३२ असार २०८३, बिहीबार

अन्तरिक्ष मिसनका लागि ८ हजारको आवेदन, आउँदो महिना नाम घोषणा गर्ने नासाको तयारी

भदौ ९, २०८२
काठमाडौं
अन्तरिक्ष मिसनका लागि ८ हजारको आवेदन, आउँदो महिना नाम घोषणा गर्ने नासाको तयारी

अमेरिकी स्पेस कम्पनी नासाले आउँदो महिना नयाँ मिसनका लागि नयाँ अन्तरिक्षयात्रीहरूको नाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

नासाले सन् २०२५ का लागि छनोट भएका नयाँ ‘एस्ट्रोनट क्यान्डिडेट’को घोषणा यही आउँदो सेप्टेम्बर २२ तारिखमा गर्ने भएको हो ।

यो घोषणा अमेरिकाको ह्युस्टनस्थित नासाको जोनसन स्पेस सेन्टरबाट दिइने नासाले जनाएको छ ।

नासाले जानकारी दिएअनुसार उक्त घोषणा अमेरिकी स्थानीय समयअनुसार दिउँसो साढे १२ बजे (नेपाली समय अनुसार राति करिब १०:१५ बजे) शुरू हुनेछ । नासाको वेबसाइटमार्फत यसको प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।

यो वर्षको नयाँ अन्तरिक्ष यात्रीका लागि करिब ८ हजार आवेदन प्राप्त भएका थिए । तीमध्येबाट छनोट गरिएका उम्मेदवारहरूले अब करिब दुई वर्ष लामो तालिम लिनेछन् ।

तालिम सकिएपछि मात्र उनीहरू आधिकारिक रूपमा अन्तरिक्ष यात्रीको प्रमाणपत्र पाउनेछन् र भविष्यका मिशनमा सहभागी हुने योग्य हुनेछन् ।

नासाले सेप्टेम्बर २३ र २४ तारिखमा अर्को ऐतिहासिक मिशन ‘आर्टेमिस–२’ सम्बन्धी विस्तृत जानकारीका लागि विभिन्न प्रेस ब्रिफिङ गर्ने तयारी गरेको छ ।

आर्टेमिस–२ मिशन अप्रिल २०२६ भन्दा अघि नहुने गरी चार जना अन्तरिक्ष यात्रीलाई चन्द्रमाको वरिपरि घुमाउने गरी तय गरिएको छ ।

यस मिशनमा नासाका कमाण्डर रिड वाइजम्यान, पाइलट भिक्टर ग्लोभर, मिशन स्पेसलिस्ट क्रिस्टिना कोच र क्यानाडियन स्पेस एजेन्सीका अन्तरिक्ष यात्री जेरिमी ह्यान्सन रहनेछन् ।

यसमा विशेषत: भिक्टर ग्लोभर चन्द्र अभियानमा जाने पहिलो अश्वेत अन्तरिक्ष यात्री हुनेछन् भने क्रिस्टिना कोच त्यही मिशनमा जाने पहिलो महिला बन्नेछिन् ।

क्यानाडाका जेरिमी ह्यान्सन चन्द्रमाको अभियानमा जाने पहिलो गैर–अमेरिकी अन्तरिक्ष यात्री बन्नेछन् ।

नासाले यो अवसरलाई नयाँ पुस्ताका अन्तरिक्ष यात्रीहरूलाई प्रस्तुत गर्ने मात्र नभई चन्द्रमाको सतहमा मानव फर्काउने तयारीको अर्को महत्त्वपूर्ण चरणका रूपमा लिएको छ ।

यसलाई अन्तरिक्ष यात्राको नयाँ युगको ढोका खोल्ने अभियानका रूपमा समेत हेरिएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्