३२ असार २०८३, बिहीबार

व्यापार मेलाका विषयमा बुटवलका व्यावसायिक संस्थाबीच विवाद

असोज ४, २०८२
बुटवल
व्यापार मेलाका विषयमा बुटवलका व्यावसायिक संस्थाबीच विवाद

आगामी पुसमा हुने औद्योगिक प्रदर्शनीको विषयलाई लिएर बुटवलका व्यावसायिक संस्थाबीच विवाद भएको छ । उद्योग व्यापार संघ बुटवल र रुपन्देही उद्योग संघले प्रदर्शनी एउटै समयमा एकै ठाउँमा लगाउने दाबी गर्दै तयारीमा लागेका छन् । 

यहाँका चारवटा व्यावसायिक संस्थाले आलोपालो मेला लगाउने स्थानीय सरकारको रोहबरमा सहमति भएको छ । सहमतिसँगै उद्योग व्यापार संघले केही महिना अघिदेखि मेलाको तयारीमा जुटेको थियो । शनिबार उद्योग संघले मेला स्थलमा प्रदर्शनी आफ्नो पालो भएको भनेर ब्यानर राखेपछि विवाद सतहमा आएको हो ।

एक वर्षअघिदेखि तयारी भएको ५ औं औद्योगिक व्यापार मेलामा भाँजो नहाल्न उद्योग व्यापार संघको आग्रह गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी उद्योग व्यापार संघ, बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेले आफूले एक वर्षदेखि तयारी गरेको मेलाका सम्बन्धमा महिनौंसम्म सार्वजनिक रूपमा मौन बसेको उद्योग संघले एक्कासि बोर्ड राखेर सरासर गलत रहेको बताए । 

संघले बुटवल उपमहानगरसँग बुटवलका चार व्यावसायिक संस्थाबीच भएको सहमतिलाई रुपन्देही उद्योग संघले तोडमोड गरी एकतर्फी व्याख्या गरेर बलमिच्याइँ गरेकाले कदापि स्वीकार्य नहुने अध्यक्ष पाण्डेले स्पष्ट पारे ।

उद्योग व्यापार संघले बुटवल मण्डपमा आउँदो पुस ५ देखि १८ गतेसम्म राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्ने निर्णय गरी अघिल्लो वर्ष पुस २१ गते बुटवल उपमहानगरपालिकामा निवेदन दर्ता गरेको थियो । संघले गत वर्ष पुस महिनामै पत्रकार सम्मेलन गरी मेलाको तयारीमा आफूहरू जुटेको जानकारी दिएको थियो । 

उद्योग व्यापार संघका संस्थापक अध्यक्ष खिमनारायण पराजुलीले २०७८ पुसमा आफूहरूले देवीनगरमा मेला सञ्चालन गर्दा अन्य तीन संस्थाबीच आलोपालोमा विवाद नहोस् भनेर तीन संस्थाको नाम उल्लेख भएको र आफूहरू आयोजक भएकाले चौथो पालो स्वतः आफूहरूको हुने बताए । 

यता, रुपन्देही उद्योग संघले पुस ३ गतेदेखि बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आफूहरूले गर्ने दाबी गरेको छ । 

रुपन्देही उद्योग संघका अध्यक्ष दिलीप सापकोटाले यस क्षेत्रका व्यावसायिक संस्थाबीच बसेर बुटवल उपमहानगरमा गरेको समझदारी अनुसार अघि बढेको दाबी गरे ।

‘तत्कालीन जनप्रतिनिधिसमेतको रोहबरमा गरिएको समझदारी अनुसार हामीले यसको प्रकृया अघि बढाएका हौं’, उनले भने । 

उनका अनुसार २०७८ पुस १ गते तत्कालीन नगर प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा बैठक बसेर रुपन्देही उद्योग संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, उद्योग व्यापार संगठनको नेतृत्वबीच  समझदारी गरिएको हो । 

त्यो समझदारीमा तत्कालीन अवस्थाका रुपन्देही उद्योग संघबाट माधव पौडेल, उद्योग वाणिज्य संघबाट अध्यक्ष उज्वल कसजू, व्यापार संघबाट अध्यक्ष यमलाल लोहोनी, उद्योग व्यापार संघबाट  अध्यक्ष गोविन्द गैरेसहितले हस्ताक्षर गरेका छन् । तर, रुपन्देही उद्योग संघले ३ वटा संस्थाबीच मेला आलोपालो गर्ने साझेदारी भएको दाबी पेस गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्