०८ असार २०८३, सोमबार

नेपाली बजारमा योनेक्सका नक्कली र्‍याकेट छ्यापछ्याप्ती, यसरी हुन्छ अवैध कारोबार

भदौ १६, २०८२
काठमाडौं
नेपाली बजारमा योनेक्सका नक्कली र्‍याकेट छ्यापछ्याप्ती, यसरी हुन्छ अवैध कारोबार

ब्याडमिन्टन, टेनिसलगायत खेल सामग्रीको चर्चित जापानी 'ब्रान्ड' योनेक्सका सामानजस्तै देखिने नक्कली सामग्री नेपाली बजारमा बिक्री वितरण भइरहेको पाइएको छ ।

चाबहिलको ‘सिन्धु स्पोर्ट्स’ले योनेक्सका उत्पादनजस्तै देखिने र्‍याकेटसहितका सामग्री बिक्री वितरण गर्दै आएको छ । सिन्धुमा ​योनेक्स लेखिएको र्‍याकेट १७ सय रुपैयाँमा बिक्रीका लागि राखिएको पाइयो ।​

null

तर, त्यहाँ राखिएको र्‍याकेटमा होलोग्राम छैन । ग्राहकका रूपमा पसलमा गएर बुझ्दा त्यहाँ रहेकी एक महिलाले योनेक्सको 'फर्स्ट कपी' भएको बताइन् ।

यस्तै, नयाँ बानेश्वरको ‘स्पोर्ट्स युनिर्भस’मा पनि योनेक्स जस्तै देखिने नक्कली सामग्री बिक्रीका लागि राखिएको पाइएको छ । 'स्पोर्ट्स युनिभर्स'मा त झन् उक्त र्‍याकेटको मूल्य १ हजार ५०० रुपैयाँ मात्रै तोकिएको थियो ।

ट्याग र लोगो नराखिएको र्‍याकेटमा योनेक्स भने लेखिएको छ । ग्राहकका रूपमा गएर बुझ्दा पसलमा भेटिएका युवकले 'हामीसँग भएको यही हो' भनेर योनेक्स लेखिएको र्‍याकेट देखाए ।

null

रत्नपार्कदेखि असन जाने बाटोमा ‘भोटाहिटी स्पोर्ट्स​’ छ । भोटाहिटी स्पोर्ट्समा पनि र्‍याकेटहरू १ हजार ७ सय रुपैयाँमा बिक्रीका लागि राखिएको छ ।

र्‍याकेटबारे जानकारी लिँदा पसल सञ्चालकले भने, ‘ग्राहकको बजेटअनुसार जुनसुकै ब्रान्डको र्‍याकेट उपलब्ध गराउँछौं । यहाँ आइसकेपछि कसैलाई खाली पठाउँदैनौं ।’

null

ग्राहककै रूपमा सामान खरिद गर्न भनेर गरिएको कुराकानीमा उनले ​जुनसुकै ब्रान्डका भए पनि फस्ट कपी तथा सेकेन्ड कपीका प्रोडक्टहरू उपलब्ध गराउने बताए ।

null

यता ललितपुरको जावलाखेलमा रहेको ‘एसआर स्पोर्ट्स सेन्टर’ पुग्दा योनेक्सको सबैभन्दा सस्तो र्‍याकेट ४ हजार रुपैयाँमा बिक्रीका लागि राखिएको पाइयो । त्यो पनि सिंगल र्‍याकेट । यहाँ पाइने र्‍याकेटहरूमा होलोग्राम पनि राखिएको थियो ।योनेक्सका आधिकारिक (सक्कली) प्रोडक्ट मात्रै बिक्री गर्ने गरेको स्पोर्ट्स हाउसले जनाएको छ ।

त्यसैगरी, लगनखेलको ‘रिम्पोछे स्पोर्ट्स एन्ड म्युजिक कन्सर्न’मा योनेक्सको सबैभन्दा सस्तो र्‍याकेट ५ हजार रुपैयाँ मूल्य निर्धारण गरेर बिक्रीका लागि राखिएको थियो । यसमा पनि एसआरमा जस्तै योनेक्सको होलोग्रामसहितका सक्कली सामग्री उपलब्ध थिए ।​

***

माथि प्रस्तुत गरिएका उदाहरणहरू हेर्दा सामान्य लागे पनि यो निकै गम्भीर छन्, किनभने कुनै पनि ब्रान्डका 'प्रोडक्ट'हरू अनधिकृतरूपमा बिक्री वितरण गर्न पाइँदैन ।​ 

नक्कली सामग्रीहरू बजारमा छ्यापछ्याप्ती देखिनु भनेको राजस्व छलीको ज्वलन्त उदाहरण हो । अहिलेसम्म आफ्ना कुनै पनि उत्पादनहरू कपी गर्ने अनुमति नदिएको योनेक्सका प्रतिनिधिहरू बताउँछन् ।

नेपाली बजारमा भेटिएका योनेक्स जस्तै देखिने सामग्रीहरू भन्सार तिरेर पनि नेपाल भित्र्याउन मिल्दैन । ती सामग्रीहरू अवैध बाटोमार्फत मात्रै नेपाली बजारमा भित्रिएको हुन सक्ने भन्सारका अधिकारीहरू बताउँछन् ।

एसियाका लागि योनेक्सको आधिकारिक बिक्रेता सनराइज प्रालि हो ।​​​ सनराइज नै एसियाली मुलुकका लागि योनेक्सको आधिकारिक डिस्ट्रिब्युटर हो ।

सनराइजबाटै नेपालमा पनि योनेक्सका प्रोडक्टहरू भित्रिने गरेका छन् । नेपालमा भारत र चीनबाट योनेक्सका प्रोडक्ट ल्याउन प्रतिबन्ध लगाइएको छ ।

सनराइज सिंगापुरबाट योनेक्सका ओरिजिनल प्रोडक्टहरू नेपालमा आधिकारिक डिस्ट्रिब्युटरमार्फत बिक्री हुने गर्दछ । 

नक्कली सामग्रीमा पनि योनेक्सको लोगो र ट्याग जस्ताको त्यस्तै प्रयोग गरेको पाइएको छ । तर, ध्यान दिएर हेर्दा फरक छुट्याउन सकिन्छ ।​

सक्कली सामान बायाँ र नक्कली दायाँ

कसरी छुट्याउने सक्कली र नक्कली सामग्री ?

योनेक्सले आफ्ना हरेक प्रोडक्टहरूमा एउटा ‘होलोग्राम’ लगाउँछ, जुन हरेक प्रोडक्टहरूको कहीँ न कहीँ लगाएकै हुन्छ । जसले यो प्रोडक्ट योनेक्सकै हो भन्ने पुष्टि गर्दछ । यस होलोग्रामलाई अहिलेसम्म कसैले पनि कपी गर्न सकेका छैनन् ।​​​

योनेक्सको होलोग्राम हो कि होइन भनेर छुटाउन कम्पनीले नै हरेक डिस्ट्रिब्युटर तथा डिलरहरूलाई एउटा authenticator card दिएको हुन्छ ।

उक्त कार्डबाट हेरेर ओरिजिनल र डुप्लिकेट मज्जाले छुट्याउन सकिन्छ ।

कार्डमा दुईवटा लेन्स राखिएको हुन्छ । एउटा भिजिबल र अर्को इनभिजिबल । योनेक्सका हरेक उत्पादनमा लगाइएको उक्त विशेष ट्यागलाई इनभिजिबलबाट हेर्दा केही पनि देखिँदैन भने भिजिबलबाट हेर्दा योनेक्स शब्द र लोगो देखिन्छ ।

तर, नक्कली अर्थात् डुप्लिकेटमा भने इनभिजिबल र भिजिबल दुवैमा देखिन्छ । होलोग्रामबाट छुटाउन सकिने भएकाले अहिले कतिपय डुप्लिकेटहरूमा उक्त ट्याग नै लगाइएको हुँदैन ।

सन् १९४६ मा स्थापित भएको योनेक्स ब्रान्डले सन् १९५७ मा ब्याडमिन्टन र्‍याकेटहरू बनाउन शुरू गरेको थियो । सन् १९६१ मा योनेक्सले आफ्नो पहिलो ब्रान्डेड र्‍याकेट लन्च गरेको थियो ।

सन् १९६३ सम्ममा विश्वव्यापी रूपमा योनेक्स विस्तार भएको थियो । योनेक्सले ब्याडमिन्टनका अलावा अहिले टेनिस, गल्फ, कार्बन ग्राफाइटजस्ता खेल सामग्रीहरू पनि उत्पादनहरू गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्