उत्तर-पूर्वी एसियाका दुई पुराना देश जापान र दक्षिण कोरियाले दशकौंदेखिको चिसो सम्बन्ध तोड्दै नयाँ सहकार्यको अध्याय शुरूआत गरेका छन् । यसले पूर्वी एसियाको भूराजनीतिमा ठूलो तरंग ल्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
दक्षिण कोरियाका राष्ट्रपति ली जे-म्युङले आफ्नो पहिलो द्विपक्षीय विदेश यात्राका लागि अमेरिकाभन्दा पहिला जापानलाई रोजेर परम्परा तोडेका छन् ।
उनका पूर्ववर्तीहरूले सधैं जापानभन्दा अमेरिकालाई पहिलो प्राथमिकता दिँदै आएका थिए । तर, यसपटक लीले आफ्नो ‘पूर्व-उपनिवेशक’ जापानसँग सम्बन्ध सुधार्नुलाई पहिलो प्राथमिकतामा राखे ।
जापानका प्रधानमन्त्री शिगेरु इशिबासँगको शिखर वार्तापछि टोकियो र सियोलले १७ वर्षमा पहिलोपटक संयुक्त वक्तव्य जारी गरेका छन् ।
वक्तव्यमा कृत्रिम बौद्धिकता (एआई), व्यापार र कोरियाली प्रायद्वीपलाई आणविक हतियाररहित बनाउने विषयमा गहिरो सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ ।
साथै, दुवै देशले बुढ्यौली जनसंख्या र घट्दो जन्मदरजस्ता साझा चुनौतीहरूको सामना गर्न एक संयुक्त कार्यदल गठन गर्ने घोषणा पनि गरेका छन् ।
तर, यो शिखर सम्मेलनमा हस्ताक्षर गरिएका सम्झौताभन्दा पनि दुई नेताबीचको न्यानो सम्बन्ध र मुस्कानले सबैको ध्यान खिचेको सीएनएनले लेखेको छ ।
‘यो हाम्रो दोस्रो भेट हो र मलाई लाग्छ हामी घनिष्ठ मित्र हौं,’ दक्षिण कोरियाका राष्ट्रपति लीले जापानी समकक्षीबारे पत्रकार सम्मेलनका क्रममा भने ।
कुनै बेला कोरियाली प्रायद्वीप जापानको उपनिवेशमा थियो ।
त्यसपछि विकसित भएको दुवै देशको शत्रुतालाई मित्रतामा परिणत गर्न कोरियाली राष्ट्रपतिको जापान भ्रमण अत्यन्तै महत्त्वपूर्ण रहेको मानिएको छ ।
जापानले कोरियामाथि तीन दशकभन्दा बढी समयसम्म गरेको औपनिवेशिक शासनले दुई देशको सम्बन्धमा लामो समयदेखि तीतोपना आएको थियो ।
सन् २०२३ मा लीले आफ्ना पूर्ववर्ती राष्ट्रपतिले जापानसँग ऐतिहासिक शिखर सम्मेलनमा भाग लिएकोमा उनको आलोचना गर्दै उनलाई ‘टोकियोको कठपुतली’ भनेका थिए ।
तर, दुई महिनाअघि पदभार ग्रहण गरेदेखि लीले एक व्यावहारिक दृष्टिकोण अपनाएका छन् ।
जापानबाट कोरिया स्वतन्त्र भएको दिन अगस्ट १५ मा उनले जापानलाई आर्थिक वृद्धिका लागि ‘एक अपरिहार्य साझेदार’ भनेर सम्बोधन गरे ।
दुई देशबीच सम्बन्धमा आएको यो आकस्मिक सुधार कूटनीतिक औपचारिकता मात्र नभएर प्रशान्त महासागरको पश्चिममा विकसित भइरहेको भूराजनीतिको ऐना पनि रहेको विश्लेषकहरूले जनाएका छन् ।
पछिल्लो समय दुवै देश अहिले अमेरिकासँगको अस्थिर सम्बन्धबाट गुज्रिरहेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अप्रत्याशित विदेश नीतिले कुनै समय स्थिर मानिएका गठबन्धनहरूलाई शंकाको घेरामा पारेका छन् ।
ट्रम्पले व्यापारमा कर लगाएका छन्, रक्षा खर्च बढाउन माग गरेका छन् र दुवै राष्ट्रलाई अमेरिकी सेना राखेबापत थप पैसा तिर्न दबाब दिएका छन् ।
‘ट्रम्पको अनियमित र लेनदेनमा आधारित कूटनीति सबैका लागि नर्भस बनाउने किसिमको छ,’ टोकियोस्थित टेम्पल युनिभर्सिटीका एसियाली अध्ययनका प्राध्यापक जेफ्री किङ्स्टनको भनाइ उदृत गर्दै सीएनएनले लेखेको छ, ‘मलाई लाग्छ युक्रेनलाई धोका दिएपछि अमेरिकाका धेरै सहयोगीहरूले अमेरिकी सुरक्षा ग्यारेन्टीको वास्तविक अर्थ के हो भनेर सोच्न थालेका छन् ।’
रुसले युक्रेनमाथि गरेको आक्रमणलाई जापानमा एक चेतावनीको रूपमा हेरिएको छ ।
पूर्व प्रधानमन्त्री फुमियो किशिदाले चेतावनी दिँदै भनेका थिए, ‘आजको युक्रेन भोलिको पूर्वी एसिया हुन सक्छ ।’ टोकियो र सियोल दुवै उत्तर कोरियाको बढ्दो आणविक हतियार र युक्रेन आक्रमणमा रुससँग उसको गहिरो सम्बन्धलाई लिएर चिन्तित छन् ।
युक्रेनको युद्धभूमिमा उत्तर कोरियाली सैनिकहरूले प्रत्यक्ष युद्ध अनुभव हासिल गरिरहेका छन्, जसले उनीहरूको सैन्य क्षमतालाई थप खतरनाक बनाउँदैछ ।
जापान र दक्षिण कोरियाका लागि अर्को ठूलो चिन्ताको विषय ताइवानलाई लिएर हुन सक्ने सम्भावित द्वन्द्व हो । चीनले ताइवाननजिक आफ्नो सैन्य गतिविधि बढाएपछि जापान र कोरियाले आफ्नो घरदैलोमै लडाईंको अवस्था आउने देखेका छन् ।
यदि त्यसो भयो भने के अमेरिकाले हस्तक्षेप गर्ला ? वा, हालैको अलास्का शिखर सम्मेलनमा देखिए जस्तै ट्रम्प वा भविष्यका कुनै अमेरिकी राष्ट्रपतिले ताइवानलाई बाहिर राखेर चीनसँग सम्झौता गर्ने प्रयास गर्लान् ? भन्ने प्रश्नले जापान र कोरिया दुवै त्रस्त देखिन्छन् ।
यिनै अनिश्चितता र साझा खतराहरूका कारण पुरानो दुश्मनीलाई बिर्सँदै जापान र दक्षिण कोरिया आपसी सहकार्यको नयाँ बाटोमा हिँड्न बाध्य भएका हुन् । उनीहरूको यो नयाँ मित्रतालाई क्षेत्रीय शक्ति सन्तुलनमा आएको ठूलो परिवर्तनको संकेत पनि मानिएको छ ।