
गत सोमबार र मंगलबार जेनजी पुस्ताको आन्दोलनका क्रममा राजधानी काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा भएको नरसंहार र भौतिक सम्पत्तिको विध्वंशपछि पनि निजी क्षेत्रका अगुवाहरू अर्थतन्त्र कमजोर नहुनेमा आत्मविश्वासी देखिएका छन् ।
आन्दोलनका क्रममा सरकारी भवनसँगै निजी क्षेत्रमाथि विध्वंशात्मक आक्रमण भएको थियो । उद्यमी/व्यवसायीका निजी घर मात्र नभएर उद्यम र व्यापारिक प्रतिष्ठानमाथि समेत आक्रमण गरिएको थियो ।
आन्दोलन मत्थर भएको ५ दिन बितेको छ । कहाँ के कति क्षति भयो भन्ने यकीन तथ्यांक आइसकेको छैन, तर निजी क्षेत्रका अगुवाहरू भने खरानीको धूलो टकटक्याएर उठ्ने प्रण गरिरहेका छन् ।
देशभर रहेका भाटभटेनीका २८ मध्ये २३ स्टोर प्रदर्शनकारीको निसानामा परेका थिए । तीमध्ये आगजनी गरिएको १२ वटा स्टोर पूर्ण रूपमा ध्वस्त भएका छन् ।
भाटभटेनीका संस्थापक मीनबहादुर गुरुङले व्यवसायमा धक्का लागेको भएपनि आशा नहराएको बताएका छन् ।
उनले भाटभटेनीको आधिकारिक फेसबूक पेजमार्फत भनेका छन्, ‘दुःखद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन । आगलागीले केवल भौतिक सम्पत्ति नष्ट भयो । तर, नेपाली समुदायको माया, सहयोग र समर्थनले हाम्रो आत्मबल बढाएको छ ।’
गुरुङले आफ्ना ग्राहकलाई लक्षित गर्दै भाटभटेनीले पुनर्निर्माणमा कत्ति पनि ढिलाइ नगर्ने बताए ।
‘तपाईंहरूको शब्द, तपाईंहरूको साथ, तपाईंहरूको माया नै हाम्रो ठूलो बल हो । भाटभटेनी परिवारले पुनर्निर्माणमा ढिलाइ गर्नेछैन । हामी फेरि उभिनेछौं । तपाईंहरूको साथमा, भविष्यलाई अझ उज्यालो बनाउनेछौं,’ उनले फेसबुकमार्फत लेखेका छन् ।
पछिल्लो समय गुरुङको पक्षमा सामाजिक सञ्जालमा माहोल पनि बनेको छ ।
सामाजिक सञ्जालहरूमा ‘यसपालिको दशैं शपिङ भाटभटेनीमा’ भन्ने ट्रेन्ड व्यापक भएको छ । सामान्य लगानीबाट व्यवसाय शुरू गरेका गुरुङप्रति जनताको सहानुभूति बढिरहेको छ ।
कसले के भने ?
गुरुङले मात्र होइन अन्य उद्योगी, व्यवसायी र विभिन्न व्यावसायिक संगठनहरूले देशको पुनर्निर्माण र समृद्धिको दिशामा अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् ।
विगतका पीडादायी घटनाहरूलाई पछाडि छाड्दै सुशासन, पारदर्शिता र रोजगारी सिर्जनामार्फत मुलुकलाई नयाँ उचाइमा पुर्याउने संकल्प निजी क्षेत्रका अगुवाहरूले गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले हिंसाका घटनाले आफ्नो परिवारलाई समेत प्रभावित पारे पनि निराश नभएको बताए ।
उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘केही व्यवसायीमाथि भएको वीभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो, तर म र मेरो परिवार निराश वा विचलित भएको छैन । देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस्, हामी अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिबद्ध छौं ।’
त्यस्तै, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आफ्नो कम्पनीमाथि भएको आक्रमण र क्षतिलाई सम्झँदै पुनर्निर्माणको दृढता व्यक्त गरेका छन् ।
उनले पनि सामाजिक सञ्जाल फेसबूकमा एक भावुक सन्देश लेख्दै भनेका छन्, ‘हामी फेरि उठ्ने छौं, हामी सिजीलाई पुनर्निर्माण गर्नेछौं, हामी अझ मजबुत भएर अघि बढ्ने छौं, यस विपत्तिबाट नयाँ शक्ति, नयाँ विचार, नयाँ प्रणाली र नेपाली नागरिकप्रतिको अझ गहिरो प्रतिबद्धता जन्मिने छ ।’
२४ गते भएको ध्वंशात्मक क्रियाकलापमा चौधरी ग्रुपलाई पनि लक्षित गरिएको थियो ।
यस्तै, नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष तथा सिजी होल्डिङ्सका सीईओ करण चौधरीले पनि पुनर्निर्माणमा लाग्ने वाचा गरेका छन् ।
उनले फेसबूकमा लेख्दै भनेका छन्, ‘म यो भूमिको माटोसँग शपथ लिन्छु, मेरो हृदयको हरेक धड्कन, मेरो रगतको हरेक थोपा, यस राष्ट्रको सेवामा समर्पित हुनेछ । म पुन: निर्माण गर्नेछु, बलियो बनाउनेछु र नेपाललाई अघि बढाउनेछु ।’
एफएनसीसीआई र सीएनआईको सकारात्मक सन्देश
नेपाल उद्योग वाणिज्य महासंघले देशको समुन्नतिका लागि सुशासन र अन्यौलको अन्त्यमा जोड दिँदै सहकार्य गर्न तयार रहेको जनाएको छ ।
‘पछिल्लो घटनाक्रममा कतिपय उद्यमी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनीका घटना भएका छन् । यसरी व्यक्तिगत एवं व्यवसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको महासंघ भर्त्सना गर्दछ,’ महासंघले निकालेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा महासंघले व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताका लागि सबैको ध्यानाकर्षण गराउन चाहेको उल्लेख छ ।
‘उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै अर्बौं रुपैयाँ बराबरको क्षति भएको छ । यसबारे महासंघले थप विवरण संकलन गरिरहेको भएता पनि क्षतिका कारण राजस्व र कुल गार्हस्थ्य उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आंकलन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
साथै, सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी, राजस्वको सदुपयोग लगायतका विषयमा युवा पुस्ताले चासो देखाएकाले विकसित घटनाक्रमको विवेकपूर्ण अवतरण भई युवा पुस्ताको चाहनाबमोजिम समुन्नतिको यात्रामा देश अगाडि बढ्ने अपेक्षा पनि महासंघले गरेको छ ।
त्यस्तै, नेपाल उद्योग परिसंघले सुशासन, भ्रष्टाचार निवारण र पारदर्शितालाई प्राथमिकता दिँदै मुलुक नयाँ चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरेको छ ।
नेपाल समुद्रपार निकासी पैठारी संघले भ्रष्टाचार र कुशासनमुक्त नवनेपाल निर्माणको दिशामा अघि बढ्नुको विकल्प नरहेको उल्लेख गरेको छ भने होटल संघ नेपालले आर्थिक स्थायित्व र पर्यटन विकासमार्फत परिवर्तनकारी युगमा अघि बढ्नुपर्नेमा जोड दिएको छ ।
सरकारले हामीसँग सहकार्य गरोस् भन्ने चाहन्छौं – निजी क्षेत्रका प्रतिनिधि
एफएनसीसीआईका उपाध्यक्ष सुरकृष्ण वैद्यले लोकान्तरसँग संक्षिप्त कुराकानी गर्दै निजी क्षेत्रको आत्मविश्वास कमजोर नभएको दाबी गरे ।
उनले भने, ‘अझै पनि यो बाँकी रह्यो, यसलाई सिद्ध्याउनुपर्छ भनेर हिँडिरहेका छन् भन्ने हामीले सुनेका छौं । हामीले अन्तरिम सरकारले सुरक्षामा कुनै कमजोरी नदेखाओस् भन्ने चाहन्छौं । व्यावसायिक वातावरण आन्दोलनअघि पनि खासै राम्रो थिएन, अब त्यो भन्दा राम्रो हुने अपेक्षा हाम्रो छ ।’
उनले सरकारले अर्थतन्त्र उकास्नका लागि गर्ने निर्णयहरूमा निजी क्षेत्रसँग सहकार्य हुनुपर्ने बताए ।
‘सरकारले बनाउने समिति/संयन्त्रमा हाम्रो सहभागिता सुनिश्चित हुनुपर्छ । देशको कूल गाहर्स्थ उत्पादनमा निजी क्षेत्रले ८० प्रतिशत जति योगदान गरेको छ । देश निर्माणमा निजी क्षेत्रको भूमिका अझै सशक्त रूपमा देखिनेछ भन्ने मेरो प्रतिबद्धता छ,’ उनले भने ।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र पाण्डेले अर्थतन्त्रमा गुमेको विश्वास फिर्ता गर्न केही समय लाग्ने भएपनि निजी क्षेत्र कमजोर नभएको बताए ।
पाण्डेले लोकान्तरसँग भने, ‘धेरै क्षति भएको छ । अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन केही समय त लाग्छ नै । तर, यसमा निजी क्षेत्रले सक्रियताका साथ भूमिका खेल्नेछ । हामी केही समयका लागि पीडामा छौं, तर यो पीडालाई शक्तिका रूपमा लिएर अघि बढ्नेछौं ।’