०६ साउन २०८३, बुधबार

भेरी नगरपालिका जाजरकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

भदौ १२, २०८२
काठमाडौं
भेरी नगरपालिका जाजरकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा भेरी नगरपालिकाको ६, ९ र १० नम्बर वडाहरूको वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा अनियमितता गरेको भन्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

भवन निर्माणका लागि ठेक्का प्रक्रियामा अनियमितता गरेको भेटिएपछि मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए । 

प्रतिस्पर्धालाई सीमित बनाई गैरकानूनी लाभ लिने बद्‍नियतले सम्झौता गरी नेपाल सरकार र भेरी नगरपालिकाको ३६ लाख २० हजार ५७८ रूपैयाँ १० पैसा हानी नोक्सानी पुर्‍याएको आयोगले जनाएको छ । साथै दुरुपयोग गरी गैरकानूनी लाभ लिने बदनियतले भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ ।

अख्तियारले निमित्त प्रमुख प्रशासकीय अधिकृत घर्तीसहित, इन्जिनियर मोहन मल्ल, कानून अधिकृत प्रकाश कुमार शाही, सामाजिक विकास अधिकृत अनिसा साह, लेखापाल राजेन्द्र कठायत र जिन्सी शाखा प्रमुख समेत रहेका नायब सुब्बा कृतिबहादुर थापालाई प्रतिवादी कायम गरेको छ ।

साथै, ठेक्का पाएका बीके/नहकुली जेभी तथा उक्त जेभीका साझेदारहरू न्यु बीके बिल्डर्स एण्ड सप्लायर्सका प्रोपराइटर गंगा कुमारी खडका र नहकुली निर्माण सेवाका प्रोपराइटर चित्रबहादुर बोहरा समेतलाई प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।

उनीहरू सबैलाई जनही ३६ लाख २० हजार ५७८ रूपैयाँ १० पैसा बिगो कायम गरिएको आयोगका सहायक प्रवक्ता अधिकारीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्