२३ असार २०८३, मंगलबार
आलेख

नेपाली राजनीतिको अतृप्त पुस्ता !

भदौ १९, २०८२
काठमाडौं
नेपाली राजनीतिको अतृप्त पुस्ता !

राष्ट्रिय राजनीतिको शीर्ष स्थानमा रहेको यो पुस्ता सत्ता र शक्तिको अतृप्त चाहनामा छ । लोकतन्त्र सिंहासनको अतृप्ततालाई पूरा गर्ने साधन होइन । तृप्ति कुनै राजनीतिक वा दार्शनिक उद्देश्य होइन । सत्ताको अतृप्तता सम्पूर्ण रूपले बेलगाम व्यक्तिवादको उत्कर्ष हो । सत्ता अतृप्ति भोक मात्र होइन, यो प्राकृतिक सिद्धान्तको नियम पतझर र पालुवाको चक्रविपरीत अपवादको चिन्तन हो । यो प्रवेशपछि फिर्ता, पुरानोपछि नयाँ, हरेक दौडको सीमा, हरेक पार्टिकल्सको वजन र अवधि अनि संसारका सबै वस्तुको आदि र अन्त्य हुने भएकाले राजनीतिक विधि र पद्धतिमा पनि त्यो लागू हुन्छ भन्ने कुरा स्वीकार गर्न नसक्ने शाश्वत सत्यविरोधी मनोरोग हो ।

कमजोर जनावरअघिको भोको सिंह जति खतरनाक हो, भर्खर पालुवा पलाउन लागेको लोकतन्त्रका लागि शासकीय अतृप्ति त्यो भन्दा हजारौं गुणा खतरनाक छ । वास्तवमा अतृप्तता विकास निर्माणको हुनुपर्ने हो । समृद्धिको हुनुपर्ने हो । राजनीतिक अमरताको लागि, गतिला रेकर्ड ब्रेकहरूका लागि हुनुपर्ने हो । परिवर्तनको प्रवाहमा हेलिएर आएको यो पुस्ता राष्ट्रका चाहना सम्बोधनका लागि अतृप्त हुनुपर्ने हो । परिवर्तनको नेतृत्वका लागि जारी गरेका आफ्ना स्टेटमेन्ट, पार्टी केन्द्रमा प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन र चुनावी घोषणापत्रमा उल्लेख समाजका समस्याहरूको समाधान र सम्बोधनका लागि अतृप्त हुनुपर्ने हो । त्यसो हुन सकेन ।

आ–आफ्ना पार्टीमा प्राधिकार र विशेषाधिकार बोकेर बसेको यस पुस्ताले सत्ता सञ्चालनका लागि राणाकालीन भाइ भारदार र पञ्चायतको बफादार खोज्ने विशेषतालाई पछ्यायो । पार्टीभित्र होस् वा बाहिर, आलोचकहरू मास्न हमेशा हातमा अचानो र तरबार लिएर विध्वंसात्मक पोजिसनमा बस्ने यही पुस्ताले मञ्चमा उभिएर धारा प्रवाह बुद्धवाणी दिइरह्यो । चुनावी घोषणापत्र हेर्दा देंग, लि क्वान यु र महोम्मद महाथीर पनि आश्चर्यचकित हुने खालका । तर, विश्व बैंकको आर्थिक सूचकांकमा हामी विश्वका गरिब मुलुकको सातौं स्थानमा सगौरव उभिएका छौं ।

नागरिकलाई राम्रै सम्झना छ, यो मुलुकलाई स्विट्जरल्यान्ड र सिंगापुर बनाउने गर्मजोशी भाषणहरू । तथ्य र तथ्यांकले भन्छ, हामी सुडान र रुवान्डाको बाटोमा जाँदैछौं । अनि सिंगापुर र स्विट्जरल्यान्ड जाने बाटोचाहिँ कता हो त ? त्यो त उत्पादन वा सेवामध्ये एउटा हाइवेमा जाँदा भेटिन्छ । वित्तीय अनुशासनको तीव्र गति चाहिन्छ । नैतिक प्रतिबद्धताको जगमा उभिएको सुशासन, कानूनको नियमित निगरानी र खबरदारी, विकासको भोक, वैश्विक प्रतिस्पर्धाको महत्त्वाकांक्षा, राष्ट्रिय आकांक्षा, चेतनशील नागरिक, जिम्मेवार राजनीतिक दल, टाइमलाइन अनुसार बाइलाइन पर्फमेन्स दिन सक्ने भविष्यकेन्द्रित शासक यी सबै विशेषताहरूको मेल्ट हुँदा मात्रै हामी सिंगापुर र स्विट्जरल्यान्डको मार्ग पछ्याउन सक्छौं ।

समाजवादको अविराम प्रवचन दिने अनि व्यवहारमा सत्ताको चावी बिचौलियाको हातमा थमाइदिएर आफ्ना भौतिक चाहनाहरू पनि पूरा गर्नुपर्ने र तलदेखि माथिसम्म बहुमत प्राप्त गरिरहन राज्यको शक्ति, स्रोत र साधन दुरूपयोग रहिरहनुपर्ने बाध्यताले मुलुक समृद्ध बन्ने कुरा फगत दन्त्यकथा हो ।

हामीलाई थाह छ, राज्य सञ्चालनका लागि दल चाहिन्छ । दल हाँक्न नेता चाहिन्छ । नेता आवधिक निर्वाचनबाट आउनुपर्छ । आफ्ना प्रतिबद्धतासहित नेतृत्वमा पुग्नेले बाचा पूरा गर्न नसके नेतृत्व छाड्नुपर्छ । नछाडे नयाँ निर्वाचनमार्फत विकल्प खोज्नुपर्छ, यही पार्टी प्रणाली हो ।

गएका ७० वर्षदेखि समाजवादका दन्त्यकथा सुन्नेहरूको तीन पुस्तालाई पट्यार लागिसक्यो, तर कथा वाचकहरू आफ्नो युवा अवस्थादेखि कपाल फुलिसकेर अनुहारमा चाउरी पर्दा समेत थाकेका छैनन् । कहिल्यै कुनै कमा र पूर्णविराममा पनि संशोधन नहुने ती सदाबहार समाजवादका दन्त्यकथा घरमा जसका श्रीमती, छोरा–बुहारी र नाति नातिनीले सुन्न छाडिसके, तर हामीले विश्वास गरिदिनुपर्ने कस्तो विडम्बना ? हलो जोत्नेको नाति ए.आईको मज्जामा छ । त्यो हलो जोत्नेलाई मुक्त गर्छु भनेर स्वयं घोषणाद्वारा जिम्मेवारी लिएका प्रगतिशील पार्टीहरू जमिन जोत्नेको भन्ने स्लोगानमुनि मुठ्ठी कसेर उभिएका छन्, मानौं तिनले त्यो मुठ्ठी छाडे भने संसारका करोडौं किसानहरू जमिन्दारको दास बन्नुपर्ने छ । अझ रमाइलो कुरा त के भने बिहान ब्रेकफास्टमा मोजाम्बिकका एग्रोफर्मबाट महिनौं लगाएर आइपुगेको काजु, थोरै अमेरिकी फुजी स्याउ, त्यसपछि लन्चमा भारत वा पाकिस्तानको बासमती चामल, मध्य एसिया र अझ त्योभन्दा टाढाको अलिभ ओयल उपभोग गरेर आएकाहरू दिउँसो चुनाव चिह्न हलोको मुनि उभिएर नेपालका किसानको सहानुभूति बटुल्ने कोशिश गर्दैछन्, यही आजको वास्तविकता हो ।

३३ कोटी देवी देवता खुशी भए भने वर्तमानमा अदृश्य आशीर्वाद दिन्छन् र अर्को जुनीमा स्वर्गमा मोक्ष दिन्छन्, रिसाए भने वर्तमानमा श्राप दिन्छन् र अर्को जुनीमा नर्कमा राख्छन् भन्ने आश र त्रासका बीच हमेशा पूजाआजा गर्ने र मन्दिर धाउने आशावादी हामी भौतिक जीवनमै, यही जुनीमा, यही वर्ष, यही महिना तिमीलाई पद प्रतिष्ठा दिन्छु भन्दा आश नगर्ने  कुरा भएन । यसर्थ दलहरू गठनको आरम्भदेखि नै आश र त्रासमा हवस् हजुर ! भन्ने जमात रहिरह्यो । ईश्वर निराकार हुनुहुन्छ र अदृश्य हुनुहुन्छ भन्दै भक्ति मार्गमा लाग्ने हाम्रा लागि आकारसहितको, दृष्यसहितको, अधिकारसहितको शक्ति अगाडि उभिएपछि भक्ति मार्ग भौतिक मार्गको खोलमा आउने कुरा अनौठो होइन । युवा अवस्थामा भौतिक मार्गको कठोर व्याख्याता पुस्ता जब उमेरले वृद्ध हुँदै गयो, उसले त्यो भौतिक मार्गमा पनि भक्तिमार्गी विशेषतालाई आफ्नो प्रवक्ता बनायो, किनकि भक्ति मार्गमा प्रश्न हुँदैन । जवाफ खोजिँदैन । आलोचना हुँदैन । प्रतिवाद गरिँदैन । यसर्थ भौतिकवादमा विश्वास गर्ने वाम खेमा पनि यतिबेला भक्ति मार्गको भयानक दुष्चक्रमा छ । भक्ति मार्गले कुनै कुराको प्रमाणिक जाँच खोज्दैन । नतिजा हेर्दैन । केही फेरबदल गर्नुपर्छ भन्ने कुरालाई महत्त्व दिँदैन । एकोहोरो विश्वासको कुरा गर्छ, सत्ताका लागि त्यही प्रवृत्ति खुदो हो ।

गएका तीन दशकमा हामीले तीनवटा व्यवस्था परिवर्तन गरिसक्यौं, तर अवस्था परिवर्तनको नतिजामा उल्लेख्य उपलब्धि हासिल गर्न सकिएन । विज्ञान, प्रविधि, सामरिक शक्ति, सभ्यताको नवीनता र हमेशा उन्नयन (इनोभेसन)को बाटो सत्तासीनहरूको मुख्य लक्ष्य हुनुपर्ने हो । हुनुपर्छ । हामी त्यसमा चुक्यौं । वैश्विक प्रतिस्पर्धाका लागि एउटा कुनै पनि क्षेत्रमा हामी तयार छैनौं । कमजोर मुद्रा, कमजोर पासपोर्ट, कमजोर कूटनीति र अरूको अनुदान सहयोगको भरमा बाँच्नुपर्ने असहाय जस्तो बनिसक्यौं । फेरि पनि यस पुस्तालाई यसमा कुनै पश्चाताप, ग्लानि, अप्ठ्यारो र लज्जाबोध छैन । सत्तामा जान नदी बेच्ने वा सत्तामा टिकिरहन हिमालको सम्झौता गर्ने, सांसदहरू बिक्री पनि गरिदिने र खरिद पनि गरिदिने । यही संस्कारबाट हामीले राजनीतिलाई हुर्काउँदै, बढाउँदै ल्यायौं । मालिकहरू कहाँ लम्पसार र धनुष्टंकारको शैलीमा प्रस्तुत हुने र दासहरूमाथि कुर्लिने, बर्सिने र गर्जिने सामन्ती शैली हो । हामीले त्यसलाई जीवन व्यवहारबाट निरुत्साहित गर्न सकेनौं । नेता र कार्यकर्ताको सम्बन्ध दास र मालिकजस्तो त होइन, तर मन नपर्दा हकार्ने, जिम्मेवारीविहीन बनाउने र राजनीतिक डन्डा बर्साउने शैलीमा खासै फरक छैन । लोकतन्त्रको यस भर्जनलाई हामी कति समयसम्म कसरी थेग्छौं, थाहा छैन ।

हामीलाई थाह छ, राज्य सञ्चालनका लागि दल चाहिन्छ । दल हाँक्न नेता चाहिन्छ । नेता आवधिक निर्वाचनबाट आउनुपर्छ । आफ्ना प्रतिबद्धतासहित नेतृत्वमा पुग्नेले बाचा पूरा गर्न नसके नेतृत्व छाड्नुपर्छ । नछाडे नयाँ निर्वाचनमार्फत विकल्प खोज्नुपर्छ, यही पार्टी प्रणाली हो । यसर्थ सबै पार्टीमा आवधिक निर्वाचनको, नेतृत्व परिवर्तन भइरहनुपर्छ भन्ने प्रिन्सिपल र पर्फर्मेन्सका आधारमा जनताले रुचाएको व्यक्ति चयनका लागि एउटा साझा संकल्प गरौं । कुनै पनि व्यक्ति, संघ–संगठन र समाज कसैको पनि सत्ता अतृप्तताको साधन बन्नु हुँदैन । आत्ममुग्धताको प्रवक्ता बन्नु हुँदैन । व्यक्तिगत लाभ हानीको हिसाबमा अन्धसमर्थक वा भक्त बन्नु हुँदैन । आत्म मुग्धता गहिरो मनोगतवादी रोगको विशेषता हो । हामी आत्ममुग्धता र व्यक्तिवादको प्रशंसक बनेर राजनीतिलाई विकृत बनाउनु हुँदैन ।

आफ्ना मसिना स्वार्थी प्वालहरू टाल्ने र जीवन गुजारा गर्ने संस्कृति राजनीतिक होइन । राजनीति प्रश्न र उत्तरको निरन्तर चक्र हो । 'हरे–हरे राधा मैया, कृष्ण कन्हैया' भन्नेजस्ता भजन गाएर राजनीतिलाई सग्लो, जीवन्त, उत्तरदायी र जवाफदेही बनाउन सकिँदैन । प्रश्न गर्नु, जिज्ञासा राख्नु, अपुगताहरूबारे मुख खोल्नु र आवश्यकताहरूबारे चर्को स्वरमा बहस गर्नु जस्ता वैज्ञानिक सोचहरूकै कारण मानिस अरू जनावरभन्दा फरक छ र भौतिकवादीहरू अझ बढी । कम्युनिस्टहरू त झन् आत्मालोचना र आलोचनाको कोर्सबाट अघि बढ्ने, गल्तीको ढाकछोप र पुनरावृत्ति दुवै नगर्ने  संगठनमा विशाल र व्यापक जनवाद अनि त्यसको जगमा उभिएको केन्द्रीयतामा मात्रै विश्वास गर्छन्, तर आज हाम्रो परिपाटी त्यस्तो छैन ।

राजनीति गठन, विघटन र पुनर्गठनको सतरन्ज हो, किनकि यो सामाजिक जीवनको एक अघोषित तर, सदाबहार नियम हो । यसको प्रतिनिधित्व सामाजिक उथलपुथलकारी घटनाक्रमहरूका बीच एक निर्णायक क्रान्तिले गर्छ । क्रान्तिको स्विकारोक्ति नै नयाँ राजनीतिक प्रणालीको वैधानिकता हो ।

आजीवन शासनको सर्वोच्च स्थानलाई सत्ताको म्युजिकल चेयरभन्दा माथि नठान्ने, अनि आफ्ना दाउपेचलाई म्याजिक ठान्ने अतृप्त पुस्तालाई आफ्नो इतिहासको सम्मान, योगदानको कदर र प्राप्त उपलब्धिको संरक्षणका लागि सत्ताबाट सहजतापूर्वक बाहिर निस्कन अपिल गर्नैपर्छ ।

राजनीतिक उतारचढावका यिनै शृंखलाहरूमा आधुनिक प्रणालीले सत्ता संयन्त्र सञ्चालनका केही मोडालिटी तय गरेको छ, ती सबै मोडालिटीहरूको बास्केट हो लोकतन्त्र । जुन प्रणाली हाम्रो स्वीकारोक्ति हो ।

हामीले सामन्तवाद, वंशवाद, व्यक्तिवाद र स्वघोषित सर्वोच्चतावाद विरुद्ध निर्णायक विद्रोह गर्‍यौं । हामीले भन्यौं, श्रीपेच असीमित शासनको प्रतीक हो, यसमाथि धावा बोल्नुपर्छ । दरबार क्रूर शासन र स्वघोषित नायकको हेडक्वार्टर हो, यसको अधिकार खोसेर यसलाई खाली गर्नुपर्छ । शाही शासन परिवारको पर्खालभित्र सीमित छ, यसले जनतालाई अधिकार दिँदैन, यसर्थ यो शासनको अन्त्य गर्नुपर्छ । राजतन्त्रलाई चिहानमा गाड्नुपर्छ, किनकि यो जनताको अधिकार खोसेर आफूलाई प्राधिकारयुक्त बनाउँछ र यसका दरसन्तानदेखि आसेपासेहरू आफूलाई विशेषाधिकार प्राप्त ठान्छन् ।

हामीलाई किमार्थ राजा स्वीकार्य छैन, किनकि उनीहरू आजीवन सत्ताको भोग विलासमा रमाउँछन् र सक्षमहरूलाई सत्ता, शक्ति र स्वामित्व हस्तान्तरण गर्न तयार हुँदैनन् । हामीले जनवादमा मार्क्स रोजा, लेनिन, माओ, चेग्वेभारा  देंग र होचिमिन्हहरू देख्यौं । पूँजीवादी लोकतन्त्रको गोलार्द्धमा अब्राहम लिंकन, नेल्सन मन्डेला, मार्टिन लुथर किंग र महात्मा गान्धीहरू देख्यौं । नेपालमा मनमोहन, मोहनचन्द्र र मदन भण्डारीहरूको आदर्श  देख्यौं । बीपी, गणेशमान, किसुनजीहरूको त्याग र समर्पण देख्यौं । कृष्ण सेन इच्छुक, सुरेश वाग्लेलगायत हजारौं साहसी योद्धाहरूको बलिदानी देख्यौं । तर, हाम्रो राजनीतिले तिनलाई ग्रहण गर्न सकेन, किनकि सत्ताको बागडोरमा अतृप्तहरू आइपुगे ।

सत्ताको दीर्घायुका लागि आन्तरिक शक्ति सन्तुलन, हमेसा सत्ताको केन्द्रमा रहन पराइसँग सौदाबाजी, एक अर्काबीच अप्राकृतिक गठबन्धन र आन्तरिक शक्ति संघर्षको गणितीय खेल नै उनीहरूको दर्शन, विचारधारा, सिद्धान्त र नीति बन्न पुग्यो । जुन राजालाई आजीवन सत्ताको आकांक्षा राख्ने सामन्ती नायक भन्थ्यौं, आज उनीहरू भन्दा बढी सत्तालिप्साको आकांक्षामा डुब्ने नवसामन्ती नायक हामी आफैं बन्ने भएपछि हाम्रा आरोपहरूको, आदर्शहरूको सिद्धान्तहरूको के अर्थ ?  यसर्थ सत्ताभोगको तृप्ति पूरा गर्न लोकतान्त्रिक मूल्यहरू कुल्चिनु यस शासन व्यवस्थाकै गम्भीर प्रकृतिको अपराध हो । मूर्खहरू, अयोग्यहरू र लोभीहरू अतृप्त हुन्छन् । जैविक अमरताको प्रार्थना र राजनीतिक सिंहासनमा आजीवन स्थायित्वको दाउपेच मूर्ख शासकहरूको उद्देश्य बनेको हुन्छ ।

विश्व इतिहासको अनुभवले के भन्छ भने, जब अयोग्यहरूले सिंहासन कब्जा गर्छन्, सत्ता फगत उनीहरूको तृप्तिको साधन बन्छ । यस्तो अवस्थामा दार्शनिक, चिन्तक वा विद्वान पाउन सकिएन भने, ती प्रवृत्तिले संघर्षमा आफूलाई उभ्याउन सकेनन् र तथ्यलाई तर्कसंगत रूपमा प्रस्तुत गर्न आनाकानी गरे भने कम मूर्खलाई विकल्पका रूपमा अघि सार्नुपर्छ र त्यसो पनि हुन सकेन भने अद्यावधिक हुन तयार, विधि विधान मान्न मन्जुर र प्रणालीप्रति इमान्दार जस्तोसुकै मूर्खलाई उभ्याएर भए पनि आफूलाई प्रणाली, नीति, विधि र पद्धतिभन्दा माथि ठान्ने हठ, जिद्दी अतृप्त लालसालाई विस्थापन गर्नुपर्छ । यदि नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्ने हो भने लोकतान्त्रिक पद्धतिका लागि एउटा साझा संकल्प गर्नैपर्छ । सत्ताको शीर्षस्थानमा रहेर आलोपालो भागबण्डा पनि गरिरहने र एकअर्काबीच आरोप प्रत्यारोप पनि गरिरहने, देशको इमेज र प्रतिष्ठाका लागि होइन, विचौलिया, परिवार र बफादारहरूका लागि मात्रै काम गर्ने, आजीवन शासनको सर्वोच्च स्थानलाई सत्ताको म्युजिकल चेयरभन्दा माथि नठान्ने, अनि आफ्ना दाउपेचलाई म्याजिक ठान्ने अतृप्त पुस्तालाई आफ्नो इतिहासको सम्मान, योगदानको कदर र प्राप्त उपलब्धिको संरक्षणका लागि सत्ताबाट सहजतापूर्वक बाहिर निस्कन अपिल गर्नैपर्छ ।

salt training

कमेन्ट गर्नुहोस्