२५ जेठ २०८३, सोमबार

वीरगन्जमा समुदायस्तरमै फैलियो हैजा, ७९ जना संक्रमित फेला

भदौ ९, २०८२
विरगञ्ज
वीरगन्जमा समुदायस्तरमै फैलियो हैजा, ७९ जना संक्रमित फेला

वीरगन्ज महानगर क्षेत्रमा समुदाय स्तरमा नै हैजाको संक्रमण फैलिए पनि अहिलेसम्म हैजाको स्रोत भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । गत शुक्रबारदेखि वीरगन्जका विभिन्न वडामा हैजाका संक्रमित बिरामी भेटिँदै आइरहेका छन् ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगन्जमा ७९ जना हैजाका संक्रमित बिरामी फेला पारेको जानकारी दिए । 'आइतबार बेलुका ८ बजेसम्म हैजाका संक्रमित ७१ जना भेटिएका थिए,' उनले भने, 'सोमबार बिहानसम्म थप आठ जना हैजाका संक्रमित भेटिएका छन् ।'

अहिलेसम्म १०३ जना विभिन्न अस्पतालमा भर्ना भएर उपचार भइरहेका छन् । 'हैजाको मुख्य स्रोत अहिलेसम्म पत्ता लागेको छैन,' उनले भने, 'विश्व स्वास्थ्य सङ्गठनलगायतका प्रतिनिधिले आइतबारदेखि यहाँका पानीको परीक्षणलगायतका गरिरहनुभएको छ । सम्भवतः आजसम्म हैजाको स्रोतको पहिचान हुने आशा राखेका छौं ।'

नारायणी अस्पताल वीरगन्जका प्रवक्ता डा. उदयनारायण सिंहले आइतबारसम्म अस्पतालमा ३० जना बिरामी भर्ना भएका जानकारी दिए । 'नारायणी अस्पतालमा हैजाको उपचारको लागि शय्या र जनशक्ति दुवैको अभाव देखिएको छ,' उनले भने, 'अहिलेसम्म कुनै पनि निकायबाट आवश्यक पर्ने सहयोग आइपुगिसकेको छैन । अहिलेसम्म कागजी प्रक्रियामा सहयोग गर्ने भने तापनि वास्तविक रूपमा आवश्यक पर्ने जनशक्ति र अन्य उपचारका सामग्री आइपुगिसकेको छैन ।'

प्रवक्ता सिंहले हैजाको महामारीको साथसाथै अन्य विभिन्न किसिमका बिरामीको चाप पनि थेग्नै नसकिने प्रकृतिको रहेको गुनासो गरे । 'हामीले यो महामारीबाहेक अन्य खालका विभिन्न महामारीसँग पनि लडिरहेका छौं । सर्पदंशको बिगबिगी छ । ज्वरो, प्यारालाइसिसलगायत बिरामीको चाप भए पनि जनशक्ति पर्याप्त नहुँदा भने व्यवस्थापन गर्न मुस्किल भइरहेको छ,' उनले भने, 'भएका जनशक्तिले अत्यधिक काम गर्न परिरहेको छ । तर अस्पतालमा अहिले आन्तरिक र बाह्य दुवै खालको सहयोग छैन ।'

प्रवक्ता सिंहले वीरगन्जमा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि आएर पानीको परीक्षणलगायतका आवश्यक काम गरिरहेकाले पनि सम्भवतः आजै हैजाको स्रोतको प्रारम्भिक रिपोर्ट आउन सक्ने जानकारी दिए । नारायणी अस्पतालमा जाँच गर्दा २६ जना बिरामीमा कोलेरा संक्रमित देखिएका छन् । त्यस्तै तराई अस्पतालमा २५ जना, नेशनल मेडिकल कलेजमा नौ जना, भवानी अस्पतालमा तीन जना कलेरा संक्रमित बिरामी भेटिएका हुन् ।

त्यस्तैगरी वीरगन्ज हेल्थ केयर, अली अर्थो अस्पताल, मङ्गलम प्याथोलोजीमा दुई/दुई जनाको दरले आठ जना हैजा कोलेरा संक्रमित बिरामी भेटिएका छन् । थप आठ जना बिरामी सोमबार बिहानीको समयमा थपिएको सोको विवरण कुन अस्पतालमा परीक्षण गरिएको खुल्न सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्