
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणालीसँग सम्बन्धित संस्थालाई न्यूनतम कर्मचारी परिचालनमार्फत् अत्यावश्यक सेवाहरू सञ्चालन गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले भदौ २५ गते रक्षा मन्त्रालय र नेपाली सेनाले जारी गरेको विज्ञप्तिको आधारमा सबै इजाजतपत्रप्राप्त वित्तीय संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई प्राथमिकतामा राखी ‘क्रिटिकल सिस्टम’ अर्थात् संवेदनशील प्रणाली सीमित कर्मचारीमार्फत् सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।
अन्य प्रणाली भने जोखिम मूल्याङ्कनको आधारमा ‘रिमोट एक्सेस’बाट सञ्चालन गर्न सकिने व्यवस्था मिलाउन राष्ट्र बैंकले आग्रह गरेको छ ।
यस्तै, शाखा, एटीएम र उपलब्ध सेवा सञ्चालनबारे ग्राहकलाई स्पष्ट जानकारी दिन प्रत्येक संस्थाले आफ्नो आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत् सूचना सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले जारी गरेको सूचनामा अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सेवामा अवरोध नआओस् भन्ने उद्देश्य रहेको उल्लेख छ ।
सुरक्षा संवेदनशीलता र सामाजिक परिस्थितिका कारण न्यूनतम मानव स्रोत प्रयोग गरी सेवा निरन्तरता दिने तयारी गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ ।
यसले वित्तीय प्रणालीमा अवरोध न्यून गर्ने र आम नागरिकलाई आधारभूत वित्तीय पहुँच सुनिश्चित गर्ने विश्वास लिइएको छ ।