
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले मुग्लिन–नारायणगढ सडकको विकल्पमा पारिपट्टि अर्को ट्र्याक खोल्नेबारे छलफल शुरू गरेको बताएका छन् ।
बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिसिङले नदी पारिको स्पेसलाई प्रयोग गर्नेबारे छलफल भइरहेको बताएका हुन् ।
जटिल भौगोलिक परिस्थितिका कारण मुग्लिन–नारायणगढ सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ ।
‘मुग्लिन–भरतपुर विकल्पमा पारिबाट लानु पर्ने हो कि भन्ने विषय उठाइएको छ । त्यसमा जानुपर्छ कि भन्ने लाग्छ,’ मन्त्री घिसिङले भने, ‘काठमाडौं–तराई फास्ट ट्रयाक भएपछि विकल्प आउँछ । फास्ट ट्र्याक नबन्दासम्म पारिपट्टिको स्पेससाई प्रयोग गर्नुपर्छ भन्ने छलफल भइरहेको छ ।’
विगतमा समेत त्रिशुली पारीबाट सडक बनाउने भनिए पनि कार्यान्वयनमा आउन सकेको छैन ।
केही पुल नबन्दा अन्य विकल्प प्रयोग गर्न नसकिएको उनले बताए । तनहुँबाट देवघाट हुँदै भरतपुर जोड्ने पुल बन्न ढिलाइ भएका कारण वैकल्पिक बाटो चल्न सकेको छैन ।
मंगलबारदेखि अवरुद्ध रहेको मुग्लिन नारायणगढ समय सुचारु गर्नका लागि प्रयास भइरहेको उनले बताए । साँघुरो ठाउँ भएकोले अहिले भन्दा बढी मशिन संचालन गर्न नसकिएको मन्त्री घिसिङले बताए ।