
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिनअघि गरेको जापान भ्रमणमा दुवै मुलुकबीच उच्च प्रविधि क्षेत्रमा सहकार्यको नयाँ आयाम थपेको छ ।
विशेषगरी सेमीकन्डक्टर उत्पादन र प्रविधि आदानप्रदानमा भएको छलफललाई भारतको प्रविधि इकोसिस्टमलाई सुदृढ पार्ने अवसरको रूपमा हेरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
जापान एक्सटर्नल ट्रेड अर्गनाइजेसनका कार्यकारी उपाध्यक्ष काजुया नाकाजोका अनुसार मोदीले जापानको अग्रणी सेमीकन्डक्टर कम्पनी टोक्यो इलेक्ट्रोनको भ्रमण गरेका थिए । उक्त कम्पनी वेफर उत्पादनमा विश्वकै महत्वपूर्ण कम्पनी मानिन्छ ।
उनले भने, ‘जापान सेमीकन्डक्टर मेसिनरी र सामग्री उत्पादनमा अगाडि छ । हामीले भारतमा लगानी गर्ने प्रतिबद्धता जनाएका छौँ ।’
नाकाजोका अनुसार भारत अहिलेसम्म आयातमा बढी निर्भर छ । उनले भने, ‘भारतीय सेमीकन्डक्टर आयातको एकतिहाइ चीनले पूर्ति गरेको थियो । अब मोदीको नीतिले आपूर्ति शृङ्खलामा लचिलोपन ल्याउने र आत्मनिर्भरता बढाउने दिशा लिएको छ ।’
उनका अनुसार सन् २०१७ देखि २०२० सम्म भारतमा २२ वटा सेमीकन्डक्टर कम्पनीमा लगानी भएका थिए भने सन् २०२१ देखि २०२४ सम्म यो संख्या बढेर ५८ पुगेको छ ।
जापान विश्वको ५० प्रतिशत सेमीकन्डक्टर सामग्री र एक तिहाइ मेसिनरी आपूर्ति गर्ने मुलुक हो । नाकाजोका अनुसार जापानले अमेरिका, चीन, ताइवान र कोरियामा जस्तै भारतलाई पनि आवश्यक प्रविधि र आपूर्ति शृङ्खला विकासमा सहयोग गर्न सक्छ ।
यसपटक सेमीकन्डक्टर मात्र नभई कृत्रिम बुद्धिमत्ता, क्वान्टम, स्पेस र शैक्षिक सहकार्यका क्षेत्रमा पनि दुवै मुलुकबीच सहमति भएको छ । यो नयाँ प्रवृत्तिले दुवै मुलुकको आर्थिक विकासलाई टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
नाकाजोले भारतमा जापानले अझै ढिलो गरी प्रतिभा उपयोग सुरु गरेको स्वीकार गर्दै समाचार एजेन्सी एएनआईसँग भने, ‘युरोप दुई दशकदेखि र अमेरिका तीन–चार दशकदेखि भारतीय प्रतिभा आकर्षण गर्दै आएका छन् । अब जापानले पनि भारतीय विज्ञ र विद्यार्थीलाई आकर्षित गर्ने प्रयास अघि बढाएको छ ।’
उनका अनुसार धेरै जापानी कम्पनीहरूले भारतमै ग्लोबल क्रिएसन सेन्टर स्थापना गर्ने तयारी थालेका छन् ।
प्रधानमन्त्री मोदीले दुईदिने जापान भ्रमणलाई ‘फलदायी’ भन्दै सकारात्मक परिणामप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले जापानी समकक्षी प्रधानमन्त्री शिगेरु इशिबा र जापानी जनताप्रति आतिथ्य र समर्थनका लागि धन्यवाद दिएका छन् ।
प्रधानमन्त्री मोदीको भ्रमणलाई जापानले उच्च महत्त्व दिएको थियो । उक्त भ्रमण केवल सांस्कृतिक आतिथ्यतामा सीमित थिएन, बरू भारत–जापान सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने ठोस आर्थिक र रणनीतिक निर्णयमा केन्द्रित रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मोदीको स्वागतका क्रममा जापानी महिलाले गाएको गायकत्री मन्त्र, भरतनाट्यम नृत्य र राजस्थानी लोकगीत ‘वारी जावो रे’ को दृश्य सामाजिक सञ्जालमा भाइरल छ ।
उक्त भ्रमणमा आगामी दशकका लागि जापानले भारतमा १० ट्रिलियन येन (७२ अर्ब अमेरिकी डलर) भारतमा लगानी गर्ने प्रतिबद्धता जापानले दिएको छ ।
एशियाका दुई ठूला लोकतन्त्रबीचको सहकार्यलाई अझ गहिरो बनाउने, जसमा अर्थनीति मात्र नभई रणनीतिक र वातावरणीय आयामबारे पनि भ्रमणमा छलफल भएको रोयटर्सले जनाएको छ ।
विगतमा दुवै मुलुकबीच मुम्बई–अहमदाबाद बुलेट ट्रेनजस्ता पूर्वाधार आयोजना, इन्डो–प्यासिफिक क्षेत्रमा सुरक्षा सहकार्य र बहुपक्षीय संस्थाहरूमा सहकार्यजस्ता पहल अघि बढिसकेका छन् । यसपटकको लगानी घोषणाले उक्त आधारलाई अझ मजबुत बनाएको छ ।
रोयटर्सका अनुसार यो जापानले कुनै पनि मुलुकसँग गरेको सबैभन्दा ठूलो द्विपक्षीय लगानी प्रतिबद्धतामध्ये एक हो ।
भारतको आसाममा पावर फाइनान्स कर्पोरेसन र जापान बैंक फर इन्टरनेशनल को–अपरेशनको सहकार्यमा हरित वित्तीय प्रणालीमार्फत ३५ अर्ब रुपैयाँको इथानोल परियोजनामा लगानी स्वीकृत भइसकेको छ । यसले किसानलाई प्रत्यक्ष फाइदा दिलाउने, रोजगारी सिर्जना गर्ने र भारतको स्वच्छ ऊर्जा क्षमतामा थप योगदान गर्ने अपेक्षा गरिएको छ ।
यससँगै सौर्य, हाइड्रोजन र हावाबाट ऊर्जा उत्पादनसम्बन्धी संयुक्त पहलहरू पनि अघि बढ्ने तयारीमा छन् । यी परियोजनाहरूले भारत–जापान सहकार्यलाई केवल उद्देश्यमा सीमित नराखी, व्यवहारमा रुपान्तरण गर्ने बाटो खोल्ने रोयटर्सले जनाएको छ ।