
प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगन्जमा तीव्र रूपमा फैलिरहेको हैजा नियन्त्रणका लागि नेपाल प्रहरी र नेपाली सेना समेत परिचालन गरिने बताएका छन् । शुक्रबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले हैजा नियन्त्रण गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताए ।
चीन भ्रमणबारे जानकारी दिन संसद्मा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वीरगन्जमा हैजाका १८७ सक्रिय केस रहेको र गएको २४ घण्टामा मात्रै ८४ नयाँ संक्रमित थपिएको संसद्लाई जानकारी गराए ।
यस बीचमा तीन जनाको ज्यान गइसकेको भन्दै ओलीले यसलाई गम्भीर स्वास्थ्य चुनौतीका रूपमा लिएको बताए।
प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्रालयको अगुवाइमा रोग फैलन नदिने र उपचार प्रभावकारी बनाउने प्रयास भइरहेको उल्लेख गर्दै थप बलियो संयन्त्र खटाउन सुरक्षा निकायलाई समेत परिचालन गर्ने तयारी भइरहेको जानकारी दिए। 'सेना र प्रहरीको सहभागितासहित रोग फैलिन नदिने र छिट्टै नियन्त्रणमा ल्याउने काम अघि बढाइनेछ,' उनले भने ।
उनका अनुसार, रोगको स्रोत पत्ता लगाउन अनुसन्धान तीव्र रूपमा भइरहेको छ। ढल प्रणाली वा अन्य कुनै स्रोतबाट रोग फैलिएको हो भन्नेबारे अध्ययन भइरहेका छन् ।
यसैबीच, प्रभावित क्षेत्रमा आवश्यक औषधि नि:शुल्क वितरण गरिएको र उपचार सेवामा प्राथमिकता दिइएको प्रधानमन्त्रीले जानकारी गराए।
ओलीले संसद्लाई आश्वासन दिँदै भने, 'हामीले स्वास्थ्यकर्मी मात्र होइन, सुरक्षाकर्मी पनि परिचालन गरेर हैजा नियन्त्रण गर्छौं ।'