३२ असार २०८३, बिहीबार
निबन्ध

इमारत जले, मन जल्यो

भदौ २८, २०८२
काठमाडौं
इमारत जले, मन जल्यो

कल्पना पनि गर्न सकेको थिइँन, आँखाभरि दृश्यहरू टाँगिए । संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतहरू जल्दै गरेका आगोका लप्काहरू टेलिभिजनका पर्दाभरि देखिए । मैले काम गरेका कोठामाथि ठडिएको सूर्य-चन्द्र अङ्कित मेरो देशको राष्ट्रिय झण्डा मलाई नजलाऊ, नजलाऊको भावमा हल्लिदै एकै छिनपछि नदेखिने भयो । एकपछि अर्को इमारतलाई आगोले लपेट्दै छ । उपत्यका बाहिरका यस्तै दृश्यहरू हेर्दाहेर्दै मन भक्कानियो, आँखा धमिलिए । मौन टेलिभिजनका दृश्यमा टाँसिइरहें । त्यो टेलिभिजनको पर्दा पनि रोकियो । लाग्यो, त्यसलाई पनि आगोको लप्काले लप्कायो । रातभरि छटपटिएँ, निरुपाय ! जलेको इमारतहरू कहिले ठड्याउने ?

विद्यालयमा पढ्दै गरेका भाइबहिनीहरू स्वदेशमै आफ्नो भविष्य सुनिश्चित नभएको, बेथिति र बेरोजगारी बढेकोमा आक्रोशित छँदै थिए, यही समय सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबाट आक्रोशमाथि ऊर्जा थपियो । हो, युवाहरू आफैंमा सपना र उत्साहका बल्ज हुन् । सयको दशकका अन्त्यतिर जन्मिएर जेनजी भनेर चिनिने यो प्रविधि पुस्ता स्वाभिमानी, कर्मशील त छँदै छ, वैयक्तिक स्वतन्त्रता र निजत्वको आनन्दको पक्षपाती पनि । प्रविधिमा हुर्किएको, प्रविधिसँगै पढ्दै–खेल्दै आएका जेन–जीहरू यसै पनि अघिल्ला पुस्ताको स्वभावबाट वाक्क थिए र प्रविधिमै सञ्जालीकृत भै सामाजिक विमर्शमा थिए । यसले उसको स्वभाव र स्वाभिमान हुर्काएको थियो । मनमा लागेको कुरा फ्याट्ट प्रतिक्रिया जनाउने बानीले शासकहरू यस पुस्ता, भनौं आफ्नै सन्तानहरूबाट बेखुस थिए ।

जेनजीको आन्दोलन आफ्नै भविष्यको चिन्तामा थियो, विध्‍वंस होइन विनिर्माणको हुङ्कार थियो । विनिर्माण सोचले संरचना पोल्दैन । कुन्नि कुन तत्वले उदण्डता मच्चायो । उदण्डहरू ध्वंसमा उत्रिए र प्रविधि पुस्तालाई पनि परम्परागत पुस्ताका पीडकजस्तै बदनाम बनाई उनीहरूको आन्दोलन र भविष्यमाथि अर्को धावा बोलियो । जेन–जीको एजेन्डा र अभियान नै अपहरण भए र तिमीहरू पनि अरूजस्तै हौं भन्ने सिद्ध गर्न खोजियो ।

बहुँदा शासकहरू आलोचना सुन्न चाहँदैनन्, त्यसमा पनि असक्षमहरू आलोचनाबाट उदाङ्गिने मनोत्रासमा हुन्छन् । सामाजिक सञ्जाल बन्द गर्ने निर्णय आफूहरूको स्वतन्त्रता, स्वायत्तता र निजत्वको आनन्दमाथि आक्रमण ठानी यो पुस्ता आन्दोलनमा उम्लियो । न अभिभावकको आग्रह स्वीकार्‍यो, न भय वा संसय नै राख्यो । विरोधका शक्ति कलम र विमर्श थिए । विमर्शका क्युमुलेटिभ विस्तार, मौन विद्रोह, भद्र अवज्ञा र प्रतिरोध सडकभरि पोखियो । शब्दका शक्ति धारिला, शीघ्रप्रभावी र अविस्मरणीय हुन्छन्, तिनले मनलाई भत्काउँछन् तर, संरचना छुँदैनन् ।

प्रविधि पुस्ता (जेनजी)को आन्दोलन आफ्नै भविष्यको चिन्तामा थियो, विध्‍वंस होइन विनिर्माणको हुङ्कार थियो । विनिर्माण सोचदेखि स्वभावमा पुग्छ, संरचना पोल्दैन । कुन्नि कुन तत्वले उदण्डता मच्चायो । उदण्डहरू ध्वंसमा उत्रिए र प्रविधि पुस्तालाई पनि परम्परागत पुस्ताका पीडकजस्तै बदनाम बनाई उनीहरूको आन्दोलन र भविष्यमाथि अर्को धावा बोलियो– इमारत/संरचनाहरू जलाएर । जेन–जीको एजेन्डा र अभियान नै अपहरण भए र तिमीहरू पनि अरूजस्तै हौं भन्ने सिद्ध गर्न खोजियो ।

मूर्ख बन्न नसकेको म, मूर्ख बन्न नसकेका हामी मौनहरू मनभरि रुनुको विकल्प विहीनतामा विध्‍वंसका दृश्य हेरिरह्यौं । मेरै इतिहास जलेको, संस्कृति र पहिचान जलेको, यसका जगमा मेरा बाबु नानीको भविष्य जलेको थियो, आउने पुस्ताको भविष्य र भाग्य जलेको थियो । विचरा जेनजी तिमीहरूलाई के थाहा यसरी अरूको भविष्यमाथि धावा बोल्दै आफूहरू रजगज गर्नेको कुटिल चाल ?

null

हो तिमीहरूलाई पश्चातप होला, आफैंप्रति वैराग्य होला–नहुनु भइहाल्यो भन्ने । तर, तिमीहरूको सोझो मन, सफा मस्तिष्कले बुझ्न सकेन आफूहरूलाई कसले उपयोग गरेर फेरि विध्‍वंसको साम्राज्य बनाउँदै छन् भनेर, तिमीहरूलाई के थाहा शताब्दीदेखि प्रत्येक दशकमा यसैगरी तिम्रा पुर्वजको भविष्य लुटिएको थियो, मिचिएको थियो । तिमीहरूको इमोसनल ब्रेन कब्जा गर्न खोजियो ।

तिम्रो सपनामाथि व्यापार गरिएको त अहिले हो, तिम्रा अभिभावकहरूको आशा पटक–पटक लुटिएका थिए, निमोठिएका थिए । कहिले दरबारले, कहिले पञ्चले, कहिले टिकेहरूले त पछि चुनिएकाहरूले । जनताका वारेश (विश्वास) माथि स्वयम् जनता ढाँटिए । विश्वास दिनेहरू लिनेबाट ढाँटिनु, शोषिनु हुन्थ्यो र ? जेनजी बाबु–नानीहरू, हाम्रा हराएका दशकहरू तिमीहरूका चेहरामा देखिरहेका थियौं, तिमीहरूका सिर्जना–नवसिर्जनाबाट, प्रतिभा र परिश्रमबाट अनि जोस र जाँगरबाट पाउने आशा राखेका थियौं । बुढा पुस्ताप्रति विश्वास नभएर त्यसको क्षतिपूर्ति समेत पाउनेमा ढुक्क थियौं । थाहा छ अहिले हामी कति रोएका छौं ? आफ्ना आशा र सपनाहरू तिमीहरूका चेहरामा हेर्दाहेर्दै अश्रुत भएका आँखाहरूबाट दृश्यमा बादल लागेको छ, ती दृश्यहरूलाई कसरी उज्यालो बनाउने ?

मन रोएको त भत्केका इमारतहरू कसरी ठड्याउने भनेर हो । फेरि सन्देह पनि छ, ढालिएका इमारतसँग प्रवृत्ति नढल्दा स्वार्थको गठजोडले फेरि भविष्यमाथि कडा कब्जा गर्लान् कि ? त्यसो भए ती निमोठिएका मुनाहरूको आत्मा मेरोभन्दा पनि कति रुने होला ? जेनजी तिमीहरू यही जन्मभूमिमै रहेर आशाको उर्लिँदो सागर बन्नुपर्छ र गलत प्रवृत्तिको पहरेदारी गर्नुपर्छ है ।

मेरो मातृभूमिको माया लाग्ने मजस्ता एक्स–वाइ पुस्ताहरूका लागि भौतिक इमारत मात्र जलेन, त्यहाँ मानवता पनि जल्यो । बृद्ध आमा-बाबाहरूले के अपराध गरेका थिए र जिउँदै आगोमा जल्नु पर्‍यो ? यो मानवता जलेको होइन र ? यसै निमानवीकृत समाजमा बचेखुचेको मानवता खाना बनाउँदै गर्दा चुल्होमा जल्यो, काम गर्दै गर्दा मलमा जल्यो, भारी बोक्दै गर्दा सडकमा जल्यो, कुचो लगाउँदा लगाउँदै कौशीमा जल्यो । तिमीहरूकै भाइ बहिनीहरू अल्फा जेनका सपना पनि जले । अरूकोमा काम गर्ने, अरूको कोखबाट जन्मँदैमा उनीहरूले के अपराध गरे ? सन्तानले नियुक्ति पाउँदैमा, गल्ती गर्दैमा बृद्ध आमाबुबाको के अपराध ? जलेका लप्का विस्तारै भुतभुते, खरानी हुँदै खण्डहर बनेर फेरि ठडिएलान्, मन जलेको पीडा म कहिले भुल्न सक्छु र ? मनका जलन स्मृतिमा खातिएर बस्ने स्मरणले म रहेसम्म बिउँझाएर पीडा दिइने रहने भए ।​

जलाउनेलाई लाग्ला इमारत जलाउँदा बेथिति सकिन्छ । संसद् जल्दा विधिको बेथिति जलेको लाग्ला । सिंहदरबार जल्दा सम्भ्रान्त शासकहरूको आसन जलेको लाग्ला । सर्वोच्च जलाउँदा बेथिति रोक्न आदेश नदिने, बरु बेथिति बढाउन सहयोग गर्नेको आसन जलेको लाग्ला । कारागार जलाउँदा बेकसुर थुनिएकाहरू फुकाफाल होलान् भन्ने लाग्ला । पसल, कारखाना जलाउँदा शोषणको पुजी जलेको लाग्ला । तिमीहरूलाई थाहा छ ती संरचना तिम्रा बाबा-आमाले दिनभरि पसिना बगाएर तिरेको तिरोबाट बनेका हुन् । कारागारसँगै अपराधका अभिलेख जलेका छन्, अदालतसँगै न्याय याचनाका प्रमाण जलेका छन्, अपराधीका आरोप जलेका छन्, संसद्सँगै विधिका इतिहास र लोकतन्त्रका प्रमाण जलेका छन्, सिंहदरबारसँगै सर्वसाधारणका सेवा आधार जलेका छन्, हाम्रै स्रोत र शक्ति जलेका छन् । भौतिक इमारत बनाउन दशक लाग्ला, प्रमाण जल्दा अपराधी उम्कने भयो, फेरि पीडा तिमी हामीले नै पाउने हो । यसो भनेर तिमी जेनजीको स्वाभिमान र चोखा मन बिटोल्न खोजिएको होइन, मेरो मन रोएको सुनाउन र तिमीहरूलाई सावधान रहन मात्र भन्न खोजेको हुँ । तिमीले जलाउन खोजेको त प्रवृत्ति होइन र ? ती कहाँ जले र ? मौका पाउनेबित्तिकै फेरि लेकका खरीजुका झै फेरि तन्किने छन् । फेरि किन इमारत जलाएको ? आफैंले बनाउनु पर्ने इमारत र संरचनाहरू कसले जलायो ? तिम्रा कलिला र सफा मनलाई अरूले अपहरण गरेपछि धेरै कुरा जले ।​

 

null

होटल र विमानस्थल जलाउँदा हत्याका संरचना र अभिलेख मात्र जलेनन्, हाम्रा सम्बन्ध र भावनाहरू पनि सँगै सिद्धिए । गोलार्द्धका कुना-कुनामा फैलिने नेपाली पहिचानको प्रक्रिया पनि जल्यो । हजारौंको रोजगारी, हामी र विश्वसँगको सम्बन्ध फैलाउने सूत्र र आयको आधार पनि जल्यो । गतिशीलता पनि जल्यो, उत्साह पनि जल्यो । हाम्रै भविष्य सुरक्षित नभएर बाहिरिएका हाम्रो यही भविष्य निर्माण गर्ने आधार, पुजीपतिको पुजी, उद्यमीको उत्साह र सर्जकको प्रविधि पनि जल्यो । थाहा छ यो जलाउने प्रविधि पुस्ता होइन, यो पुस्ता सावधान र संवेदनशील छ, त्यस्तो पीडक सोच उसमा हुँदैन । जसरी र जसले भए पनि जले । तिमीहरूले जलाउन खोजेको प्रवृत्ति भने बाँकी रह्यो । तिमीहरूले तर्साउन खोजेका पात्रलाई हो, प्रवृत्तिलाई हो, पुजी, प्रविधि अनि परिश्रमलाई होइन । नजान्दा नजान्दै फेरि हामी सबैको दशकहरू हराएन ? हराएको दशक, हराएको समय कसरी फिर्ता ल्याउने ? यो सोच त पक्कै बनाएका हौला ? न बनाए पनि अब त्यो दायित्व तिम्रो थाप्लोमा छ । अरूको गल्ती पनि तिमीले सुधार्नु छ । विनिर्माण गर्नेले निर्माणको दायित्वबाट पछि हट्नु हुन्न । तर मेरो मन भक्कानो छोडेर रोएको छ । म जस्ताको रोएको मन फुल्याउने दायित्व पनि तिमीहरूकै हो । त्यो फुल्याइ फोस्रो होइन, नतिजामा देखिने सुन्दर निर्माणको हुनुपर्छ । तिमीहरूलाई थाहा छ यसका लागि प्रतिभा, प्रयास र परिश्रम सहितको कठोर अनुशासन चाहिन्छ । त्यो तिमीहरूमा छ भन्ने मेरो विश्वास पनि छ । मैले जागरण र क्रान्तिको इतिहास पढेको छु, तिमीहरूले पनि पक्कै पढेका हौला । मेरो विश्वासको इमारत ढल्न दिने छैनौं, छिट्टै ठड्याउने छौ ।

हो, रुँदै गरेको मेरो मनले ध्वंसको मनोविज्ञान पनि मज्जाले देख्यो । ध्वंस मच्चाउनेको मनोविज्ञान कति उदण्ड र उच्छृङ्खल हुँदो रहेछ ? अरूको प्रगति, अरूका सिर्जना जलाउन ध्वंशको मनोविज्ञान उर्लिँदो रहेछ । ध्वंश गर्दा पीडाको मनोरञ्जन लिइँदो रहेछ । फ्रायडको लिविडो शक्तिलाई पीडाको मनोरञ्जनले उछिन्न लागेको त होइन ? आफ्नो सफलतामा खुसीभन्दा अरूको सफलतामा दुखी हुने मनोवृत्ति, भनांै दमितग्रन्थीले इमारतहरू खरानी बनायो र भुलियो त्यो खरानी आफ्नै भविष्य र सन्ततिको खरानी हो भनेर ।

null

फेरि सम्झेर रोएँ, भक्कानिए र स्तब्ध भएँ, कस्तो अहङ्कारीले मेरो पुस्तामाथि राज गरेर मेरो भविष्यहरू निमोठ्दै गएछन् भनेर । आस्थाका इमारत बनाउन नसक्नेले दशकौंदेखि अहङ्कार ठड्याउँदै आए । न्यायका नाममा अन्याय गरे । अवसर र लाभहरू आफैं र आफ्नाहरूलाई हडपेर हामीजस्ता निरीहलाई कजाइरहे । दम्भको सगरमाथा चुलिए । अहङ्कारी वाणीहरू कति मन घोच्ने हुन्थे ! शासन गर्ने नेता शिक्षकजस्तो शालीन, सहनशील र सभ्य हुनुपर्ने होइन र ? उनीहरूका दुर्बाच्यले म रोएँ, तर तिमीहरू आन्दोलित हुन सक्यौं । म मौन मूर्ख बने, निरीह बने, नागरिक सेवा गर्दा मलाई ङ्याके, थिचे र डिप्रेशनमा पुर्‍याए । त्यतिले पुगेन मेरा सपना निमोठे र आस्थाको अपहरण पनि गरे । त्यतिले पनि नपुगेर अनुचरहरूसँग स्वार्थको सौदा गरे, संयन्त्र र विधिलाई बेथितिमा लगे । सर्वसाधारणको आशामा बिर्को लगाए । तिनीहरूलाई त तिमीहरूले न्यायको सबक दिने साहस देखायौं । मन रोएको त भत्केका इमारतहरू कसरी ठड्याउने भनेर हो । फेरि सन्देह पनि छ ढालिएका इमारतसँग प्रवृत्ति नढल्दा स्वार्थको गठजोडले फेरि भविष्यमाथि कडा कब्जा गर्लान् कि ? त्यसो भए ती निमोठिएका मुनाहरूको आत्मा मेरोभन्दा पनि कति रुने होला ? जेन–जीहरू तिमीहरू यही जन्मभूमिमा रहेर आशा उर्लिदो सागर बन्नुपर्छ, र गलत प्रवृत्तिको पहरेदारी गर्नुपर्छ । सङ्क्रमणको निरन्तरताबाट राष्ट्र उठाउने जिम्मेवारी दह्रिलोगरी काँध हाल्नु पर्छ ।

रुँदा-रुँदै फेरि सम्झेँ– सैयौं वर्ष लगाएर बनाएको रोम एकै दिन सखाप हुन समय लागेन । रोम जलिरहँदा दम्भका शीर्ष पहाड सम्राट नीरो बाँसुरीको धुनमा मस्त थिए, त्यति बेलासम्म मस्त रहे जतिबेला उनलाई सिंहासनबाट हटाइसकिएको थियो । त्यसपछि पनि भन्न चुकेनन्–एउटा महान कविको कवित्वलाई आक्रमण भयो । कति व्यभिचारी शासक पनि हुँदारहेछन् । क्लीयोपेट्रा त्यतिबेलासम्म मात्तिइन् जतिबेलासम्म उनको रूपमा सौन्दर्यको माद र मनमा दुस्साहसको पौल थियो । हिटलर, माओ, मार्कोस, मुसोलिनी, स्टालिन, अमिन, असद, पिनोचे, फुजिमोरी, फ्रान्सिस फ्रान्को, लुकासेको, पोलपोटहरू यस्तै व्यभिचारी शासकमा दरिँदै आए । प्राचीन रोमका टिटुस लाइरिससदेखि आधुनिक समयका निर्वाचित निरङ्कुशहरू उस्तै देखिए । समयमा सावधानी भएन भने समय आफैं क्रूर भएर उधुम मच्चाउन थाल्छ । प्रायश्चित गरेर वा रगतमा रगत थपेर आउने समयप्रति न्याय गर्न सकिएला !

रुँदा-रुँदै मेरो कवि मन एकतमास भयो र अनायास भूपि शेरचनको कविताका हरफहरूमा ‘हामी’ देख्न थालेँ–

‘हामी आफूखुसी कहिल्यै मिल्न नसक्ने

कसैले मिलाइदिनु पर्ने,

हामी आफूखुसी कहिल्यै छुट्टिन नसक्ने

कसैले छुट्याइ दिनुपर्ने,

हामी आफूखुसी कहिल्यै अगि बढ्न नसक्ने

कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने,

हामी रङ्ग–रोगन छुटेका,

टुटेका फुटेका

पुराना क्यारेम बोर्डका गोटी हौं

एक मनोरञ्जक खेलका सामग्री

एउटा खेलाडीमाथि आश्रित

आफ्नो गति हराएका

एउटा स्ट्राइकरद्वारा सञ्चालित

हो, हामी मानसिक कम र वर्ता गोटी हौं ।’

फेरि मनमा अर्को आँधीले झम्टिहाल्यो गोपालप्रसाद रिमालको कविता ‘एकदिन एकचोटि आउँछ’

‘एक जुगमा एकदिन एकचोटि आउँछ

उलट पलट, उथल पुथल हेरफेर ल्याउँछ ।

लाटा–सुधा बोल्न थाल्छन्, चल्न ओठ दु:खको

सहे भनी सम्झिएका ईख फेर्न उठ्तछन्

गए भनी नदेखिएका फर्की–फर्की आउँछन्

सुते भनी सम्झिएका सुरु सुरु हिँड्छन्

मरे भनी फ्याँकिएका जुरुजुरु उठ्तछन् ।’

–     क्षितिजमार्ग, शङ्खमूल ।

salt training

कमेन्ट गर्नुहोस्