
चीनको सबैभन्दा ठूलो विद्युतीय सवारी साधन निर्माता कम्पनी बीवाईडीले चीनमा विश्वकै पहिलो ‘अल-टेरेन’ रेसिङ ट्रयाक सञ्चालनमा ल्याएको छ ।
गत अगस्टमा मात्रै कम्पनीले चीनको झेङ्झोउमा उद्घाटन गरिएको यो अत्याधुनिक ट्रयाकले रेसिङको दुनियाँलाई केही सीमित मानिसबाट बाहिर निकालेर आममानिससम्म पुर्याउने महत्त्वाकांक्षी लक्ष्य राखेको छ । बीवाईडीले ७ सय मिलियन अमेरिकन डलरको लगानीमा चीनमै पहिलोपटक रेसिङ ट्रयाक सञ्चालनमा ल्याएको हो ।
१ लाख ५० हजार वर्ग मिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको यो ट्रयाक साधारण रेसिङ सर्किटभन्दा बिल्कुलै फरक छ । यसले चीनका विभिन्न भौगोलिक भू-भागलाई एउटै स्थानमा समेटेको छ । जसले चालकहरूलाई पानीमा तैरिने, मरुभूमिको बालुवामा चढ्ने र हिउँ तथा बरफमा गाडी चलाउने जस्ता साहसिक अनुभव प्रदान गर्नेछ ।
यस अनुभवका लागि टाढा यात्रा गर्नुपर्ने झन्झटबाट मुक्त गराएको छ । यो चीनको पहिलो यस्तो सर्किट हो, जहाँ सुरक्षा, प्रदर्शन र अफ–रोड क्षमता परीक्षणका लागि यति धेरै प्रकारका ड्राइभिङ मोडहरु उपलब्ध गराइएको छ ।
लाखौंलाई ट्रयाकको अनुभव प्रदान गर्ने प्रमुख लक्ष्यसहित बीवाईडीले विभिन्न मूल्यका प्याकेज उपलब्ध गराएको छ । जहाँ महँगा सुपरकारहरूको अनुभव आममानिसका लागि पनि सम्भव बनाएको छ ।

सबैभन्दा आकर्षक कुरा यहाँको प्रवेश–स्तरको प्याकेज मात्र ५९९ युआन (करिब १० हजार नेपाली रूपैयाँ)बाट शुरू हुन्छ । यो प्याकेज लिनेले बीवाईडीको लक्जरी ब्रान्ड याङवाङको यु ९ सुपरकारमा यात्रुको रूपमा रेसिङ ट्रयाको अनुभव लिन पाउने कम्पनीले जनाएको छ ।
बजारमा यो सुपरकारको मूल्य १.६८ मिलियन युआन (करिब २ लाख ३३ हजार अमेरिकी डलर) पर्छ । अर्थात्, नेपाली मुद्रामा करिब ३ करोड १० लाख रूपैयाँ पर्ने गाडीको रोमाञ्चक अनुभव करिब १० हजार रूपैयाँमै लिन सकिनेछ ।
कस्तो छ यो अत्याधुनिक ट्रयाक ?
यसको मुख्य ट्रयाक १ हजार ७५८ मिटर लामो छ । जसमा ९ वटा मोड र ५५० मिटरको सीधा बाटो छ । यो सीधा बाटोमा गाडीले २२० किलोमिटर प्रतिघण्टाको उच्च गति छुन सक्छ ।
यसबाहेक, यहाँ एक बहु–कार्यात्मक परीक्षण क्षेत्र पनि छ । जहाँ स्लालोम, पार्किङ, अटोनोमस इमर्जेन्सी ब्रेकिङ र मुस टेस्ट जस्ता एक दर्जनभन्दा बढी बौद्धिक ड्राइभिङ मोडहरूको परीक्षण गर्न सकिन्छ ।
त्यस्तै, अफ–रोड अनुभवका लागि २७ वटा फरक–फरक अप्सन राखिएका छन् । जहाँ सिचुआन–तिब्बत लाइनजस्ता प्रसिद्ध राजमार्गको नक्कल पनि गरिएको छ । साथै, ९ हजार वर्ग मिटरको विशाल क्षेत्र आराम र क्याम्पिङका लागि पनि छुट्याइएको छ ।

बीवाईडीले झेङ्झोउबाहेक अन्य स्थानमा पनि यस्तै ट्रयाक विस्तार गरिरहेको छ । कम्पनीको हेफेई ट्रयाक गत मे महिनामा सञ्चालनमा आइसकेको छ भने साओक्सिङ ट्रयाक अर्को वर्षको शुरूमा खुल्ने तयारीमा छ ।
यसले बीवाईडी केवल गाडी निर्माता मात्र नभई एक समग्र अटोमोटिभ अनुभव प्रदायकका रूपमा स्थापित हुन खोजेको कम्पनीको भनाइ छ ।