![फिलिपिन्स भूकम्प: दुई घण्टामा १३८ परकम्प, मृतकको संख्या १५ पुग्यो [अपडेट]](https://lktcdn2.prixacdn.net/media/Philippines_quake_CI0YgHMKmK.jpg)
दक्षिणी फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण हालसम्म १५ जनाको मृत्यु पुष्टि भएको छ ।
कुल मृतकमध्ये १२ जनाको मृत्यु सोकसारजेन क्षेत्रमा भएको बीबीसीले जनाएको छ । यो क्षेत्र चारवटा प्रान्तहरू र एक सहरमा फैलिएको छ । सो क्षेत्रमा कम्तीमा १२९ जना घाइते भएको रिपोर्ट प्राप्त भएको समाचारमा उल्लेख छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार सोमबार बिहान स्थानीय समयअनुसार ०७:३७ बजे जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा भूकम्प गएको थियो। फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले भूकम्पको केन्द्रविन्दु मिन्डानाओ टापुको सबैभन्दा दक्षिणी छेउमा रहेको सारङ्गानी प्रान्तको जनरल स्यान्टोस सहरको तटीय क्षेत्रमा रहेको जनाएको छ।
शक्तिशाली भूकम्पका कारण भवनहरू भत्किँदा र संरचनाहरूमा क्षति पुग्दा फिलिपिन्सका विभिन्न भागहरूमा सर्वसाधारणबीच भागदौड र त्रासको वातावरण सिर्जना भएको थियो।
भूकम्प कति शक्तिशाली थियो भन्ने कुरा त्यसपछि आएका परकम्पहरूको सङ्ख्याले पुष्टि गर्छ। फिवोल्क्सका अनुसार स्थानीय समयअनुसार बिहान ११ बजेसम्म १३८ वटा परकम्पहरू दर्ता भइसकेका छन्, जसको तीव्रता १.३ देखि ६.७ म्याग्निच्युडको बीचमा रहेको छ।
भूकम्पका कारण मिन्डानाओ टापुका धेरै पसल, कार्यालय र व्यावसायिक भवनहरूमा ठूलो क्षति पुगेको समाचारमा उल्लेख छ । थुप्रै भवनहरू नराम्ररी प्रभावित भएका छन् र सहरका केही भागहरूमा विद्युत आपूर्ति पूर्ण रूपमा बन्द भएको छ।
फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जूनियरले सम्बन्धित सबै सरकारी एजेन्सीहरूलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिएका छन्। उनले प्रभावित क्षेत्रका नागरिकहरूलाई सुरक्षित स्थानमा सार्न र राहत तथा उद्धार अभियानलाई तीव्रता दिन आदेश दिएका हुन् ।
भूकम्पपछि मिन्डानाओ टापुका छ वटा क्षेत्रहरूमा सुनामीको लहरहरू समेत रेकर्ड गरिएको छ, जसमा सबैभन्दा अग्लो लहरको उचाइ १.४ मिटर (करिब ४.६ फिट) सम्म पुगेको थियो।
भूकम्पको प्रभाव फिलिपिन्स बाहिर छिमेकी देश इन्डोनेसियामा समेत महसुस गरिएको थियो। इन्डोनेसियाको उत्तर सुलावेसी र उत्तर मलुकु क्षेत्रमा धक्का महसुस गरिएको र मनाडो सहरका बासिन्दाहरूले कम्पन निकै तीव्र रहेको बताएका छन्।
इन्डोनेसियाको मौसम तथा भूभौतिकी एजेन्सीले आफ्नो उत्तर-पूर्वी तटीय क्षेत्रका लागि सुनामीको चेतावनी जारी गरेको थियो । त्यसैगरी मलेसियाका केही तटीय इलाकाहरूमा पनि एक मिटरसम्म अग्लो लहर आउन सक्ने आशंका व्यक्त गरिएको थियो । यद्यपि, जारी गरिएका यी चेतावनीहरूलाई केही घण्टापछि फिर्ता लिइएको थियो।
अर्कोतर्फ, जापान मौसम एजेन्सीले इबाराकी प्रिफेक्चरदेखि ओकिनावा प्रिफेक्चरसम्मका दक्षिणी तटीय क्षेत्रहरूका लागि सुनामी एड्भाइजरी (परामर्श) जारी गरेको छ। अमेरिकी सुनामी चेतावनी प्रणालीले गुआमका लागि पनि चेतावनी जारी गरेको छ।
तर, अमेरिकी एजेन्सीहरूले अमेरिका र क्यानडाको प्रशान्त तटीय क्षेत्रका लागि भने सुनामीको कुनै खतरा नरहेको स्पष्ट पारेका छन् भने हवाइका लागि पनि कुनै जोखिमको पुष्टि नभएको जनाएका छन् ।