
हिन्दी सिरियल हेरेर रुने दिदी–बहिनीहरूले हर्क साम्पाङको आँसु नक्कली हो भने । राजेश हमाल, पल शाह र विराज भट्ट रोएको देखेर रुने दाजुभाइहरूले पनि हर्क साम्पाङको आँसु गोहीको आँसु हो भने । चलचित्रको कथावस्तु राम्रोसँग बुझ्न सक्नेहरूले देशको कथावस्तु बुझ्न सकेनन् । ग्लिसिरिनको आँसु र लक्रिमल ग्रन्थीबाट निस्किएको आँसुको भेद पनि छुट्याउन सकेनन् ।
जसरी विमानस्थलमा छोराको बिदाइ गर्न गएको बाको आँसु सक्कली हो, त्यसैगरी हर्क साम्पाङको आँसु पनि सक्कली हो । आर्यघाटको किनारमा जलिरहेका जेनजीका आमाहरूको आँसुजस्तै हर्क साम्पाङको आँसुले पनि परेला भिजाएको थियो । हर्क साम्पाङ पनि कसैको बा हुन् । हर्क साम्पाङको घरमा पनि जेनजीहरू छन् । हर्क साम्पाङले ढुंगा बोक्छन् भन्दैमा उनको मुटु पनि ढुंगाजस्तै हुनुपर्छ भन्ने छैन ।
दोस्रो विश्वयुद्धको क्रममा डन्डी अपरेसनको समाचार सुन्दा विन्स्टन चर्चिलले आँसु झारेका थिए । विश्वकप फुटबलमा पराजित हुँदा क्रिस्टियानो रोनाल्डोले पनि आँसु झारेका थिए । सबैलाई हँसाउने चार्ली चाप्लिन पनि आफ्नो प्रस्तुति सकिएपछि कोठामा फर्किएर एक्लै रुन्थे । नेपालमा एकै दिनमा अर्बौंको सम्पत्ति खरानी भयो तर पनि कोही रोएनन् । गर्धनमा झण्डा झुन्ड्याएर हिँड्नेहरूले पनि एक थोपा आँसु झारेनन् । जम्माजम्मी एउटा मान्छे रोएको थियो, जसको आँसुलाई पनि विश्वास गरिएन ।
हर्क साम्पाङसँग त्यति धेरै नै रिस नै उठेको छ भने बरु उनले तानेका खानेपानीका पाइपहरू राति गएर काटिदिनुहोस् । उनले बनाएका फूलबारी र पार्कहरू लात्तैलात्ताले हानेर भत्काइदिनुहोस् । उनको फोटो बिगारेर बाँदरजस्तो बनाइदिनुहोस्, कुकुरजस्तो बनाइदिनुहोस् । उनको फेसबूक आईडीमा गएर सात पुस्ताको धज्जी उड्ने गरी कमेन्ट गरिदिनुहोस् । यतिसम्म कि, अनफलो अभियान समेत चलाइदिनुहोस् । तर, कृपया हर्क साम्पाङ रोएकै हैन नभनिदिनुहोस् ।
यो देशमा रुन को नै बाँकी छ र ? मलाई त यस्तो लाग्छ, पृथ्वी नारायण शाह र जङ्गबहादुर राणा पनि धेरैपटक रोएका थिए । भीमसेन थापा र काजी कालु पाण्डे पनि रोएका थिए । राजा महेन्द्र र वीरेन्द्र पनि रोएका थिए । बाबुराम–प्रचण्ड रोएको त भिडियो नै छ । यो स्तम्भकारलाई पनि छोटो दिमाग हुने परजीवीहरूले बहुला भन्छन्, तर एकान्तमा बसेर रोएको कसैले देख्दैनन् । केही दिनअगाडि मोबाइल चोरेको आरोपमा एउटा सानो बालिकालाई तातो रडले डामेका रहेछन् । त्यो भिडियो हेरेर म रोएको थिएँ ।
धैरेले भनेको सुनियो, यो हर्क साम्पाङ त पदको लोभी रहेछ । हामी नेपालीहरू एक चोक्टा मासुको लागि पनि लोभ गर्छौं । परार साल मासु नपकाएको झोकमा एकजना पापीले आफ्नै आमालाई घनले हानेर मारेको थियो । जाबो बासी भात पनि रूम पार्टनरले खाइदिन्छ भनेर फ्रिजमा समेत चाबी सिस्टम लगाएको मेरै आँखाले देखेको छु । हाम्रा सरकारी कर्मचारीहरूले पैसाको लोभमा नागरिकता पनि बिक्रीमा राख्छन् । राहदानी पनि बिक्रीमा राख्छन् । हो, हर्क साम्पाङले लोभ गरेकै हुन्, तर प्रधानमन्त्री पदको । मान्छेहरू लोभी पनि आफ्नो हैसियत अनुसारको हुँदा रहेछन् ।
श्रीमान–श्रीमती दुवै जनाले जेनजीको हातको कुटाइ खाएको अघिल्लो दिनसम्म शेरबहादुर देउवाको लोभको भाँडो पनि आखिर प्रधानमन्त्री पदमै थियो । जेनजीले नखेदेको भए केपी ओली गुण्डुमा शरण लिने थिएनन्, प्रचण्डले अध्यक्ष पद छाड्नुपर्ने स्थिति पनि आउँदैनथ्यो । किनकि यिनीहरूको लोभको भाँडो पनि प्रधानमन्त्री पदमा नै थियो । घरमा पनाति–पनतिना खेलाएर बस्नुपर्ने उमेरकी सुशीला कार्कीलाई पनि सर्वोच्च अदालतबाट रिटायर्ड भएदेखि नै यस्तो मौकाको लोभ थियो । किनकि यिनले सर्वोच्च अदालतकै साथी खिलराज रेग्मी पनि प्रधानमन्त्री भएको देखेकी थिइन् ।
हर्क साम्पाङलाई धेरैले अवसरवादी पनि भनेका छन् । देश संकटमा छँदा एनजीओ–आईएनजीओहरूले अवसर लिन खोज्दा रहेछन् । देशमा अस्थिरता उत्पन्न हुँदा विदेशी दूतावासहरूले फाइदा उठाउन तम्सिँदा रहेछन् । देशमा मारामार हुँदा अन्तर्राष्ट्रिय खुफिया एजेन्सीहरूले पनि आफ्नो भाग माग्दा रहेछन् । सबैले मागिरहेका बेला हर्क साम्पाङले पनि मागेका हुन् । देशलाई अरू कसैले सर्कसको भालुजस्तो नचाइरहेको बेलामा छातीमा दम हुनेहरूले मेरो देशको जिम्मा म लिन्छु भन्न सक्नुपर्छ । आदरणीय सर-मेडमहरू, हर्क साम्पाङले त्यही भनेका हुन् ।
हर्क साम्पाङले देश चलाउन सक्दैनन् भन्नेहरू पनि यही पृथ्वीमा छन् । सजिलो त के काम छ र महाराजा-महारानीहरू ? अस्ट्रेलियामा चर्पी सफा गर्न पनि सजिलो छैन । जापानमा अरूले हनिमुन मनाएको होटलको बेड मिलाउन पनि सजिलो छैन । अमेरिकामा केयर गिभरको काम गर्न पनि सजिलो छैन, खाडीको ९० डिग्रीको तापक्रममा बेल्चा हान्न पनि सजिलो छैन । युरोपमा स्ट्रबेरी, ब्लुबेरी र किवी टिप्न पनि सजिलो छैन । सम्भवतः देश चलाउन पनि त्यति सजिलो छैन । सजिलो त नाच्न मात्रै छ । देशमा दनदनी आगो बलेको बेला के हर्क साम्पाङले साकेला नाच्नु पर्थ्यो ?
दुईपटकसम्म मिर्गौला फेरेका केपी ओलीले अस्तिका मितिसम्म देश चलाइरहेकै थिए । शेरबहादुर देउवाले बोलेको कुरा ९९ प्रतिशत नेपालीले बुझ्दैनन्, तर देश चलिरहेकै थियो । जंगलबाट शहरमा पस्नासाथ प्रचण्डले पनि देश चलाए । सुशीला कार्की, जो अहिले ७३ वर्ष उमेर पार गरिसकेकी छिन् । यो उमेरमा हिजोको कुरा आज बिर्सिने रोग डिमेन्सिया (Dementia) प्रायःलाई हुन्छ । फिजिकल्ली हेर्दा यिनी राम्ररी हिँडडुल गर्न सक्दिनन्, भर्याङ र सिँढी चढ्न सक्दिनन् । तर पनि देश चलाउन कस्सिएकै छिन् ।
हर्क साम्पाङ त बिहान ४ बजे भालेको डाँको सँगै उठ्छन् र त्यसपछि सिठी फुकिहाल्छन् । आकस्मिक परिस्थिति आयो भने यिनी एक घण्टामा २०–२५ किलोमिटरसम्म दौडिन सक्छन्, मृग जस्तै । झरी, बादल, हिलोको चिन्ता नगरी काम गर्छन् । हर्क साम्पाङ बिरामी भएर औषधि खाएर सुतेको छ अरे भनेर कहिल्यै सुनिएको छैन । बगैँचा बनाउने, वृक्षारोपण गर्ने, प्रकृतिलाई प्रेम गर्ने मान्छे पक्कै पनि डिप्रेसनमा परेको हुँदैन । डिप्रेसनमा त त्यो मान्छे पर्छ, जो सधैँ चस्मा लगाएर आँखा छोपेर बस्छ, अनि घरबाट बाहिर निस्किन डराउँछ ।
मान्छेहरू भन्छन्, हर्क साम्पाङ रिसाहा छन्, घमण्डी छन्, जिद्दी छन्, जातिवादी छन्, चर्च जान्छन् । खै, आजको मितिसम्म हर्क साम्पाङले मान्छे कुट्यो अरे भन्ने समाचार आएको छैन । घमण्डी मान्छेहरू त भात खाएर सुतिहाल्छन्, तर यिनी त ढुंगा बोक्न गएको देखिन्छ । ट्रकको जमानामा डोकोमा ढुंगा बोक्छन्, यो भन्दा सिधा मान्छे अरू को होला ? यिनको जिद्दीपन छ, तर बाटोको फोहोर टिप्ने, खुर्सानी रोप्ने जिद्दीपन । यिनी जातिवादी भएको भए अरूले जस्तै मारवाडीलाई लखेट्न पर्छ भन्दै भाषण दिन्थे होला । सुम्निमा र पारुहाङको मूर्ति बनाउन खोज्ने मान्छे पास्टर त हुनै सक्दैन ।
बरु रेसिजम (Racism) त युवा पुस्तामा कडा देखियो । अन्तरिम प्रधानमन्त्री बनाउने विषयमा कतै न कतै जातको आधारमा पक्षपोषण भएको देखियो । केपी ओलीलाई बा भने जस्तै, यिनीहरूले सुशीला कार्कीलाई पनि आमा भन्न थालेका थिए । यस्तै बा, आमा, काका, काकी, मामा, माइजूजस्ता नातावादी, कृपावादी चिन्तनका कारण देश बिग्रिएको हो । 'नेपो किड्स' भन्नेहरूले नै नेपोटिजम त गर्नु भएन नि ! बिहेको भोज–भतेरमा हो साइनो लगाउने त, देश चलाउने कुरा अविछिन्न हुनुपर्छ । बालेनले फोन नउठाएपछि सिधै सुशीला कार्कीतिर पाइन्ट नै च्यातिने गरी फड्को मारियो । यो पनि पुरातनवादी, पश्चगामी, दक्षिणपन्थी, रुढीवादी गतिविधि नै थियो ।
काठमाडौं महानगरपालिकाको कार्यालयदेखि जंगी अड्डासम्म करिब १.५–२ किलोमिटर दूरी छ । पैदल हिँडेर पनि १२–१४ मिनेट लाग्छ । तर, बालेन गएनन्, मोबाइल स्विच अफ गरेर बसे । धरानबाट हर्क साम्पाङ सडक मार्ग हुँदै ९ घण्टा लामो यात्रा गरेर काठमाडौं आए र जंगी अड्डा पुगे । हर्क साम्पाङलाई थाहा थियो, मलाई प्रधानमन्त्री बनाउँदैनन् । तर, देशमा परिवर्तन चाहनेहरूको नाडी छाम्नकै लागि उनी काठमाडौं आएका थिए । तर्क गर्नेहरूले भनेका थिए, यो अन्तरिम सरकार भएकाले कार्यकाल ६ महिना मात्रै हो, केही गर्न सकिन्न । तर, शपथ खाएको १५ दिन नपुग्दै सुशीला कार्कीले प्रत्यक्ष कार्यकारीको चुनाव हुन नसक्ने घोषणा गरिन् ।
एउटा विमान हाइज्याक हुँदा २–३ सय मानिसलाई खतरा पर्छ । तर, सरकार हाइज्याक हुँदा ३ करोड नेपालीले दु:ख पाउन सक्छन् । त्यसो हुँदा वयोवृद्ध प्रधानमन्त्री सुशीला कार्कीले बुझ्नुपर्छ, मेरो एउटा निर्णयले नेपाली युवालाई राजनीतिक दासत्वबाट मुक्त गर्नुपर्छ भनेर । संविधान सांसदहरूले मात्र होइन, शहीदहरूले पनि लेख्छन् । गोली लाग्नुअघि हरेक जेनजीको मुखमा एउटा शब्द थियो— Directly Elected Prime Minister (प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री) । राजसंस्था फालेको संविधानले होइन, क्रान्तिले हो । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पनि संविधानबाट नभई क्रान्तिबाट निर्माण गरिएको हो । त्यसैले अन्तरिम सरकारले, अन्तरिम संविधान घोषणा गर्न सक्नुपर्छ ।
मेरो जिग्री साथीले भन्थ्यो, 'भात त घरमै श्रीमतीले पकाउँछिन् नि, भेराइटी खान होटल जाने हो ।' ठीक त्यस्तै संसदीय चुनाव त ओलीले पनि गरिदिन्छन् नि, देउवाले पनि गरिदिन्छन् नि, प्रचण्डले त झन् धाँधलीरहित गरिदिन्छन् । तर, ०८४ को संसदीय चुनावलाई ०८२ मा सार्नकै लागि सुशीला कार्की चाहिएको थिएन । सडकको क्रान्तिबाट सरकार बनेपछि सरकारको आवाज पनि सडकको नै हुनुपर्छ । यदि संसदीय चुनाव नै गर्ने हो भने अर्बौं खर्च किन गर्नु पर्यो ? जंगी अड्डामा बोहोश भएर सुतेको विघटित संसदलाई अलिकति प्राणवायु हालेर ब्यूँताए भैहाल्छ ।
भ्रष्टाचार गर्ने, अनियमितता गर्ने, कमिसन खाने र चिटिक्क कोट–पाइन्ट लगाउने, छेउ–टुप्पा मिलाएर बोल्ने, सबैलाई मक्ख पार्ने मान्छेहरूको नेपालमा कमी छैन । जस्तो भन्यो त्यस्तै मान्छे पाइन्छन् हाम्रो देशमा । तर, हामीलाई हर्क साम्पाङ जस्तो हजारौं कर्मवीर चाहिएको छ । अविवाहित रामहरि खतिवडा पनि ह्यान्डसम देखिन्छन् । रामकुमारी झाँक्रीलाई साडी सुहाउँछ, बोली पनि मीठो छ । नविना लामाको अनुहार पनि राम्रो छ, बा भन्दै भाषण गर्दा राम्री देखिन्छिन् । तर, अब हामीलाई बा पनि हैन, आमा पनि हैन, जे सत्य कुरा हो त्यही भन्ने मान्छे चाहिएको छ ।
नेपालमा ३६,१०५ जनप्रतिनिधि छन् । कोही घर जलेर रोए, कोही गाडी जलेर रोए । तर, धरानका मेयर हर्क साम्पाङ मात्रै जेनजीका शरीर जल्दा रोए । अहिले परिस्थिति त्यस्तो बन्दै गएको छ, जेनजीका शरीरसँगै जेनजीका सपना पनि जल्दै छन् । अस्ति दुई–चार जना लिम्बूहरू एक आपसमा कुरा गर्दै गरेको सुनेको थिए । तिनीहरू भन्दै थिए, 'यो देशमा यति धेरै क्षति भएको पाथीभरामा जबर्जस्ती केबलकार राख्न खोज्दा अशुभ भएको कारणले हो ।' मलाई धर्मकर्ममा विश्वास त लाग्दैन, तर हर्क साम्पाङको आँसु देख्दा देशमा केही न केही अनिष्ट हुन्छ जस्तो लाग्छ ।