्वकर्मा बताउँछन् ।
‘हिजो एउटा परिस्थितिले चुनावमा गठबन्धन भएको थियो । अर्को परिस्थितिले हामी सरकारमा छौं,’ विश्वकर्माले भने, ‘तर, हामीले उपनिर्वाचनमा चुनावी गठबन्धन गर्ने कुरालाई प्राथमिकतामा राखेका छैनौं । हामी एक्लै चुनाव लड्छौं ।’
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले रुपन्देही– ३ मा कुनै पनि दलसँग समीकरण नबनाउने बताए ।
‘हामीले अघिल्लोपटक समीकरण बनाएर चुनाव लड्यौं । तर, सत्तामा कांग्रेससँग समीकरण भए पनि एक्लै चुनाव लड्ने तयारीमा एमाले छ,’ गौतमले लोकान्तरसँग भने, ‘क्षेत्रबाट खिमलालसहितका चार जनाको नाम सिफारिस भएर आएको छ । अहिले नै हतार छैन । हामी आवश्यक समयमा उचित निर्णय गर्छौं ।’
रुपन्देही– ३ को प्रतिनिधिसभा क्षेत्रमा बुटवल उपमहानगरपालिकाका १४ देखि १९ नम्बर वडा पर्छन् । सिद्धार्थ नगरपालिका र शुद्धोधन गाउँपालिकाका सबै वडा यहीँ पर्छन् ।
मायादेवी गाउँपालिकाका ७ र ८ नम्बर वडा, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाको वडा नम्बर १, २, ३, ६ र ७ तिलोत्तमा नगरपालिकाको ६ र ७ नम्बर वडा रुपन्देही ३ मा पर्छन् ।
ग्रामीण क्षेत्र, जाति विशेषको बाहुल्यता र शहरी मतदाता पनि मिश्रित भएकाले अघिल्लोपटक उम्मेदवारी नदिएको रास्वपाले यसपटक यहाँको चुनावलाई निक्कै प्रतिष्ठाको विषय बनाएको छ ।
एमालेको भन्दा समानुपातिकमा ३ हजार मात्रै कम मत पाएपछि रास्वपा उत्साहित भएको थियो । त्यसैले यसपटक आफ्नै उम्मेदवार अगाडि सार्ने पक्षमा रास्वपा छ ।
दरखास्त हालेरै रास्वपाले उम्मेदवार छनोट गर्दैछ । निवेदन हालेका ९ जनासँग रास्वपाले छलफल गरिसकेको छ । छनोट विधिमा योग्यता तोकेरै रास्वपाले उम्मेदवार चयनका लागि प्रारम्भिक निर्वाचन गर्नेछ । प्रारम्भिक विधिमा टेकेर कोही उत्कृष्ट बने उसैलाई उम्मेदवार बनाउने, नभए अर्को उम्मेदवार खोजी गर्ने तयारीमा रास्वपा छ ।

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले १२ र १३ भदौमा रास्वपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनोट गर्ने जानकारी दिए ।
‘उपनिर्वाचन अघि हामी उम्मेदवार छनोटको प्रक्रियामा छौं । भदौ १२ र १३ गते प्राइमरी इलेक्सन हुन्छ । यसबाट उम्मेदवार छनोट गर्छौं,’ बुर्लाकोटीले भने, ‘उपसभापतिले समेत वान टु वान बसेर दरखास्त हालेका उम्मेदवारसँग कुराकानी गर्नुभएको छ । ७ गते ९ जना आकांक्षी साथीको भिजन प्रस्तुति बुझ्छौं ।’
रास्वपामा उम्मेदवारका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौडेल, लेखजंग थापा, जीतबहादुर गुप्ता, पुनमकुमारी अग्रवाल, कुसुम महर्जन, रचना क्षेत्री र मधुप्रसाद अर्यालले दरखास्त हालेका छन् ।
अघिल्लोपटक समानुपातिकमा राम्रो मत आएको भन्दै रास्वपा रुपन्देही चुनावलाई लिएर उत्साही छ । ‘अघिल्लोपटक समानुपातिक मत राम्रो आएको हो । हामी विधि, पद्धति र नागरिक सरोकारका मुद्दा उठाउने पार्टी हौं,’ उनले भने, ‘जनताले परिवर्तन खोजेकाले हामी यसपटक रुपन्देहीमा चुनाव जित्छौं भन्नेमा छौं ।’
परम्परागत क्षेत्रमा बोहराको प्रभाव भएको र अघिल्लोपटक जितेकाले राप्रपाले पनि बलियो उम्मेदवारको खोजी गरिरहेको छ ।
राप्रपाबाट दीपक बोहराका छोराहरू प्रज्ज्वल र गौरव बोहरा तथा नातिनी स्वाती थापा प्रतिस्पर्धामा छन् ।