
क्रिकेटलाई कीर्तिमानहरूको खेल पनि भनिन्छ । विश्वकै सर्वाधिक लोकप्रिय खेलमध्येको एक क्रिकेटका हरेकजसो ठूला प्रतियोगितामा कुनै न कुनै कीर्तिमान बनिरहेकै हुन्छन् ।
सायद त्यसैले, विश्व क्रिकेटका महान खेलाडी ब्रायन लाराले कुनै समय भनेको थिए, ‘कीर्तिमानहरू तोडिनैका लागि बन्छन् ।’ अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो भनाइ झनै बढी सान्दर्भिक देखिन्छ ।
कहिले ब्याटिङमा कीर्तिमान त कहिले बलिङमा । यतिमात्र हो र ! फिल्डिङदेखि विकेटकिपिङसम्ममा कीर्तिमानको ओइरो लाग्ने गर्छ ।
त्यसमाथि टेस्ट, एकदिवसीय र टी–२० गरी तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा छुट्टाछुट्टै कीर्तिमान । कतिपय खेलाडीले त अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको वर्षौं बितिसकेको छ ।
तर, उनीहरूको नामसँग जोडिएको कीर्तिमान भने अहिलेसम्म पनि तोडिएको छैन । यहाँ चर्चा गर्न लागिएको प्रसङ्ग पनि अन्तर्राष्ट्रिय क्रिकेटसँग जोडिएको कीर्तिमानहरूकै बारेमा हो ।
अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा केही यस्ता कीर्तिमान पनि छन्, जुन लामो समयदेखि तोडिएका छैनन् र तोडिन असम्भवप्राय: पनि देखिन्छ । यस्तै केही कीर्तिमानको विषयमा यहाँ चर्चा गरिएको छ ।
टेस्ट क्रिकेटमा डोनाल्ड ब्राडम्यानको औसत
विश्व क्रिकेटकै सर्वकालीन महान खेलाडी हुन्, सर डोनाल्ड ब्राडम्यान । अहिले उनी हामीमाझ छैनन् । सन् २००१ को फेब्रुअरीमा ९२ वर्षको उमेरमा निधन भइसकेको छ । तर, उनले विश्व क्रिकेटलाई पुर्याएको योगदान सधैं अविस्मरणीय रहने छ ।
ब्राडम्यान समयको त्यो कालखण्डमा खेलाडीको भूमिकामा सक्रिय थिए जतिबेला टेस्ट क्रिकेटको साम्राज्य थियो । आफ्नो सक्रिय खेलजीवनमा उनले थुप्रै अविश्वसनीय र कीर्तिमानी पाली खेलेका छन् । त्यसैमध्येको एक हो, टेस्ट क्रिकेटमा उनको औसत ।
यी महान ब्याट्सम्यानले आफ्नो सक्रिय खेलजीवनमा ५२ टेस्ट खेलेका थिए । टेस्ट क्रिकेटको ८२ पालीमा उनले कुल ६ हजार नौ सय ९६ रन बनाएका थिए । टेस्ट क्रिकेटमा उनले ९९.९४ को औसतले रन बनाएका छन् ।

टेस्ट क्रिकेटमा उनको यो रन औसतको कीर्तिमान आजसम्म कसैले तोड्न सकेको छैन । सम्भवतः अझ लामो समयसम्म यो कीर्तिमान कसैले तोड्न सक्ने छैन । ब्राडम्यानको यो कीर्तिमान तोड्नु त परको कुरा उनको नजिकसम्म कुनै ब्याट्सम्यान पुग्न सकेका छैनन् ।
टेस्ट क्रिकेटमा दोस्रो उत्कृष्ट रन औसत श्रीलंकाली खेलाडी कामिन्दु मेन्डिसको रहेको छ । मेन्डिसले १४ टेस्टको २४ पालीमा ६२.६६ को औसतले कूल एक हजार तीन सय १६ रन बनाएका छन् ।
आधुनिक विश्व क्रिकेटमा कडा प्रतिस्पर्धा, खेलमा देखिएको विविधता, एउटै खेलाडी फरक ढाँचाका क्रिकेटमा सक्रिय हुनुपर्ने अवस्थाजस्ता कारणले ब्राडम्यानको यो कीर्तिमान तोड्नु निकै कुनै पनि ब्याट्सम्यानका लागि निकै कठिन छ ।
सचिन तेन्दुल्करको शतकको शतक
विश्व क्रिकेटका अर्का महान खेलाडी हुन्, सचिन तेन्दुल्कर । सचिनले विश्व क्रिकेटमा पुर्याएको अतुलनीय योगदानका कारण उनलाई ‘क्रिकेटको भगवान’ पनि भनिन्छ । आफ्नो समयका यी प्रभावशाली ब्याट्सम्यानले तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् ।
यतिबेला उमेरले ५२ वर्ष पुगिसकेका सचिनले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको एउटा कीर्तिमान पनि शायदै कहिल्यै तोडिने छ । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा एक सयवटा शतक बनाएका छन् । जुन कीर्तिमान अझै लामो समयसम्म तोडिन असम्भव देखिन्छ ।
सचिनले टेस्ट क्रिकेटमा ५१ वटा शतक प्रहार गरेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि ४९ वटा शतक बनाएका छन् । यी दुबैलाई मिलाउँदा अन्तर्राष्ट्रिय क्रिकेटमा उनको शतक संख्या एक सय पुग्छ ।

पछिल्लो समय भारतकै अर्का खेलाडी विराट कोहलीले सचिनलाई पछ्याउने प्रयास गरिरहेका छन् । विराटले हालसम्म ८२ शतक बनाइसकेका छन् । तर, विराटले टेस्ट र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेकाले उनले यो कीर्तिमान तोड्ने सम्भावना देखिँदैन ।
पछिल्लो समय निरन्तर प्रतियोगिता खेल्नु पर्ने दबाब छ । त्यसमाथि टी–२० र फ्रेन्चाइज प्रतियोगिताको उदयले ब्याट्सम्यानमाथि अर्को दबाब थपेको छ । निरन्तर खेल्नु पर्दा खेलाडीको फिटनेशमा असर पर्नु स्वभाविक हो । त्यसैले पनि सचिनको यो कीर्तिमान अझै लामो समय तोडिने सम्भावना देखिँदैन ।
मुथैया मुरलीथरनको आठ सय विकेट
आफ्नो समयका चर्चित श्रीलंकाली बलर मुथैया मुरलीथरनले सक्रिय खेलजीवनबाट सन्न्यास लिएको लामो समय बितिसकेको छ । उनी अहिले उमेरले ५३ वर्ष पुगिसकेका छन् । यी प्रभावशाली बलरले टेस्ट क्रिकेटमा बनाएको एउटा कीर्तिमान पनि अजेयजस्तै बनेर बसेको छ ।
मुरलीथरनले एक सय ३३ टेस्टको दुई सय ३० पालीमा कुल आठ सय विकेट लिएका छन् । सक्रिय खेल जीवनबाट सन्न्यास लिएको लामो समय बितिसक्दा पनि यी श्रीलंकाली स्पिन लिजेन्डले बनाएको यो कीर्तिमान कसैले तोड्न सकेको छैन ।

यो सूचीमा दोस्रो स्थानमा रहेका अस्ट्रेलियन बलर शेन वार्नले टेस्ट क्रिकेटमा सात सय आठ विकेट लिएका छन् । तर, वार्नको निधन भइसकेको छ । पछिल्लो समय विश्व क्रिकेटमा सीमित ढाँचाको क्रिकेटको एकाधिकार रहेकाले पनि मुरलीथरनको यो कीर्तिमान तोडिन असम्भवप्राय: देखिन्छ ।
जिम लेकरको एउटै टेस्टमा १९ विकेट
जिम लेकर इङ्ल्यान्डका पूर्वक्रिकेटर हुन् । सन् १९८६ मै उनको निधन भइसकेको छ । उनी आफ्नो समयका प्रभावशाली बलिङ अलराउन्डर थिए । उनले ६९ वर्षअघि टेस्ट क्रिकेटमा बनाएको एउटा कीर्तिमान पनि तोडिन निकै कठिन देखिन्छ ।
चर्चित अफ–स्पिनर जिम लेकरले सन् १९५६ मा अस्ट्रेलियाविरुद्ध एउटै टेस्टमा ९० रन खर्चिएर १९ विकेट लिएका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो कीर्तिमान निकै दुर्लभ मानिन्छ । हालसम्म उनको यो उपलब्धिको नजिक पनि कुनै बलर पुग्न सकेका छैनन् ।

आधुनिक क्रिकेटमा पिचहरू सकेसम्म ब्याट्सम्यानलाई सहयोग पुग्ने गरी तयार पारिन्छ । क्रिकेट पारखी पनि आक्रामक ब्याटिङलाई नै रुचाउँछन् । त्यसमाथि डीआरएसजस्ता प्रविधिले बलरलाई झनै दबाबमा पारेको छ । टेस्ट क्रिकेट पनि निकै कम आयोजना हुन्छन् । यस्तो स्थितिमा जिम लेकरको यो कीर्तिमान अजेयजस्तै देखिन्छ ।
एकदिवसीय अन्तर्राष्ट्रियमा रोहित शर्माको २६४ रन
चर्चित भारतीय क्रिकेटर हुन्, रोहित शर्मा । उनले टेस्ट र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् । तर, एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने उनी अझै पनि सक्रिय छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको एउटा कीर्तिमान पनि तोडिन निकै कठिन छ ।
३८ वर्षीय रोहित शर्माले सन् २०१४ को नोभेम्बर १३ तारिखमा खेलिएको श्रीलंकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय ७३ बलको सामना गरी नौ छक्का र ३३ चौकाको मद्दतले दुई सय ६४ रन बनाएका थिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा कुनै पनि ब्याट्सम्यानले एउटै पालीमा बनाएको यो नै उच्च स्कोर हो । उनको यो कीर्तिमान हालसम्म तोडिएको छैन । आगामी दिनमा समेत कुनै पनि ब्याट्सम्यानका लागि उनको यो कीर्तिमान तोड्नु निकै मुस्किल छ ।
यो सूचीमा दोस्रो स्थानमा रहेका न्युजिल्यान्डका मार्टिन गप्टिलले अविजित दुई सय ३७ रन बनाएका छन् । यसका अतिरिक्त, रोहित शर्मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तीनवटा दोहोरो शतक बनाउने एक्ला खेलाडी पनि हुन् ।
टेस्ट क्रिकेटमा ब्रायन लाराको ४०० रन
विश्व क्रिकेटका महान खेलाडीमध्ये एक हुन्, ब्रायन लारा । वेस्ट इन्डिजका यी प्रभावशाली क्रिकेटरले सक्रिय खेल जीवनबाट सन्न्यास लिएको लामो समय बितिसकेको छ । उमेरले ५६ वर्ष पुगिसकेका यी क्यारेबियन ब्याट्सम्यानले बनाएको एउटा कीर्तिमान निकै लोभलाग्दो छ ।
लाराले सन् २००४ को अप्रिलमा खेलिएको इङ्ल्यान्डविरुद्धको टेस्टको एउटै पालीमा अविजित चार सय रन बनाएका थिए । टेस्ट क्रिकेटको इतिहासमा कुनै पनि ब्याट्सम्यानले एउटै पालीमा बनाएको यो नै सर्वाधिक रन हो ।
यस क्रममा लाराले निरन्तर सात सय ७८ मिनेटसम्म क्रिजमा टिकेर पाँच सय ८२ बलको सामना गरी चार छक्का र ४३ वटा चौका पनि प्रहार गरेका थिए । प्रथम श्रेणीको क्रिकेटमा पनि उनले अविजित पाँच सय एक रनको कीर्तिमान बनाएका छन् ।
पछिल्लो समय टेस्ट क्रिकेटको संख्या घट्दो अवस्थामा छ । अर्कोतिर, सीमित ओभरको क्रिकेटमा समर्थकको रुची बढ्दो छ । यस्तो स्थितिमा लाराले टेस्ट क्रिकेटमा बनाएको यो कीर्तिमान तोडिनु असम्भवजस्तै देखिन्छ ।
टी–२० क्रिकेटमा क्रिस गेलको १७५ रन
क्रिस गेल पनि वेस्ट इन्डिजकै प्रभावशाली क्रिकेटर हुन् । उनले पनि सक्रिय खेलजीवनबाट सन्न्यास लिइसकेका छन् । ४५ वर्षीय यी चर्चित क्यारेबियन ब्याट्सम्यानले टी–२० क्रिकेटमा बनाएको एउटा कीर्तिमान पनि सजिलै तोडिने सम्भावना देखिँदैन ।
क्रिस गेलले सन् २०१३ मा खेलिएको चर्चित फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुको तर्फबाट खेल्दै पुणे वारियर्सविरुद्ध केवल ६६ बलमा १७ छक्का र १३ चौकाको मद्दतले अविजित एक सय ७५ रन बनाएका थिए ।

टी–२० क्रिकेटको इतिहासमा कुनै पनि ब्याट्सम्यानले बनाएको यो नै उच्च स्कोर हो । २० ओभरको अधिकांश खेलमा त पूरै टोलीले बनाउने रन नै यति हुन्छ । त्यसैले गेलले बनाएको यो कीर्तिमान लामो समयसम्म तोडिने सम्भावना देखिँदैन ।
एउटै टेस्टमा ग्राहम गुचको ४५६ रन
इङ्ल्यान्डका चर्चित क्रिकेटर ग्राहम गुचले आजभन्दा ३५ वर्षअघि टेस्ट क्रिकेटमा बनाएको एउटा कीर्तिमान पनि तोडिन पनि मुस्किल देखिन्छ । हाल उमेरले ७२ वर्ष पुगिसकेका गुचले सन् १९९० को जुलाईमा खेलिएको भारतविरुद्धको टेस्टमा कुल चार सय ५६ रन बनाएका थिए ।
त्यो टेस्टमा कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान ग्राहम गुचले पहिलो पालीमा तीन सय ३३ रन र दोस्रो पालीमा एक सय २३ रन बनाएका थिए । आधुनिक क्रिकेटमा टेस्टभन्दा पनि सीमित ढाँचाको क्रिकेटको लोकप्रियता बढ्दै गएकाले गुचको यो कीर्तिमान तोडिन पनि निकै समय लाग्ने देखिन्छ ।

प्रथम श्रेणीमा विल्फ्रेड रोड्सको ४२०४ विकेट
आफ्नो समयका चर्चित अलराउन्डर थिए, विल्फ्रेड रोड्स । उनको निधन भइसकेको छ । इङ्ल्यान्डका यी प्रभावशाली खेलाडीको सन् १९७३ को जुलाई ८ तारिखमा ९५ वर्षको उमेरमा निधन भएको थियो । उनले इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट ५८ टेस्ट खेलेका थिए ।
टेस्ट क्रिकेटमा उनले दुई हजार तीन २५ रन बनाएका छन् भने एक सय २७ विकेट लिएका छन् । तर, उनले बनाएको विश्व कीर्तिमान भने प्रथम श्रेणीको क्रिकेटसँग जोडिएको छ । उनले प्रथम श्रेणीको क्रिकेटमा चार हजार दुई सय चार विकेट लिएका छन् ।
प्रथम श्रेणीको क्रिकेटमा कुनै पनि बलरले लिएको यो सर्वाधिक विकेट हो । समयको लामो कालखण्ड बितिसक्दा पनि उनको यो कीर्तिमान कसैले तोड्न सकेको छैन । आगामी दिनमा पनि उनको यो कीर्तिमान तोडिनु असम्भवजस्तै देखिन्छ । उनले प्रथम श्रेणीको क्रिकेटमा ३९ हजार नौ सय ६९ रन पनि बनाएका छन् ।

एलास्टेयर कुकको लगातार १५९ टेस्ट
इङ्ल्यान्डको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान हुन्, एलास्टेयर कुक । ४० वर्षीय कुकले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिइसकेका छन् । तर, कुकले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको एउटा कीर्तिमान भने अझै पनि उनकै नामसँग जोडिएर बसेको छ ।
कुकको यो कीर्तिमान टेस्ट क्रिकेटसँग सम्बन्धित छ । यी प्रभावशाली ब्याट्सम्यानले सन् २००६ देखि सन् २०१८ को बीचमा लगातार एक सय ५९ टेस्ट खेलेका थिए । यसबीचमा चोट वा अन्य कारणले पनि उनले खेल छाडेका थिएनन् ।
विश्व क्रिकेटको इतिहासमा लगातार एक सय ५९ टेस्ट खेल्नु आफैंमा रमाइलो कीर्तिमान हो । पछिल्लो समय प्रतियोगिताको बढ्दो चाप, फ्रेन्चाइज प्रतियोगिताको बाढीजस्ता कारणले खेलाडी पटक–पटक घाइते हुने गर्छन् । त्यसैले कुकको यो कीर्तिमान तोड्नु कुनै पनि खेलाडीका लागि निकै मुस्किल छ ।

अन्त्यमा, यी अद्भूत कीर्तिमान पनि !
यसका अतिरिक्त, विश्व क्रिकेटमा यस्ता अरु पनि केही कीर्तिमान छन्, जसलाई तोड्नु कुनै पनि खेलाडीका लागि फलामको चिउरा चपाउनु बराबर हुनेछ । यही सूचीमा पर्छ, भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनीको कीर्तिमान पनि ।
धोनी भारतीय टोलीको कप्तानका रूपमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ९१ खेलमा अपराजित रहेका थिए । उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको लामै समय बितिसकेको छ । तर, उनको यो कीर्तिमान अझसम्म पनि तोडिएको छैन ।
यसैगरी, दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डे भिलियर्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको एउटा कीर्तिमान पनि तोडिन निकै कठिन देखिन्छ । उनले सन् २०१५ को जनवरी १८ तारिखमा खेलिएको वेस्ट इन्डिजविरुद्धको खेलमा यो कीर्तिमान बनाएका थिए ।
त्यो खेलमा डे भिलियर्सले केवल ३१ बलमा शतक पूरा गरेका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा यो कुनै पनि ब्याट्सम्यानले सबैभन्दा कम बलमा बनाएको शतक हो । त्यो खेलमा उनले ४४ बलमा १६ छक्का र नौ चौकाको मद्दतले एक सय ४९ रन बनाएका थिए ।