१० साउन २०८३, आइतबार

ट्रम्पको चेतावनी- नेतान्याहुलाई वेस्ट बैंक कब्जा गर्न दिन्नँ

असोज १०, २०८२
काठमाडौं
ट्रम्पको चेतावनी- नेतान्याहुलाई वेस्ट बैंक कब्जा गर्न दिन्नँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इजरायलले कब्जा गरेको वेस्ट बैंकलाई पूर्णरूपमा आफ्नो भूभागमा मिलाउन (एनेक्स) नदिने बताएका छन् ।

शुक्रबार संयुक्त राष्ट्रसंघको महासभामा नेतान्याहुको सम्बोधनअघि ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘म इजरायललाई वेस्ट बैंक एनेक्स गर्न दिने छैन, त्यो हुनेवाला छैन ।’

आफू नेतान्याहुसँग सोमबार भेट्ने तयारीमा रहेको बताउँदै उनले गाजासम्बन्धी सम्झौता ‘धेरै नजिक’ पुगेको पनि बताएका छन् ।

इजरायलमाथि गाजा युद्ध अन्त्य गर्न र वेस्ट बैंकको कब्जा हटाउन अन्तर्राष्ट्रिय दबाब बढ्दो छ । पश्चिमी मुलुकहरूले औपचारिक रूपमा स्वतन्त्र प्यालेस्टिनी राज्यलाई मान्यता दिन थालेपछि इजरायलका अति–दक्षिणपन्थी समूहहरूले वेस्ट बैंकलाई एनेक्स गर्ने आवाज अझ प्रबल पारेका छन् ।

नेतान्याहुको सत्ता गठबन्धनमा रहेका अति–राष्ट्रवादी नेताहरूले पटक–पटक वेस्ट बैंकलाई पूर्ण रूपमा इजरायलमा मिलाउन माग गर्दै आएका छन् ।

बेलायत र जर्मनीले इजरायललाई एनेक्सेसन नगर्न चेतावनी दिएका छन् भने संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यसलाई ‘नैतिक, कानूनी र राजनीतिक हिसाबले असह्य’ भएको बताएका छन् ।

बिहीबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले नेतान्याहु तथा अन्य मध्यपूर्वी नेताहरूसँग संवाद गरेको बताए । ‘हामी गाजामा सम्झौतासम्म पुग्न नजिक छौं, सायद शान्तिसम्म पनि’, उनले भने ।

बिहीबार भिडियो लिंकमार्फत संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै प्यालेस्टिनी  राष्ट्रपति महमुद अब्बासले आफू इजरायल–प्यालेस्टीनबीच शान्ति योजनालाई कार्यान्वयन गर्न विश्व नेताहरूसँग सहकार्य गर्न तयार रहेको बताए । फ्रान्सले सोमबार उक्त योजना सार्वजनिक गरेको थियो ।

८९ वर्षीय अब्बासलाई अमेरिकाले न्युयोर्क जान रोकेपछि उनले प्रत्यक्ष उपस्थित हुन पाएनन् ।

उनले हालै स्वतन्त्र प्यालेस्टिनी राज्यलाई मान्यता दिएका मुलुकहरूको आभार प्रकट गरे । यस क्रममा आइतबारदेखि क्यानडा, अष्ट्रेलिया, बेलायत र पोर्चुगलले शुरूआत गरेका थिए भने त्यसपछि फ्रान्स, बेल्जियम, लक्जेम्बर्ग, माल्टा, मोनाको, सान मरिनो, एन्डोरा र डेनमार्कले मान्यता दिएका थिए ।

तर, अमेरिका भने हाललाई प्यालेस्टाइनलाई मान्यता दिन तयार छैन । अमेरिकाले यस्तो कदमलाई ‘हमासलाई पुरस्कार दिने कार्य’ भनेर व्याख्या गरेको छ । ‘हमास शासनमा रहने छैन’, अब्बासले भने । उनले गाजाबाट इजरायल फिर्ता भएपछि प्यालेस्टिनी  राज्यले गाजाको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने र वेस्ट बैंकसँग जोडिनुपर्ने पनि माग गरे ।

मंगलबार ट्रम्पले संयुक्त राष्ट्रसंघमा प्रमुख अरब र मुस्लिम नेताहरूसँग भेट गरे । उनीहरूले इजरायलले वेस्ट बैंक एनेक्सेसन अघि बढाए परिणाम गम्भीर हुने चेतावनी दिएका थिए । ‘मेरो विचारमा अमेरिकी राष्ट्रपति वेस्ट बैंकमा एनेक्सेसनको जोखिम र खतरा राम्ररी बुझ्नुहुन्छ’, साउदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहानले भने ।

बुधबार बिहान इजरायलले वेस्ट बैंक र छिमेकी जोर्डनबीचको एक मात्र नाकाबन्दी बन्द गर्‍यो । यससँगै २० लाखभन्दा बढी प्यालेस्टिनीहरूको बाहिरी विश्वसँगको सम्पर्क काटिएको छ ।

यो निर्णय केही दिनअघि जोर्डनका एक बन्दुकधारीले नाकाबन्दी नजिक दुई इजरायली सैनिकलाई गोली हानी हत्या गरेपछि आएको हो । घटनास्थलमै उक्त आक्रमणकारी मारिएको थियो ।

त्यसैदिन गाजामा मात्र इजरायली आक्रमणमा ८० भन्दा बढी फलिस्तिनी मारिएका छन्, जसमा महिला र बच्चाहरू पनि छन् । स्थानीय अस्पतालका अनुसार धेरैजना गाजा सिटीतिरै मारिएका हुन् ।

इजरायलले २०२३ अक्टोबर ७ मा दक्षिण इजरायलमा भएको हामास नेतृत्वको आक्रमण (झण्डै १,२०० जनाको मृत्यु र २५१ जनाको अपहरण भएको) को जवाफमा गाजामाथि आक्रमण शुरू गरेको हो ।

गाजाको हामास नेतृत्वको स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता कम्तीमा ६५,४१९ जनाको मृत्यु भएको छ भने १८,००० भन्दा बढी बच्चा मारिएका छन् ।

गत अगस्टमा संयुक्त राष्ट्रसंघसमर्थित संस्था ‘इंटिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेशन (आईपीसी)’ ले गाजाका पाँच लाखभन्दा बढी मानिस ‘भोकमरी, निर्धनता र मृत्यु’जस्ता विनाशकारी अवस्थाबाट गुज्रिरहेको बताएको थियो । तर नेतान्याहुले बारम्बार गाजामा भोकमरी भइरहेको छैन भनेर दाबी गर्दै आएका छन् ।

संयुक्त राष्ट्रसंघको एउटा छानबिन आयोगले गाजामा प्यालेस्टिनीहरूमाथि इजरायलले ‘जनसंहार’गरेको ठहर गरेको छ । तर इजरायलको विदेश मन्त्रालयले उक्त प्रतिवेदनलाई ‘भ्रष्ट र झुटा’ भन्दै अस्वीकार गरेको छ ।

इजरायलमाथि युद्ध र कब्जा अन्त्य गर्न दबाब बढ्दो छ ।

प्यालेस्टिनी राज्यलाई अझ बढी मुलुकहरूले मान्यता दिन थालेको छ भने युरोपेली आयोगले इजरायलसँगको व्यापारमा प्रतिबन्ध लगाउने र उसको सरकारका चरमपन्थी मन्त्रीमाथि प्रतिबन्ध लगाउने योजना सार्वजनिक गरेको छ । यदि लागू भयो भने यो गाजा युद्धप्रति युरोपेली संघको सबैभन्दा कडा प्रतिक्रिया हुनेछ ।

यसै सातामा माइक्रोसफ्टले इजरायलको रक्षा मन्त्रालयअन्तर्गतको एक इकाईलाई दिइँदै आएको केही प्रविधि सेवाहरू बन्द गरेको छ । अनुसन्धानले उक्त प्रविधि गाजामा मानिसमाथि व्यापक निगरानी गर्न प्रयोग भएको देखाएको थियो ।

तर, नेतान्याहुले भने इजरायलले आत्मनिर्भरता बढाउनुपर्ने भन्दै आह्वान गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्