
विश्वकै सर्वाधिक लोकप्रिय खेल हो, फूटबल । फूटबललाई खेलहरूको राजा पनि त्यसैले भनिएको होला । यही लोकप्रिय खेलको सबैभन्दा प्रतिष्ठित अवार्ड हो, ‘बालोन डी’ओर’ । अवार्ड घोषणा हुने दिन नजिकिँदै गर्दा फ्रान्सको राजधानी शहर पेरिस यसको अन्तिम तयारीमा व्यस्त छ ।
बालोन डे’ओर अवार्डको ६९औँ संस्करण सेप्टेम्बर २२ तारिखमा आयोजना हुँदैछ । अवार्ड कार्यक्रमका लागि पेरिसस्थित च्याटलेट थिएटरलाई सिंगारिँदै छ । नोट्रे डेमबाट केही दूरीमा रहेको स्थललाई यसपटक अवार्ड कार्यक्रमका लागि चयन गरिएको छ ।
यो त्यही ऐतिहासिक स्थल हो, जहाँ नेपोलियनको राज्याभिषेक भएको थियो । अवार्ड कार्यक्रम आयोजना हुन पाँच दिन बाँकी रहँदा फ्रान्स फूटबल पत्रिकाले गोपनीयतालाई विशेष महत्व दिएको छ । गोप्यतासँगै विश्वभरका फूटबलप्रेमी माझ जिज्ञासा र रोमाञ्च पनि उत्तिकै बढेको छ ।
अघिल्लो वर्षको तीतो यथार्थले यसपटक बालोन डी’ओर अवार्डको आयोजकलाई गतिलो शिक्षा दिएको छ । त्यसैले आयोजक यसपटक निकै झस्किएको छ र सचेत पनि देखिएको छ । गत वर्ष अवार्ड कार्यक्रम आयोजना हुनुअघि नै विजेताको नाम बाहिरिएपछि आयोजक दबाबमा परेको थियो ।
पहिले नै विजेताको नाम चुहिएपछि चर्चित स्पेनिस क्लब रियल म्याड्रिडले त यो सम्मानित अवार्ड कार्यक्रम नै बहिष्कार गरेको थियो । यसपटक पनि रियल म्याड्रिड कार्यक्रममा सहभागी हुनेमा आशंका व्यक्त गरिएको छ । यद्यपि, आयोजकले रियल म्याड्रिडलाई फकाउने सक्दो प्रयास गरिरहेको छ ।
यो वर्ष पनि सम्भावित विजेतालाई लिएर विश्वभर विभिन्न अड्कलबाजी शुरू भएको छ । यथार्थ के पनि हो भने, विगतको तुलनामा यो वर्ष प्रतिस्पर्धा निकै चर्को देखिन्छ । यसपटक फ्रान्सका ओस्मान डेम्बेलेलाई उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ ।
२८ वर्षीय फरवार्ड डेम्बेले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट व्यावसायिक फूटबल खेल्छन् । पीएसजीलाई इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगको उपाधि चुमाउन पनि उनको भूमिका महत्वपूर्ण रहेको थियो ।

डेम्बेलेसँगै यसपटक स्पेनिस ‘पावर हाउस’ बार्सिलोनाका १८ वर्षीय किशोर लामिन यमललाई पनि अवार्डको बलियो हकदारका रूपमा हेरिएको छ । तर, औपचारिक रूपमा विजेताको बारेमा जानकारी पाउन भने अझ पाँच दिन प्रतीक्षा गर्नै पर्नेछ ।
प्रभावशाली विंगर डेम्बेलेका लागि सन् २०२४–२५ सिजन ऐतिहासिक रह्यो । पीएसजीलाई ऐतिहासिक रूपमा यूईएफए च्याम्पियन्स लिगको उपाधि चुमाउन उनले अहम् भूमिका निर्वाह गरे । अघिल्लो सिजन उनले क्लबका लागि कुल ३५ गोल गरे ।
यसका अतिरिक्त, डेम्बेलेले १६ वटा गोलका लागि साथीहरूलाई उत्कृष्ट पास पनि उपलब्ध गराए । यो अवधिमा पीएसजीका लागि उनले घरेलु लिगमा २१, च्याम्पियन्स लिगमा आठ, क्लब विश्वकपमा दुई, फ्रेन्च कपमा तीन र अन्य प्रतियोगितामा एक गोल गरे ।
त्यसैले पीएसजीले पनि डेम्बेलेलाई यसपटक बालोन डी’ओर अवार्ड दिलाउन पर्दा पछाडिबाट गतिलो प्रयास गरिरहेको छ । यसपटक बालोन डी’ओर अवार्डका लागि घोषित सम्भावित ३० खेलाडीको सूचीमा पीएसजीबाट नौजना खेलाडी परेका छन् । यसले पनि डेम्बेलेको पक्षमा वातावरण बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पक्का छ ।
अर्कोतिर, बार्सिलोनाका युवा खेलाडी लामिन यमलले डेम्बेलेलाई गतिलो चुनौती दिने अनुमान गरिएको छ । सन् २०२४–२५ सिजनमा आफ्नो उत्कृष्ट प्रदर्शनका कारण उनी पनि निरन्तर चर्चाको शिखरमा रहँदै आएका छन् ।
स्पेनिस राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य समेत रहेका यी उदीयमान विंगरले बार्सिलोनालाई ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कपको उपाधि चुमाउन अहम् भूमिका निर्वाह गरेका छन् । यस क्रममा यमलले बार्सिलोनाका लागि कुल १८ गोल गरेका छन् ।
यमलले २५ गोलका लागि आफ्ना साथीहरूलाई उत्कृष्ट पास पनि उपलब्ध गराएका छन् । यो अवधिमा यमलले ला लिगामा नौ, च्याम्पियन्स लिगमा पाँच, कोपा डेल रेमा दुई र सुपर कपमा दुई गोल गरेका छन् ।
विभिन्न प्रतियोगितामा उनले खासगरी बलिया प्रतिद्वन्द्वीहरूविरुद्ध महत्त्वपूर्ण क्षणमा आफूलाई अब्बल सावित गरेर देखाएका छन् । यही प्रदर्शनले उनलाई विश्वकै उत्कृष्ट युवा खेलाडीको रूपमा उभ्याएको छ भने किशोर अवस्थामै बालोन डी’ओरजस्तो प्रतिष्ठित अवार्डका लागि बलियो दाबेदारका रूपमा पनि प्रस्तुत गरेको छ ।
अझ रमाइलो पक्ष के हो भने, पीएसजीका खेलकुद निर्देशक लुइस क्याम्पोसले डेम्बेले र यमलबीचको तुलनालाई लिएर निकै खरो टिप्पणी गरेका छन् । उनले आरएमसी स्पोर्टससँग कुराकानी गर्दै यमललाई भविष्यको प्रभावशाली खेलाडी भनेर सम्बोधन गरेका छन् ।
तर, उनले यसपटकको अवार्ड भने डेम्बेलेले नै जित्ने दाबी पनि गरेका छन् । ‘यमल भविष्यका प्रभावशाली खेलाडी हुन्, यसमा कुनै शंका छैन । तर, यसपटक उनले बार्सिलोनालाई ला लिगा मात्र जिताएका छन् । यदि, यसपटक डेम्बेलेले अवार्ड जितेनन् भने मतदाताहरू यो प्रतिष्ठित अवार्डका लागि मतदान गर्न सक्षम नै छैनन् भन्ने सन्देश जानेछ,’ उनले भनेका छन् ।
सम्भावित विजेताको बारेमा जतिसुकै चर्चा चुलिए पनि यसपटक अवार्ड कार्यक्रमअघि कुनै पनि हालतमा सूचना बाहिर नआओस् भनेर आयोजक निकै सचेत देखिएको छ । अघिल्लो वर्ष औपचारिक समारोहअघि नै विजेताका रूपमा म्यानचेस्टर सिटीका स्पेनिस खेलाडी रोड्रीको नाम बाहिरिएको थियो ।
त्यो घटनाका कारण फ्रान्स फूटबलले ठूलै लज्जाबोध गर्नु परेको थियो । त्यस्तो घटना यसपटक नदोहोरियोस् भनेर आयोजकले केही कार्यक्रमहरू रद्दसमेत गरेको छ । यसपटकको अर्को महत्त्वपूर्ण पक्ष भनेको मतदान प्रणालीमा गरिएको सुधार पनि हो ।
यसपटक मतदान गर्ने पत्रकारहरूको संख्या एक सय ७० बाट घटाएर एक सयमा झारिएको छ । यसका अतिरिक्त, आयोजकले यसपटकदेखि मतदान र सामूहिक सफलताभन्दा पनि सम्बन्धित खेलाडीको प्रदर्शन र उपलब्धिलाई बढी महत्त्व दिने निर्णय लिएको छ ।
यो परिवर्तनले भने यमललाई तुलनात्मक रूपमा बढी फाइदा पुग्ने आकलन गरिएको छ । बार्सिलोनाले अघिल्लो सिजन युरोपेली प्रतियोगिताहरूमा गतिलो प्रदर्शन गर्न नसके पनि व्यक्तिगत रूपमा यमलको प्रदर्शन भने उत्कृष्ट थियो ।
यसैगरी, बालोन डी’ओर अवार्डमा यसपटक लैङ्गिक समानतालाई पनि विशेष महत्त्व दिइएको छ । यसलाई अवार्डमा महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ ।
यसपटकदेखि पुरुष र महिला विजेताले पहिलोपटक समान मान्यता प्राप्त गर्नेछन् । यसलाई विश्व फूटबलमा लैङ्गिक अन्तर कम गर्ने ऐतिहासिक कदमका रूपमा पनि हेरिएको छ ।
यसपटक मुख्य पुरस्कारका अतिरिक्त, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट युवा खेलाडी र उत्कृष्ट प्रशिक्षकजस्ता अवार्डमा पनि पीएसजीकै प्रभुत्व देखिन्छ । इटालियन गोलरक्षक जियानलुइगी डोनारुमा गत अगस्तमा पीएसजी छाडेर म्यानचेस्टर सिटी गए पनि उनी उत्कृष्ट गोलरक्षकको दौडमा अग्रपंक्तिमा छन् ।
उत्कृष्ट युवा खेलाडी र उत्कृष्ट प्रशिक्षकको अवार्ड पनि पीएसजीकै पोल्टामा पर्ने सम्भावना प्रबल देखिन्छ । बालन डी’ओर केवल एउटा अवार्ड मात्र होइन, यसले खेलाडीहरूको खेलजीवन र आरोह–अवरोहको कथालाई पनि फरक आकार दिने गरेको छ ।
डेम्बेलेले यो अवार्ड जिते भने यसले उनलाई महान खेलाडीहरूको सूचीमा स्थापित गर्नेछ । अर्कोतिर, यदि यमलले यो उपाधि जिते भने यसले विश्व फूटबलमा नयाँ युगको सुरुवात भएको गतिलो संकेत दिनेछ । यो उपलब्धिसँगै उनी इतिहासकै सबैभन्दा कान्छा बालोन डी’ओर विजेता पनि बन्नेछन् ।

सन् १९५६ देखि यो प्रतिष्ठित अवार्ड प्रदान गर्न थालिएको हो । समकालीन विश्व फूटबलका दुई महान खेलाडी अर्जेन्टिनी स्टार लियोनल मेसी र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो दुबै यसपटक बालोन डी’ओर अवार्डको मनोनयनमा परेका छैनन् । मेसी सर्वाधिक आठ र रोनाल्डो पाँचपटकका विजेता हुन् ।
यसपटक मनोनयनमा पर्ने ३० खेलाडीको सूचीमा डेम्बेले र यमलका अतिरिक्त रियल म्याड्रिडका जुड बेलिङ्घम, पीएसजीका डेसिर डुए, इन्टरनाजियोनलका डेन्जेल गम्फ्राइज र जर्मन क्लब बोरुसिया डर्टमन्डका सेरहो गइरासी पनि छन् ।
यसैगरी, इङ्लिस क्लब म्यानचेस्टर सिटीका अर्लिङ हालान्ड र आर्सनलका भिक्टर ग्योकेरस पनि मनोनयनमा परेका छन् । पीएसजीका अच्राफ हाकिमी, जर्मन क्लब बायर्न म्युनिखका ह्यारी केन, पीएसजीका ख्विचा क्वारात्स्खेलिया, स्पेनिस क्लब बार्सिलोनाका रोबर्ट लेवान्डोवस्की र लिभरपुलका एलेक्सिस म्याक एलिस्टर पनि सूचीमा छन् ।
यसैगरी, इन्टर मिलानका लाउटारो मार्टिनेज, नापोलीका स्कट म्याकटोमिन, रियल म्याड्रिडका केलियन एमबाप्पे, पीएसजीका नुनो मेन्डिस र पीएसजीकै जोआओ नेभस पनि सूचीम छन् । बार्सिलोनाका पेड्री, चेल्सीका कोल पाल्मर, बायर्न म्युनिखका माइकल ओलिस, बार्सिलोनाका राफिन्हा, आर्सनलका डेक्लान राइस र पीएसजीका फाबियन रुइज पनि मनोनयनमा परेका छन् ।
बार्सिलोनाका लामिन यमल, लिभरपुलका फ्लोरियन विर्टज, पीएसजीका भिटिन्हा, रियल म्याड्रिडका भिनिसियस जुनियर, लिभरपुलका भर्जिल भान जिक र लिभरपुलकै मोहम्मद सलाह पनि मनोनयनको सूचीमा परेका छन् ।
यसैगरी, महिलातर्फ चेल्सीकी लुसी ब्रोन्ज, ओलान्डो प्राइडकी बार्बरा बान्डा, बार्सिलोनाकी ऐटाना बोनमाटी, चेल्सीकी स्यान्डी बाल्टिमोर, आर्सनलकी मारियोना काल्डेन्ट, बायर्न म्युनिखकी क्लारा बुहल र वाशिङ्टन स्पिरिटकी सोफिया क्यान्टोर मनोनयनमा परेका छन् ।
आर्सनलकी स्टेफ क्याटली, ओएल लियोन्सकी मेल्ची डेल डुमोर्ने, कान्सास सिटी करेन्टकी टेम्वा चाविङ्ग, आर्सनलकी एमिली फक्स, युभेन्ट्सकी क्रिस्टियाना गिरेली, गोथम एफसीकी एस्थर गोन्जालेज, बार्सिलोनाकी क्यारोलिन ग्राहम हान्सन, बार्सिलोनाकै पाट्री गुइजारो र पाल्मेरसकी अमान्डा टुटियर्स पनि सूचीमा छन् ।
चेल्सीकी हाना ह्याम्पटन, बायर्न म्युनिखकी पर्निल हार्डर, ओएल लियोन्सकी लिन्ड्से हिप्स, आर्सनलकी क्लो केली, ओर्लान्डो प्राइडकी मार्टा, आर्सनलकी फ्रिडा लियोनहार्डसन र बार्सिलोनाकी इवा पाजोर पनि मनोनयनमा परेका छन् ।
यसैगरी, महिलातर्फ पेरिस एफसीकी क्लारा माटेओ, आर्सनलकी एलेसिया रुसो, बार्सिलोनाकी क्लाउडिया पिना, बार्सिलोनाकी एलेक्सिया पुटेलस, चेल्सीकी जोहाना राइटिङ कानेरिड, रियल म्याड्रिडकी क्यारोलिन वेयर र आर्सनलकी लिया विलियम्सन पनि मनोनयनमा परेका छन् ।