
अन्तरिम सरकारका विषयमा राष्ट्रपति, प्रधान सेनापति र जेनजीबीचको त्रिपक्षीय वार्ता अझै शुरू हुन सकेको छैन ।
वार्ताका लागि राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका प्रधान सेनापति अशोकराज सिग्देल केही समयमै बाहिरिएका थिए ।
वार्ता शुरू हुन ढिलाइ हुने भएकाले प्रधान सेनापति बाहिरिएको सुरक्षा स्रोतको दाबी छ । आजै अपराह्न वार्ता हुने स्रोतले बताएको छ ।
जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ पनि राष्ट्रपति कार्यालय पुगेका छन् ।

जेनजीहरूले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बनाउन प्रस्ताव गरेका छन् ।
राष्ट्रपति कार्कीको नेतृत्वमा सरकार बनाउन तयार भए पनि त्यसको संवैधानिक पाटो टुंगिन सकेको छैन ।
कार्की र गुरुङले नयाँ सरकार गठनअघि संसद् विघटन हुनुपर्ने अडान राख्दै आएका छन् ।
राष्ट्रपतिलाई प्रधानमन्त्रीको सिफारिशमा मात्र संसद् विघटन गर्ने अधिकार रहेकाले संवैधानिक अड्चन आएको हो ।
शुक्रबार शीतलनिवास आसपासमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।