
ललितपुरको हरिसिद्धी प्रभागबाट लुटेका हतियारसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका– ३ घर भएका दीपक राई छन् ।
प्रहरीले राईबाट दुई वटा पेस्तोल र १३ राउण्ड गोली बरामद गरेको छ । गत भदौ २४ गते जेनजीको प्रदर्शनमा राईले हरिसिद्धी प्रभागबाट हातहतियार लुटपाट गरेर फरार भएका थिए ।
प्रशर्दनकारीहरूले प्रभाग समेत जलाएका थिए ।
गोप्य सूचनाका आधारमा राईलाई ललितपुर ठैवबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार राईले आफ्नो डेरामा पेस्तोल र १३ राउण्ड गोली लुकाएर राखेका थिए ।
त्यस्तै कुपण्डोलस्थित प्रहरी प्रभाग हनुमानस्थान तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हनुमानस्थान प्रभाग तोडफोड, आगजनी गरी सरकारी सम्पत्ति तथा प्रहरी कर्मचारीहरूको व्यक्तिगत धनमाल (पोशाक एवं अन्य धनमाल) समेतमा क्षति पुर्याउने कार्यमा संलग्न भएको आरोपमा सानेपा बस्ने सृष्टि तामाङ र कुपण्डोल बस्ने धिरेन्द्र चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।
एसपी जोशीका अनुसार विशेष सुराकी एवं सामाजिक सञ्जालहरूमा पोष्ट भएका फोटो भिडियो समेतको आधारमा तामाङ र चन्दलाई नियन्त्रणमा लिइएको हो ।
गत भदौ २४ मै प्रदर्शनकारीले प्रहरी प्रभाग इमाडोलमा समेत तोडफोड र आगजनी गरेका थिए ।
प्रभागमा कार्यरत प्रहरी कर्मचारीहरू समेतलाई घाइते बनाएर सरकारी सम्पत्ति तथा प्रहरी कर्मचारीहरूको पोशाक एवं व्यक्तिगत धनमालहरू समेतमा क्षति पुर्याएपछि प्रहरीले त्यसमा संलग्नको खोजी गरिरहेको थियो ।
प्रहरीले ललितपुर लुभुबाट ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौतीका राज कुमार तामाङ, धनकुटा पाख्रिवासका गोकर्ण राई, रामेछाप मन्थलीका कृष्णराज गिरी, उदयपुरको सुन्दरपुरका सुनिलकुमार बस्नेत, सोलुखुम्बु सोताङका सरोज नेपाली र सिन्धुली भीमादका नरेश तामाङ छन् ।
प्रहरीले लगाउने एक जोर बुट, सुनको तिलहरी, सुनको झुम्का र सुनको मंगलसुत्र बरामद गरिएको प्रहरीले जनाएको छ।