
पर्यटकीय नगरी लुम्बिनी भ्रमणमा आउने पर्यटकले होटलमा २० प्रतिशतमा छुट पाउने भएका छन् ।
होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीले दशैं तिहार लक्षित गरी भ्रमणमा आउने पाहुनालाई जिल्लामा सुरक्षित वातावरणको आभाष दिलाउँदै ‘टुर प्याकेज’ सार्वजनिक गर्दै छुट घोषणा गरेको हो ।
पर्यटकलाई रुपन्देहीसहित लुम्बिनी प्रदेशमा आकर्षित गर्ने उद्देश्यले विश्व पर्यटन दिवसको अवसर पारेर शनिबार छुट योजना ल्याएको होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष माधवप्रसाद खनालले जानकारी दिए ।
दुई रात तीन दिनको प्याकेज चार जनाभन्दा बढीको समूहमा लागू हुने यसको मूल्य ८ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
बालबालिकाको हकमा २५ देखि ५० प्रतिशतसम्म छुट दिइने छ । स्थल मार्गबाट पर्यटक प्रवेशद्वारका रूपमा रहेको बेलहिया (सुनौली) नाकामा पर्यटकलाई स्वागत गर्दै सुस्ताउन थालेको पर्यटन क्षेत्रलाई पुनरुत्थानका लागि व्यवसायीहरू जुटेको अध्यक्ष खनालको भनाइ छ ।
प्याकेजअन्तर्गत सुनौली, लुम्बिनी, बुटवल, बुद्ध सर्किट, रात्रिकालीन बुटवलको कालिकापथ, हिलपार्क, सिद्धबाबा मन्दिर, लुम्बिनी केबलकार हुँदै कामाख्या मन्दिर, अर्को सिद्धार्थ केबलकार हुँदै नुवाकोट, मणिमुकुन्द सेन उद्यान, जीतगढी किल्ला, शंकरनगर वनवाटिकाका तथा व्यापारिक केन्द्र बुटवल बजार किनमेलको व्यवस्था रहेको छ ।
बुटवल, भैरहवा, लुम्बिनी भ्रमण गराउँदै आफ्नो स्तरअनुसार खानपिनदेखि बसोवाससम्म आकर्षक छुटको योजना ल्याएको संघका पर्यटन उपाध्यक्ष तथा कार्यक्रम संयोजक रोमकान्त पाण्डेले बताए ।
बुटवल, भैरहवा र लुम्बिनीमा पछिल्लो समय नयाँ होटल व्यवसायी पनि थपिँदै गएका छन् ।
भूकम्प, कोरोना महामारीदेखि जेनजी आन्दोलनले पर्यटन क्षेत्र थला पर्न थालेसँगै यसको विकास गर्दै पर्यटकको सेवाको पहिलो आधार होटल भएकाले व्यवसायी एकजुट भएका हुन् ।
आन्तरिक र भारतीयसँगै तेस्रो मुलुकका पर्यटकको आवागमन बढ्दै गएको रुपन्देहीमा जेनजीको आन्दोलनपछि अहिले ठप्प जस्तै भएको छ । अहिले मुख्य सिजनमा बुकिङ भएका होटलहरू धमाधम पर्यटकले रद्द गरिरहेका छन् ।
बेलहिया नाकाबाट यो वर्ष ५८ देशका ६३ हजार ७९३ जना पर्यटक नेपाल भित्रिएका छन् ।
यो अवधिमा श्रीलकाबाट १९ हजार ८३५ जना, थाइल्याण्डबाट १२ हजार ३४५ जना, म्यान्मारबाट ९ हजार दुई २७८ जना, भियतनामका चार हजार १८८ जना र दक्षिण कोरिया २ हजार २४ जना रहेको अध्यागमन कार्यालयका अधिकृत वासुदेव पौडेलले बताए ।
उनीहरू अधिकांश तिर्थाटनका लागि आउने हुन् ।
गौतम बुद्धको जन्मभूमि लुम्बिनी प्रदेशको प्रमुख मध्येको पर्यटकीय केन्द्रमा पर्छ । नेपाल घुम्न आउने भारतीयहरूको संख्या बढ्दो छ ।