१७ असार २०८३, बुधबार

लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ

भदौ १७, २०८२
काठमाडौं
लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ

लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’, हास्य निबन्धसंग्रह ‘चिबे नकटो’ र उपन्यास ‘वनिता’ जस्ता कृतिहरू प्रकाशित गरिसकेका पोखरेल दोस्रो कथासंग्रह लिएर पाठकमाझ आएका हुन् । उनको नियात्रासंग्रह ‘फकलीको गाउँ’ अंग्रेजी संस्करणमा पनि आएको छ ।

२०८ पृष्ठको यस संग्रहमा जम्मा १५ कथा समावेश छन् । ‘कोरली, नियतिको खेल, पोल्टाको सिन्दूर, पहाडे मनई आइटा, सुनयना, लच्छुकी घरवाली, एक रातको बास, पराई सुख, सन्त्रास, माखे सांगलो, तिमीबाहेक, म को हुँ ?, आश्रम, आफलेको ठाँडो र यो पनि झुट हो !’ शीर्षकमा रहेका यी कथामध्ये ‘एक रातको बास’ कथाबाटै पुस्तकको शीर्षक राखिएको छ । पत्रकार कृष्ण भुसालले सम्पादन गरेको यस संग्रहमा ‘वृद्धको डायरी’लाई कथाक्रमभन्दा अलग्गै राखेर प्रस्तुत गरिएको छ ।

महाकाव्यकार खेमनाथ दाहालका शब्दमा, ‘यस संग्रहमा समावेश कथाहरू गहन, जीवन्त र मार्मिक छन् । हास्य व्यंग्य, स्मृति, जीवनशैली र प्रकृतिप्रतिको प्रेमलाई लेखकले कथा निर्माणका औजारका रूपमा प्रयोग गरेका छन् । विशेषतः ग्रामीण सामाजिक संरचना, मानवीय सम्बन्ध र संवेदनालाई लेखकले आफ्ना कथामा सूक्ष्म तरिकाले उतारेका छन् ।’

कथामा पात्रहरूको संघर्ष, जीवनशैली र मनोविज्ञानलाई सजीव ढंगले प्रस्तुत गरिएको छ । यसले नेपाली गाउँ–परिवेशलाई मात्र होइन, बदलिँदो समाजका विभिन्न रूपलाई चित्रित गरेको देखिन्छ । कथामा सरल तर प्रभावकारी भाषा, वर्णनशैली र शिल्पगत परिपक्वता पाइन्छ, जसले पाठकलाई सहजै आकर्षित गर्ने महाकाव्यकार दाहालको भनाइ छ ।

‘मैले हाम्रै परिवेशमा भएका विभिन्न कालखण्डका पदचाप, घटनाक्रम र अनुभूतिलाई कथामार्फत यहाँहरूसमक्ष प्रस्तुत गरेको छु । बाँकी मूल्यांकन सुधी पाठकवर्गकै जिम्मेवारी हो’, स्रष्टा पोख्रेल भन्छन् । लेखकले समाजमा देखिएका सुख–दुःख, संवेदना र विसंगतिलाई यस संग्रहमा उतारेका छन् छन् ।

नेपाली कथा साहित्यमा पछिल्ला दशकमा शहरी परिवेशलाई केन्द्रमा राखेर लेखिएका कृतिहरू बढी देखिएका बेला ‘एक रातको बास’ ग्रामीण पृष्ठभूमि, सामाजिक सम्बन्ध र सामूहिक जीवनका कथा लिएर आएको छ । 

यसले नेपाली जीवन यथार्थलाई प्रष्ट देखाउन मात्र नभई साहित्यिक स्वाद र भावनात्मक गहिराइ पनि प्रदान गरेको छ । यस संग्रहका कथा केवल मनोरञ्जनका स्रोतमात्र नभएर समाजको ऐना र जीवनका विविध आयामहरूको दर्पण रहेको कृतिका सम्पादक कृष्ण भुसाल बताउँन् । ‘पाठकलाई सोच्न, आत्मसमीक्षा गर्न र आफ्नै जीवनसँग जोडेर कथालाई आत्मसात गर्न प्रेरित गर्ने क्षमता यसमा छ’, उनको भनाइ छ ।

लेखनाथ पोखरेलको ‘एक रातको बास’ नेपाली कथा साहित्यमा सशक्त उपस्थिति हो । यसमा समावेश कथाहरूले मनोरञ्जनसँगै जीवनबोध र सामाजिक यथार्थको गहिरो अनुभूति प्रदान गर्ने उपन्यासकार तथा विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ बताउँछन् । सरल भाषा, प्रभावकारी शिल्प र संवेदनशील विषयवस्तुले यो कृति पठनीय रहेको उनको भनाइ छ ।

निरन्तर सिर्जनशील यात्रामा अग्रसर पोखरेलको यो कृति नेपाली कथा साहित्यमा थप योगदान स्वरूप आएको छ भन्नेमा साहित्यिक वृतमा सर्वसम्मति देखिन्छ । मोबाइल किताब प्रा.लि.ले डिजाइन तथा छपाइ गरेको यो पुस्तक कलात्मक आवरणसहित प्रकाशित गरिएको छ । यस कृतिको मूल्य ४५० रुपैयाँ राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्