
विश्व क्रिकेटकै चर्चित प्रतियोगितामध्ये एक हो, एसिया कप । अन्तर्राष्ट्रिय क्रिकेटका दुई चिरप्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानको उपस्थितिले पनि एसिया कप सधैं विश्वभरीका क्रिकेट पारखीको रोजाइमा पर्दै आएको छ ।
त्यसमाथि टेस्ट खेल्ने राष्ट्रहरूको बाक्लो उपस्थिति पनि एसियामै रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट स्थायी रूपमा टेस्ट मान्यता पाएका चारवटा राष्ट्र त एसियामै छन् । भारत र पाकिस्तानका अतिरिक्त श्रीलंका र बंगलादेश पनि टेस्ट राष्ट्र हुन् ।
क्रिकेट समर्थकहरूको सबैभन्दा ठूलो जमात पनि एसियाली राष्ट्रहरूमै छन् । एकदिवसीय विश्वकपको उपाधिसमेत चुमिसकेका राष्ट्रहरू पनि एसियामा छन् । हालसम्म भारतले दुई तथा पाकिस्तान र श्रीलंकाले एक-एकपटक एकदिवसीय विश्वकप जितिसकेका छन् ।
यसैगरी, विश्व क्रिकेटमा आफ्नो बलियो उपस्थिति दर्ता गराउँदै आएका राष्ट्रहरूको संख्या पनि एसियामा निकै ठूलो छ । नेपालका अतिरिक्त अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएई), हङकङ, मलेसिया, कुवेत, कतारलगायत यो सूचीमा पर्छन् ।
विश्वकप, च्याम्पियन्स ट्रफीजस्ता ठूला प्रतियोगिताको तुलनामा एसिया कपको चर्चा बढी हुनुको अर्को प्रमुख कारण हो, दुई चिरप्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबीचको सम्बन्ध । भारत र पाकिस्तानबीचको तिक्ततापूर्ण राजनीतिक सम्बन्धको प्रत्यक्ष छायाँ क्रिकेटमा पनि पर्ने गरेको छ ।
भारत र पाकिस्तानबीचको राजनीतिक सम्बन्धको छायाँ क्रिकेटमा परेपछि आईसीसी र एसीसीजस्ता नेतृत्वदायी निकायहरू समेत निरीह बन्न पुगेका प्रसस्तै उदाहरण पाइन्छन् । निकै ठूलो संख्यामा दुवै राष्ट्रका क्रिकेट समर्थक पनि एकअर्काको खेदो खन्न तम्तयार भएर बसेका हुन्छन् । यसले तिक्ततापूर्ण सम्बन्धमा थप मलजल गर्ने गरेको पाइन्छ । आक्रोशित समर्थकले आफ्नै घरको टेलिभिजन फुटाउनु त सामान्य घटनो हो ।
यतिमात्र होइन, सन् २००२ मा त भारत र पाकिस्तानबीचको राजनीतिक सम्बन्धकै कारण एसिया कप रद्द नै हुन पुगेको थियो । त्यतिबेला पनि नेपाल एसिया कपका लागि छनोट भएको थियो । यी दुई चिरप्रतिद्वन्द्वी मुलुकका द्वन्द्वका कारण नेपालले त्यतिबेला एसिया कप खेल्ने अवसर पाएको थिएन ।
एसिया कप क्रिकेटको १७ औं संस्करण सेप्टेम्बर ९ (मंगलबार) देखि २८ तारिखसम्म यूएईमा आयोजना हुँदैछ । पहिले यो प्रतियोगितामा भारतमा आयोजना हुने तय भएको थियो । तर, भारत र पाकिस्तानबीच बढेको मतभेदका कारण प्रतियोगिता यूएईमा सारिएको हो ।

सुरक्षाको कारणले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले आफ्नो टोली भारत नपठाउने निर्णय लिएपछि आयोजक एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले अन्तिम समयमा यस्तो निर्णय लिएको हो ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पनि एसिया कपको अघिल्लो संस्करण पाकिस्तानमा खेल्न मानेको थिएन । त्यसैले पाकिस्तानमा आयोजना भएको एसिया कपको उक्त संस्करणमा भारतले आफ्नो खेल श्रीलंकामा खेलेको थियो । नेपाली टोली पनि उक्त संस्करणमा सहभागी थियो ।
यसपटक एसिया कपमा आठवटा टोली सहभागी छन् । प्रतियोगिता अवधिभर कूल १९ खेल खेलिने छ । भारत, पाकिस्तान, आयोजक यूएई र ओमान प्रतियोगिताको समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा भने अफगानिस्तान, बंगलादेश, श्रीलंका र हङकङ परेका छन् । यसपटक नेपाल भने छनोट हुन सकेन ।
समूहगत चरणमा भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल सेप्टेम्बर १४ तारिखमा खेलिने छ । केही समयअघि भारतको पहलगाममा आतंककारी आक्रमण भएपछि बीसीसीआईले पाकिस्तानसँग कुनै पनि प्रतियोगिता नखेल्ने घोषणा गरेको थियो ।
तर, अन्तिम समयमा आएर भारत सरकारले आफ्नो टोलीलाई एसिया कपमा पाकिस्तानसँग खेल्ने अनुमति दिएको हो । भारत सरकारले विश्वकप, च्याम्पियन्स ट्रफी, एसिया कपजस्ता प्रतियोगितामा आफ्नो टोलीलाई पाकिस्तानसँग खेल्ने अनुमति दिए पनि यी दुई टोलीबीच द्विपक्षीय शृंखला हुने छैन ।
यसपटक एसिया कपमा समूहगत चरणको खेल सेप्टेम्बर १९ तारिखसम्म चल्नेछ । त्यसपछि दुवै समूहबाट माथिल्लो स्थानमा रहने दुई–दुई टोली प्रतियोगिताको ‘सुपर–४’ चरणमा पुग्नेछन् । ‘सुपर–४’ चरणको खेल सेप्टेम्बर २० देखि २६ तारिखम्म चल्नेछ ।
त्यसपछि ‘सुपर–४’ चरणको माथिल्लो स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भने सेप्टेम्बर २८ तारिखमा दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलाइने छ । यसपटक एसिया कप टी–२० ढाँचामा खेलाइँदै छ ।
आईसीसी टी–२० विश्वकपको आगामी संस्करणलाई ध्यानमा राखी एसिया कप पनि सोही ढाँचामा खेलाउन लागिएको हो । विश्व क्रिकेटलाई तरंगित तुल्याउने एसिया कपको इतिहास र यो प्रतियोगितालाई रोमाञ्चक बनाउने पक्षहरूको बारेमा यहाँ चर्चा गरिएको छ ।
यस्तो छ, एसिया कपको इतिहास
पहिलो संस्करण
एसिया कपको पहिलो संस्करण सन् १९८४ को अप्रिल ६ देखि १३ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना भएको थियो । पहिलो संस्करणमा भारत, पाकिस्तान र श्रीलंका गरी तीनवटा टोलीको सहभागिता रहेको थियो ।
सहभागी टोलीलाई एउटै समूहमा राखेर खेलाइएको थियो । अंक तालिकाको पहिलो स्थानमा रहने टोलीलाई विजेता घोषित गरिएको थियो । पाकिस्तान र श्रीलंका दुवैलाई हराउँदै भारत पहिलो संस्करणको च्याम्पियन बनेको थियो ।
भारतीय टोलीको कप्तान सुनिल गावस्कर, पाकिस्तानी टोलीको कप्तान जहिर अब्बास र श्रीलंकाली टोलीका कप्तान दुलिप मेन्डिस थिए । पहिलो संस्करणमा भारतका सुरिन्दर खन्नाले सर्वाधिक (१०७) रन र रवी शास्त्रीले सर्वाधिक (४) विकेट लिएका थिए । सुरिन्दर खन्ना प्लेयर अफ दि म्याच पनि घोषित भएका थिए ।
दोस्रो संस्करण
प्रतियोगिताको दोस्रो संस्करण सन् १९८६ को मार्च ३० देखि अप्रिल ६ तारिखसम्म श्रीलंकामा आयोजना भएको थियो । दोस्रो संस्करणमा पनि तीन टोली नै सहभागी थिए । तर, दोस्रो संस्करणमा भारतको स्थानमा बंगलादेशले सहभागिता जनाएको थियो ।
यसपटक पनि सहभागी टोलीलाई एउटै समूहमा राखिएको थियो । सहभागी तीनवटै टोलीले एक/अर्कासँग एक–एक खेल खेलेका थिए । तर, यसपटक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली फाइनलमा पुगेका थिए ।
दुवै खेल जितेर चार अंक बटुलेको पाकिस्तान पहिलो र दुई अंकसहित श्रीलंका दोस्रो हुँदै फाइनलमा पुगेका थिए । फाइनलमा पाकिस्तानले श्रीलंकालाई पाँच विकेटले हराउँदै दोस्रो संस्करणको उपाधि चुमेको थियो ।
पाकिस्तानी टोली इमरान खान, श्रीलंकाली टोली दुलिप मेन्डिस र बंगलादेशी टोली गाजी असफरको कप्तानीमा मैदानमा ओर्लिएका थिए । प्रतियोगितामा श्रीलंकाका अर्जुना रणतुंगाले सर्वाधिक एक सय पाँच रन बनाएका थिए । उनी प्लेयर अफ दि सिरिज घोषित भएका थिए । पाकिस्तानका अब्दुल कादिरले सर्वाधिक नौ विकेट लिएका थिए ।

तेस्रो संस्करण
एसिया कपको तेस्रो संस्करण सन् १९८८ को अक्टोबर २७ देखि नोभेम्बर ४ तारिखसम्म बंगलादेशमा आयोजना भएको थियो । प्रतियोगितामा भारत, श्रीलंका, पाकिस्तान र बंगलादेश गरी चारवटा टोलीको सहभागिता रहेको थियो ।
सहभागी टोलीलाई एउटै समूहमा राखिएको थियो । सबै टोलीले आपसमा एक–एक खेलेका थिए । तीन खेलबाट १२ अंक बटुल्दै श्रीलंका पहिलो र आठ अंक जोड्दै भारत दोस्रो बनेर प्रतियोगिताको फाइनलमा पुगेका थिए ।
फाइनलमा भारतले श्रीलंकालाई ६ विकेटले हराउँदै उपाधि चुमेको थियो । भारतले एसिया कपमा जितेको यो दोस्रो उपाधि थियो । भारतका कप्तान दिलिप वेङ्सरकर, श्रीलंकाका कप्तान अर्जुना रणतुंगा, पाकिस्तानका कप्तान जावेद मियाँदाद र बंगलादेशका कप्तान गाजी असरफ थिए ।
तेस्रो संस्करणमा पाकिस्तानी टोलीका ब्याट्सम्यान इजाज अहमदले सर्वाधिक एक सय ९२ रन बनाएका थिए । भारतका अर्सद अयुबले सर्वाधिक नौ विकेट लिएका थिए । भारतका नवजोतसिंह सिद्धु प्लेयर अफ दि सिरिज घोषित भए । उनले एक सय ७९ रन बनाएका थिए ।
चौथो संस्करण
चौथो संस्करण सन् १९९० को डिसेम्बर २५ देखि सन् १९९१ को जनवरी ४ तारिखसम्म भारतमा आयोजना भएको थियो । प्रतियोगितामा भारत, श्रीलंका र बंगलादेश गरी तीनवटा टोलीले भाग लिएका थिए ।
तीनवटै टोलीलाई एउटै समूहमा राखिएको थिए र सहभागी टोलीले आपसमा एक–एक खेल खेलेका थिए । दुवै खेल जितेको श्रीलंका चार अंकसहित पहिलो भएर फाइनलमा पुगेको थियो । दुई अंकसहित भारत पनि फाइनलमा प्रवेश गरेको थियो ।
प्रतियोगिताको फाइनलमा भारतले श्रीलंकालाई सात विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो । भारतले जितेको यो तेस्रो उपाधि थियो । भारतका कप्तान मोहम्मद अजहरूद्दिन, श्रीलंकाका कप्तान अर्जुना रणतुंगा र बंगलादेशका कप्तान मिन्हाजुल अबेदिन थिए ।
प्रतियोगितामा श्रीलंकाका अर्जुना रणतुंगाले सर्वाधिक एक सय ६६ रन बनाएका थिए । भारतका कपिल देवले सर्वाधिक नौ विकेट कुम्ल्याएका थिए । एसिया कपको चौथो संस्करणमा कुनै पनि खेलाडीलाई प्लेयर अफ दि सिरिजको अवार्ड प्रदान गरिएको थिएन ।
पाँचौं संस्करण
एसिया कपको पाँचौं संस्करण सन् १९९५ को अप्रिल ५ देखि १४ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना भएको थियो । एसिया कप यूएईमा आयोजना भएको यो दोस्रो पटक थियो । पाँचौं संस्करणमा भारत, श्रीलंका, पाकिस्तान र बंगलादेश गरी चार राष्ट्र सहभागी थिए ।
चारवटै टोलीलाई एउटै समूहमा राखिएको थियो । सहभागी टोलीले आपसमा एक–एक खेल खेलेका थिए । चार अंकसहित भारत पहिलो र समान अंक बटुलेको श्रीलंका दोस्रो हुँदै प्रतियोगिताको फाइनलमा पुगेका थिए ।
प्रतियोगिताको फाइनलमा भारतले श्रीलंकालाई आठ विकेटले पराजित गरेको थियो । एसिया कपमा भारतले जितेको यो चौथो उपाधि थियो । भारतका सचिन तेन्दुल्करले सर्वाधिक दुई सय पाँच रन र भारतकै अनिल कुम्बलेले सर्वाधिक सात विकेट लिएका थिए ।
भारतका नवजोतसिंह सिद्धु प्लेयर अफ दि सिरिज घोषित भएका थिए । उनले एक सय ९७ रन बनाएका थिए । भारतका कप्तान मोहम्मद अजहरूद्दिन, श्रीलंकाका कप्तान अर्जुना रणतुंगा, पाकिस्तानका कप्तान मोइन खान र बंगलादेशका कप्तान अकरम खान थिए ।
छैटौं संस्करण
प्रतियोगिताको छैटौं संस्करण सन् १९९७ को जुलाई १४ देखि २६ तारिखसम्म श्रीलंकामा आयोजना भएको थियो । यसपटक पनि प्रतियोगितामा चार टोलीले मात्र सहभागिता जनाएका थिए । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले प्रतियोगितामा भाग लिएका थिए ।
सहभागी टोलीलाई एउटै समूहमा राखिएको थियो । आपसमा एक–एक खेल खेलेपछि ६ अंकसहित श्रीलंका पहिलो र तीन अंकसहित भारत दोस्रो हुँदै फाइनलमा पुगेका थिए । पाकिस्तानको समेत तीन अंक भए पनि नेट रन रेटमा भारतसँग पछि परेको थियो ।
प्रतियोगिताको उपाधि श्रीलंकाले जितेको थियो । फाइनलमा श्रीलंकाले भारतलाई आठ विकेटले पराजित गरेको थियो । श्रीलंकाले जितेको यो दोस्रो एसिया कप उपाधि थियो । छैटौं संस्करणमा श्रीलंकाका अर्जुना रणतुंगाले सर्वाधिक दुई सय ७२ रन बनाएका थिए ।
रणतुंगा प्लेयर अफ दि म्याच पनि घोषित भएका थिए । भारतका वेंकटेश प्रसादले सर्वाधिक सात विकेट लिएका थिए । भारतको कप्तान सचिन तेन्दुल्कर, पाकिस्तानको कप्तान रमिज राजा, श्रीलंकाको कप्तान अर्जुना रणतुंगा र बंगलादेशका कप्तान अकरम खान थिए ।
सातौं संस्करण
एसिया कपको सातौं संस्करण सन् २००० को मे २९ देखि जुन ७ तारिखसम्म बंगलादेशमा आयोजना भएको थियो । प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश गरी चारवटा टोलीले भाग लिएका थिए ।
चारवटै टोलीलाई एउटै समूहमा राखिएको थियो र सहभागी टोलीले एक–अर्कासँग एक–एक खेल खेलेका थिए । त्यसपछि तीनवटै खेल जित्दै पाकिस्तान पहिलो र दुई खेल जितेको श्रीलंका दोस्रो हुँदै प्रतियोगिताको फाइनलमा पुगेका थिए ।
भारत र बंगलादेश पहिलो चरणबाटै बाहिरिएका थिए । प्रतियोगिताको उपाधि भने पाकिस्तानले जितेको थियो । फाइनलमा पाकिस्तानले श्रीलंकालाई ३९ रनले हराएको थियो । एसिया कपमा पाकिस्तानले जितेको त्यो पहिलो उपाधि थियो ।
प्रतियोगितामा विधागत पुरस्कारमा पनि पाकिस्तानकै दबदबा रह्यो । पाकिस्तानका युसुफ योहानाले सर्वाधिक दुई सय ९५ रन बनाए । उनी प्लेयर अफ दि म्याच पनि घोषित भएका थिए । पाकिस्तानकै अब्दुल रज्जाकले सर्वाधिक आठ विकेट लिए ।
सातौं संस्करणमा पाकिस्तानका कप्तान मोइन खान, भारतका कप्तान सौरभ गांगुली, श्रीलंकाका कप्तान सनथ जयसूर्या र बंगलादेशका कप्तान अमिनुल इस्लाम रहेका थिए ।
आठौं संस्करण
प्रतियोगिताको आठौं संस्करण सन् २००४ को जुलाई १६ देखि अगस्त १ तारिखसम्म श्रीलंकामा आयोजना भएको थियो । यसपटक एसिया कपमा सहभागी हुने टोलीको सख्या बढाएर चारबाट ६ पुर्याइएको थियो ।
प्रतियोगितामा बंगलादेश, हङकङ, भारत, पाकिस्तान, श्रीलंका र संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी भएका थिए । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा पाकिस्तान, बंगलादेश र हङकङ थिए । उक्त समूहबाट पाकिस्तान पहिलो र बंगलादेश दोस्रो हुँदै ‘सुपर–४’ चरणमा पुगेका थिए ।
समूह ‘बी’ मा श्रीलंका, भारत र यूएई परेका थिए । उक्त समूहबाट श्रीलंका पहिलो र भारत दोस्रो हुँदै ‘सुपर–४’ चरणमा प्रवेश गरेका थिए । ‘सुपर–४’ चरणबाट श्रीलंका पहिलो र भारत दोस्रो हुँदै फाइनलमा पुगेका थिए ।
प्रतियोगिताको उपाधि भने श्रीलंकाले जित्यो । श्रीलंकाले फाइनलमा भारतलाई २५ रनले पराजित गरेको थियो । श्रीलंकाले जितेको यो तेस्रो उपाधि थियो । श्रीलंकाका सनथ जयसूर्या प्लेयर अफ दि सिरिज घोषित भए । पाकिस्तानका सोएब मलिकले सर्वाधिक तीन सय १६ रन बनाए । भारतका इरफान पठानले सर्वाधिक १४ विकेट लिए ।

नवौं संस्करण
एसिया कपको नवौं संस्करण सन् २००८ को जुन २४ देखि जुलाई ६ तारिखसम्म पाकिस्तानमा आयोजना भएको थियो । प्रतियोगितामा ६ टोलीले सहभागिता जनाएका थिए । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो ।
समूह ‘ए’ बाट श्रीलंका पहिलो र बंगलादेश दोस्रो हुँदै ‘सुपर–४’ चरणमा पुगेका थिए । यूएई भने पहिलो चरणबाटै बाहिरिएको थियो । समूह ‘बी’ बाट भारत पहिलो र पाकिस्तान दोस्रो हुँदै ‘सुपर–४’ चरणमा पुगेका थिए । हङकङ पहिलो चरणबाटै बाहिरिएको थियो ।
‘सुपर–४’ चरणबाट श्रीलंका पहिलो र भारत दोस्रो हुँदै फाइनलमा पुग्न सफल भए । उपाधि भने श्रीलंकाले जितेको थियो । फाइनलमा श्रीलंकाले भारतलाई एक सय रनको विशाल अन्तरले पराजित गरेको थियो ।
श्रीलंकाले जितेको यो चौथो उपाधि थियो । श्रीलंकाका अजन्था मेन्डिस प्लेयर अफ दि म्याच घोषित भए । श्रीलंकाका सनथ जयसूर्याले सर्वाधिक तीन सय ७८ रन बनाएका थिए । अजन्था मेन्डिसले भने सर्वाधिक १७ विकेट लिएका थिए ।
१०औं संस्करण
प्रतियोगिताको १०औं संस्करण सन् २०१० को जुन १५ देखि २४ तारिखसम्म श्रीलंकामा आयोजना भएको थियो । यसपटक बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी चारवटा टोलीले मात्र प्रतियोगितामा सहभागिता जनाएका थिए ।
चारवटै टोली एउटै समूहमा थिए र आपसमा एक–एक खेल खेलेका थिए । तीनवटै खेल जितेको श्रीलंका पहिलो र दुईवटा खेल जितेको भारत दोस्रो हुँदै फाइनलमा पुगेका थिए । उपाधि भने भारतले जितेको थियो । फाइनलमा भारतले श्रीलंकालाई ८१ रनले हराएको थियो ।
भारतले पाँचौं पटक एसिया कपको उपाधि चुमेको थियो । उक्त संस्करणमा पाकिस्तानका शाहिद अफरिदीले सर्वाधिक दुई सय ६५ रन बनाएका थिए । उनी प्लेयर अफ दि सिरिज पनि घोषित भए । श्रीलंकाका लासिथ मालिंगाले सर्वाधिक नौ विकेट लिएका थिए ।
१०औं संस्करणमा बंगलादेशको कप्तान सकिब अल हसन, भारतको कप्तान महेन्द्रसिंह धोनी, पाकिस्तानका कप्तान साहिद अफरिदी र श्रीलंकाका कप्तान कुमार सांगाकारा थिए ।
११औं संस्करण
एसिया कपको ११औं संस्करण सन् २०१२ को मार्च ११ देखि २२ तारिखसम्म बंगलादेशमा आयोजना भएको थियो । उक्त संस्करणमा पनि बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी चारवटा टोलीले मात्र सहभागिता जनाएका थिए ।
सहभागी टोलीलाई एउटै समूहमा राखिएको थियो । पाकिस्तान पहिलो र बंगलादेश दोस्रो हुँदै फाइनलमा पुगेका थिए । भारत र श्रीलंका भने पहिलो चरणबाटै बाहिरिएका थिए ।
समूहगत चरणमा बंगलादेश र भारतको समान आठ–आठ अंक भए पनि यी दुई टोलीबीचको भिडन्तमा भने बंगलादेश विजयी भएको थियो । त्यसैले बंगलादेशले फाइनलमा पुग्ने अवसर पाएको थियो ।
प्रतियोगिताको उपाधि भने पाकिस्तानले जितेको थियो । फाइनलमा पाकिस्तानले बंगलादेशलाई दुई रनले हराएको थियो । बंगलादेशका सकिब अल हसन प्लेयर अफ दि म्याच घोषित भएका थिए ।
भारतका विराट कोहलीले सर्वाधिक तीन सय ५७ रन बनाएका थिए । पाकिस्तानका उमर गुलले सर्वाधिक नौ विकेट लिएका थिए । पाकिस्तानले दोस्रो पटक एसिया कपको उपाधि जितेको थियो ।
१२औं संस्करण
प्रतियोगिताको १२औं संस्करण सन् २०१४ को फेब्रुअरी २५ देखि मार्च ८ तारिखसम्म बंगलादेशमा आयोजना भएको थियो । प्रतियोगिता लगातार दोस्रो पटक बंगलादेशमा आयोजना भएको थियो ।
अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच राष्ट्रले सहभागिता जनाएका थिए । पाँचवटै टोलीलाई एउटै समूहमा राखिएको थियो । पहिलो चरणमा सहभागी टोलीले एक–अर्कासँग एक–एक खेल खेलेका थिए ।
चारवटै खेल जितेको श्रीलंका नौ अंकसहित पहिलो र तीन खेलमा जीत हात पारेको पाकिस्तान सात अंकसहित दोस्रो हुँदै फाइनलमा पुगेका थिए । उपाधि भने श्रीलंकाले जितेको थियो । श्रीलंकाले फाइनलमा पाकिस्तानलाई पाँच विकेटले हराएको थियो ।
श्रीलंकाली टोली पाँचौंपटक एसिया कपको उपाधि उचाल्न सफल भएको थियो । श्रीलंकाका लाहिरु थिरिमाने प्लेयर अफ दि सिरिज घोषित भएका थिए । उनले सर्वाधिक दुई सय ७९ रन बनाएका थिए । श्रीलंकाकै लासिथ मालिंगा र पाकिस्तानका सइद अजमलले सर्वाधिक ११–११ विकेट लिएका थिए ।

१३औं संस्करण
एसिया कपको १३औं संस्करण सन् २०१६ को फेब्रुअरी २४ देखि मार्च ६ तारिखसम्म बंगलादेशमै आयोजना भएको थियो । बंगलादेश लगातार तीनपटक एसिया कप आयोजना गर्ने पहिलो राष्ट्र पनि बनेको थियो ।
प्रतियोगितामा बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका र यूएई गरी पाँचवटा टोली सहभागी थिए । सहभागी टोलीलाई एउटै समूहमा राखिएको थियो । चारवटै खेल जितेको भारत पहिलो र तीनवटा खेल जितेको बंगलादेश दोस्रो हुँदै फाइनलमा प्रवेश गरेका थिए ।
प्रतियोगिताको उपाधि भने भारतले जितेको थियो । फाइनलमा भारतले बंगलादेशलाई आठ विकेटले हराएको थियो । भारतले जितेको यो छैटौं एसिया कप उपाधि थियो । बंगलादेशका सब्बिर रहमान प्लेयर अफ दि सिरिज घोषित भए ।
उनले प्रतियोगितामा सर्वाधिक एक सय ७६ रन बनाएका थिए । बंगलादेशकै अल–आमिन होसैनले सर्वाधिक ११ विकेट हात पारेका थिए । यही प्रतियोगितामा बंगलादेशले पहिलो पटक टी–२० अन्तर्राष्ट्रियमा श्रीलंकालाई हराएको थियो ।
यसैगरी, यही प्रतियोगितामार्फत् पाकिस्तानका मोहम्मद नवाज र इफ्तिखार अहमद तथा भारतका पवन नेगीले टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यू’ गरेका थिए ।
१४औं संस्करण
प्रतियोगिताको १४औं संस्करण सन् २०१८ को सेप्टेम्बर १५ देखि २८ तारिखसम्म यूएईमा आयोजना भएको थियो । यसपटक प्रतियोगितामा अफगानिस्तान, बंगलादेश, हङकङ, भारत, पाकिस्तान र श्रीलंकाको सहभागिता रहेको थियो ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा भारत, पाकिस्तान र हङकङ रहेका थिए । उक्त समूहबाट भारत पहिलो र पाकिस्तान दोस्रो हुँदै ‘सुपर–४’ चरणमा पुगेका थिए ।
समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका थिए । उक्त समूहबाट अफगानिस्तान पहिलो र बंगलादेश दोस्रो हुँदै ‘सुपर–४’ चरणमा प्रवेश गरेका थिए । ‘सुपर–४’ चरणको खेलपछि भारत पहिलो र बंगलादेश दोस्रो हुँदै फाइनलमा पुगेका थिए ।
प्रतियोगिताको उपाधि भने भारतले जितेको थियो । भारतले फाइनलमा बंगलादेशलाई तीन विकेटले हराएको थियो । भारतले जितेको यो सातौं उपाधि थियो । भारतका शिखर धवन प्लेयर अफ दि सिरिज घोषित भएका थिए ।
प्रतियोगितामा धवनले सर्वाधिक तीन सय ४२ रन बनाएका थिए । प्रतियोगितामा अफगानिस्तानका रासिद खान, बंगलादेशका मुस्तफिजुर रहमान र भारतका कुलदीप यादवले सर्वाधिक १०–१० विकेट हात पारेका थिए ।
१५औं संस्करण
१४औं संस्करण सकिएको चार वर्षपछि सन् २०२२ मा प्रतियोगिताको १५औं संस्करण आयोजना भएको थियो । प्रतियोगिता अगस्त २७ देखि सेप्टेम्बर ११ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना भएको थियो ।
प्रतियोगितामा अफगानिस्तान, बंगलादेश, हङकङ, भारत, पाकिस्तान र श्रीलंका गरी ६ वटा टोलीले सहभागिता जनाएका थिए । भारत, पाकिस्तान र हङकङ समूह ‘ए’ मा थिए । उक्त समूहबाट भारत पहिलो र पाकिस्तान दोस्रो हुँदै ‘सुपर–४’ चरणमा पुगेका थिए ।
समूह ‘बी’मा अफगानिस्तान, श्रीलंका र बंगलादेश थिए । उक्त समूहबाट अफगानिस्तान पहिलो र श्रीलंका दोस्रो हुँदै ‘सुपर-४’ चरणमा प्रवेश गरेका थिए । ‘सुपर-४’ चरणको खेलपछि श्रीलंका पहिलो र पाकिस्तान दोस्रो हुँदै फाइनलमा प्रवेश गरेका थिए ।
प्रतियोगिताको उपाधि भने श्रीलंकाले जितेको थियो । फाइनलमा श्रीलंकाले पाकिस्तानलाई २३ रनले हराएको थियो । श्रीलंकाले जितेको यो छैटौं एसिया कप उपाधि थियो । श्रीलंकाका वानिन्दु हसरंगा प्लेयर अफ दि सिरिज घोषित भएका थिए ।
१५औं संस्करणमा पाकिस्तानका मोहम्मद रिजवानले सर्वाधिक दुई सय ८१ रन बनाएका थिए । भारतका भुवनेश्वर कुमारले सर्वाधिक ११ विकेट लिएका थिए ।

१६औं संस्करण
१५औं संस्करण सकिएको एक वर्षपछि नै एसिया कपको १६औं संस्करण आयोजना भएको थियो । १६औं संस्करण सन् २०२३ को अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलंकामा संयुक्त रूपमा आयोजना भएको थियो ।
प्रतियोगिताको मुख्य आयोजक पाकिस्तान थियो । तर, भारतीय टोलीले पाकिस्तानमा खेल्न नमानेपछि भारतको सबै खेल श्रीलंकामा खेलाइएको थियो । एसिया कपको यो संस्करणमा ६ वटा टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा पहिलो पटक नेपालले पनि भाग लिएको थियो । नेपाली टोली छनोट चरण पार गर्दै एसिया कपमा पुगेको थियो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान थिए ।
उक्त समूहबाट पाकिस्तान पहिलो र भारत दोस्रो हुँदै ‘सुपर–४’ चरणमा पुगेका थिए । नेपाली टोली दुवै खेलमा पराजित भएको थियो । नेपाललाई पाकिस्तानले दुई सय ३८ रनले र भारतले ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १० विकेटले हराएको थियो ।
समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका थिए । उक्त समूहबाट श्रीलंका पहिलो र बंगलादेश दोस्रो हुँदै ‘सुपर–४’ चरणमा पुगेका थिए । ‘सुपर–४’ चरणबाट भारत पहिलो र श्रीलंका दोस्रो हुँदै फाइनलमा प्रवेश गरेका थिए ।
उपाधि भने भारतले जितेको थियो । भारतले फाइनलमा श्रीलंकालाई १० विकेटले हराएको थियो । भारतले जितेको यो आठौं उपाधि थियो । भारतका कुलदीप यादव प्लेयर अफ दि सिरिज घोषित भए । भारतका शुभमन गिलले सर्वाधिक तीन सय दुई रन बनाए । श्रीलंकाका माथिसा पाथिरानाले सर्वाधिक ११ विकेट लिएका थिए ।