२९ जेठ २०८३, शुक्रबार
अमेरिका पठाउने नाममा ठगी धन्दा

डीभी पर्दा पनि जान नपाएपछि डंकी रुटबाट अमेरिका, डिपोर्ट भएपछि युवा ठगेर अढाइ करोडको घडेरी !

भदौ १०, २०८२
काठमाडौं
डीभी पर्दा पनि जान नपाएपछि डंकी रुटबाट अमेरिका, डिपोर्ट भएपछि युवा ठगेर अढाइ करोडको घडेरी !

अमेरिका पठाउने नाममा रुकुम, सल्यान, जाजरकोट लगायत जिल्लाका सर्वसाधारणबाट करोडौं रुपैयाँ उठाएका रुकुम पश्चिमका कलबहादुर बस्नेतविरुद्ध काठमाडौं जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसारको मुद्दा दायर भएको छ  ।

रुकुम पश्चिमकै एक युवकलाई अमेरिका पठाउन बस्नेतले ५४ लाख रुपैयाँ लिएका थिए । तर, उनले एजेन्टमार्फत दुबई हुँदै अफ्रिकी मुलुक सिएरालिओन र तान्जेनिया पठाएर बन्धक बनाई अलपत्र छाडेका थिए । ती युवकले आफन्तको सहयोगमा नेपाल फर्किएर बस्नेत, उनकी श्रीमती र अर्का एक जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको उजुरी हालेका थिए  ।

बस्नेत आफैं पनि शुरूमा 'डंकी' रुटमार्फत अमेरिका पुगेका थिए । दाङमा बसेर सिभिल इन्जिनियरिङ पढिरहेका बस्नेतलाई अमेरिकाको इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (डीभी) परेको थियो । दोस्रो, पत्र नआएपछि उनी अमेरिका जान पाएनन् ।

त्यसपछि बस्नेत जसरी पनि अमेरिका जाने मनस्थितिमा पुगे । अमेरिकामा रहेका हस्तबहादुर गौतमसँग उनको सम्पर्क भयो । उनै गौतमले भनेका व्यक्तिलाई २७ लाख रुपैयाँ बुझाएर बस्नेत हवाइमार्गबाट दुबई, फ्रान्स, हाइटी हुँदै ब्राजिलसम्म पुगे ।

बस्नेतले बयान दिएअनुसार उनी त्यहाँबाट गाडी चढेर बोलिभिया, पेरु, इक्वेटर हुँदै कोलोम्बिया पुगे ।

त्यसपछि उनी कोलम्बिया र पानामाको बीचमा रहेको जंगलमा तीन दिन हिँडेर पानामा पुगी पानामाबाट कोस्टारिका, निकरागुवा, होन्डुरास, ग्वाटेमाला हुँदै मेक्सिकोसम्म गाडीमै पुगे । उनी नेपालबाट हिँडेको १८ महिनामा अमेरिकाको क्यालिफोर्निया पुगेका थिए । अमेरिकामा ११ महिनासम्म शरणार्थी क्याम्पमा बसेका बस्नेतलाई नेपाल डिपोर्ट गरिएको थियो ।

नेपाल फर्किएपछि बस्नेतले अमेरिका पठाउने धन्दा शुरू गरे । त्यही क्रममा रुकुम पश्चिमका युवक बस्नेतको सम्पर्कमा पुगेका थिए । बस्नेतले भिसा प्रक्रियाका लागि ५ लाख र अमेरिका जान ४० लाख रुपैयाँ लाग्ने बताए । युवक पैसा तिर्न राजी भए  ।

बस्नेतले जसरी पनि अमेरिका पठाइदिने आश्वासन दिएपछि ती युवकले उनले भनेअनुसार खुरुखुरु पैसा जम्मा गर्दै गए । रुकुम पश्चिमका ती युवकलाई डंकी रुटमार्फत नै दुबई, ब्राजिल र फ्रान्स हुँदै अमेरिका पठाउन थप १० लाख रुपैयाँ लाग्ने बताएपछि उनले उक्त रकम दिएका थिए  ।

बस्नेतले ती युवकलाई शुरूमा दुबई पठाए । भारतीय एजेन्ट रामलाई दुबई विमानस्थलमा रिसिभ गर्न लगाए । तर, त्यहाँ युवकलाई सोचेजस्तो व्यवहार भएन । उनलाई भाँडा माझ्नेदेखि लुगा धुनेसम्मका काममा लगाइयो ।

दुबईमा आफूले मानसिक एवं शारीरिक यातना पाएको कुरा युवकले बस्नेतलाई बताए । दुबईबाट अमेरिका जाने प्रक्रियामा ४/५ महिना लाग्ने र ब्राजिल हुँदै पठाउँदा अतिरिक्त ५ लाख रुपैयाँ लाग्ने भन्दै बस्नेतले फेरि पैसा मागे  ।

ती युवकले बस्नेतको लक्ष्मी बैंकको खातामा ५ लाख रुपैयाँ पठाइदिए । ब्राजिलबाट अमेरिका जान समय लाग्ने भएपछि युवकले तान्जेनिया हुँदै अमेरिका जाने बताए । बस्नेतले बताएअनुसार ती युवकले आफ्नी दिदीमार्फत १५ लाख रुपैयाँ बस्नेतकी श्रीमती विष्णुलाई बुझाए । सिएरालियोन पुगेपछि ती युवकलाई अमेरिका पठाउने प्रक्रिया गर्दागर्दै उनी नेपाल फर्किएको दाबी बस्नेतले गरेका छन् ।

ती युवकले जाहेरीमा उल्लेख गरेअनुसार ऋण सापटी गरेर पटक–पटक उनकी दिदीमार्फत बस्नेतका आफन्तलाई प्रभु बैंकको खातामा ९ लाख, बस्नेतकै ग्लोबल आइएमई बैंक र प्रभु बैंकको खातामा २३ लाख, दुबईमा रहँदा थप पैसा मागेपछि बस्नेतकै नाममा रहेको लक्ष्मी बैंकको खातामा पाँच लाख, तान्जेनिया पुगेपछि बस्नेतकै निर्देशनमा ग्लोबल आईएमई बैंकको खातामा १० लाख र अन्तिममा अब अमेरिका उड्ने पक्का भयो भन्दै १६ लाख रुपैयाँ दिएको उल्लेख गरेका छन् ।

बस्नेतले बयान दिएअनुसार उनले नेपालबाट अमेरिका पठाउने नाममा करिब २०० जनाबाट २३ लाखदेखि ५० लाख रुपैयाँसम्म उठाएका थिए । उनले दुईवटा 'डंकी' रुटमार्फत सर्वसाधरणलाई अमेरिकामा पठाउँदै आएको स्वीकार गरेका छन् । उनले पठाएकामध्ये १५ जना नेपाल डिपोर्ट भइसकेका छन् ।

पहिलो रुट नेपालबाट दुबई हुँदै ब्राजिल, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया र पानामाको जंगलमा तीन दिन हिँडेर पानामा, दोस्रो रुट कोस्टारिका, निकारागुवा, होन्डुरास, ग्वाटेमाला हुँदै मेक्सिको र अन्तत: अमेरिकाको क्यालिफोर्नियामा पुर्‍याउने गरेको बस्नेतले स्वीकार गरेका छन् ।

दोस्रो, मार्ग (ब्याकअप रुट) पनि त्यस्तै थियो । यसमा नेपालबाट दुबई, त्यसपछि अफ्रिकी मुलुक सिएरालिओन, तान्जेनिया, घाना हुँदै प्लेनमार्फत ब्राजिल पठाउने, ब्राजिलबाट बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया र पानामाको जंगल हुँदै अमेरिका पठाउने गरिएको बस्नेतले बयान दिएका छन् ।

बस्नेतले अमेरिका पठाउँदा आएको कमिसनबाटै कीर्तिपुरमा साढे दुई करोडमा आठ आना जग्गा खरिद गरेको बयानमा खुलाएका छन् । तर, हाल उक्त जग्गा रोक्का छ । बस्नेतले खुलाएअनुसार दुबईमा उनका साथी भारतीय नागरिक र ब्राजिलमा बंगलादेशका नागरिकहरूसँग समन्वय गरी विभिन्न व्यक्तिहरूलाई अमेरिका पठाउने गरिएको थियो ।

प्रहरीले बस्नेतकी श्रीमती विष्णुलाई पनि पक्राउ गरेर बयान सकिएपश्चात सरकारी वकिल कार्यालय काठमाडौंमार्फत अदालतमा मुद्दा दर्ता गरेको छ । विष्णुले सरकारी वकिलमा बयान दिएअनुसार दुबईमा बसेर उनका श्रीमान बस्नेतले नेपालका सर्वसाधारणलाई अमेरिका पठाउने काम गर्दै आएका थिए । बस्नेत तीन वर्षसम्म दुबईमै बसेका थिए ।

विष्णुले बताएअनुसार बस्नेत चार महिनासम्म दुबईको जेलमा बसेर छुटेका थिए । पीडित भनिएका रुकुम पश्चिमका युवकको दिदीमार्फत आफूले एक रुपैयाँ पनि नपाएको दाबी विष्णुले गरेकी छिन् ।

 

salt training

कमेन्ट गर्नुहोस्