२८ असार २०८३, आइतबार

दमकको इलाका प्रहरी कार्यालय पुनःस्थापित

असोज १३, २०८२
झापा
दमकको इलाका प्रहरी कार्यालय पुनःस्थापित

जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त इलाका प्रहरी कार्यालय दमकको भवन पुनःस्थापित गरिएको छ । पुनःस्थापित गरिएसँगै प्रहरीहरू काममा फर्किएका छन् ।

आज फूलपातीको अवसर पारेर प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिनासहित इलाका प्रहरी कार्यालयमा सेवारत प्रहरीहरूलाई फूलमाला, खादा ओढाएर स्थानीयले स्वागत गरेका दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाईंले बताए ।

प्रहरीहरूलाई कोशी प्रदेशसभा सदस्य होमबहादुर थापा, दमक नगरपालिकाका प्रमुख रामकुमार थापालगायतले स्वागत गरेका थिए ।

जेनजी प्रदर्शनका क्रममा आगजनीबाट दमक प्रहरीका पाँचवटा पक्की भवन र गाडीहरूमा क्षति पुगेको थियो भने प्रहरीका पोसाक, हतियारहरूसमेत लुटिएको थियो ।

लुटिएका हतियारलगायत सामानहरू अझै फिर्ता नभएको प्रहरीको भनाइ छ । प्रहरीले हराएका हतियारहरू सम्बन्धित कार्यालयमा बुझाउन आग्रह गरेको छ ।

आगजनीपछि यहाँका सबै प्रहरी भद्रपुरस्थित जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

दमक नगरपालिकाको विशेष पहलमा सात दिनअघि मात्र उक्त प्रहरी टोली दमक–८ को अग्र्यानिक सब्जी मन्डीको भवनमा अस्थायी रूपमा सरेका थिए ।

इलाका प्रहरीको पुनर्निर्माण गर्न दमक उद्योग वाणिज्य सङ्घ र ट्राफिक प्रहरीको स्थानीय रोयल स्पोर्टिङ क्लब दमकले अगुवाइ गरेको थियो ।

ती दुवै कार्यालयको भवन पुनर्निर्माण गरी जति छिटो ती कार्यालय पुनःस्थापित गराउन विभिन्न क्षेत्रबाट नगद तथा जिन्सी सहयोगस्वरूप प्राप्त भएको थियो ।

प्रहरी पुनःस्थापित भएपछि यहाँको शान्तिसुरक्षा तथा अमनचैन कायम गर्न मद्दत पुग्ने दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुरागाईंले बताए ।

क्षतिग्रस्त भवन पुनर्निर्माण गर्न दमक उद्योग वाणिज्य सङ्घले पाँच लाख, दमक नगर इसाई समाजले दुई लाख १६ हजार ६५५ सहयोग रकम उपलब्ध गराएका थिए ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार जिल्लामा विस्थापित प्रहरी कार्यालयहरू स्थानीयहरूको सहयोगमा धमाधम पुनःस्थापित हुँदै छन् ।

जिल्लामा ६९ वटा प्रहरी कार्यालयसहित युनिटमा तोडफोड तथा आगजनी गरिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्