०९ साउन २०८३, शनिबार
स्वास्थ्यकर्मीको दशैं

सेतो कोटमा दशैं : स्वास्थ्यकर्मीका लागि चाडभन्दा कर्तव्य ठूलो

असोज १५, २०८२
विराटनगर
सेतो कोटमा दशैं : स्वास्थ्यकर्मीका लागि चाडभन्दा कर्तव्य ठूलो

गाउँदेखि शहरसम्म दशैंको उल्लास छाइरहेको छ । अघिल्ला वर्षहरूभन्दा यसपटकको दशैं अलिक पीडादायी नै रह्यो । तै पनि संस्कृति त धान्नु नै छ ।

घर–आँगनमा रातो टीका र हरियो जमराको तयारी भइरहँदा कोशी अस्पतालको वातावरण भने फरक छ । स्वास्थ्यकर्मीका लागि चाडपर्वको उत्साहभन्दा बिरामीको सेवा ठूलो हुन्छ । अस्पतालको नेतृत्वमा छिन्- मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुना झा ।

दशैंमा आफ्नो परिवारसँग तराईमा दुर्गा पूजा मनाउन जाने तयारीमा भए पनि उनको मनको एउटा कुनामा ६ सयभन्दा बढी सहकर्मीहरूको चिन्ता र उनीहरूप्रतिको सम्मान छ, जसले आफ्नो दशैं बिरामीका लागि समर्पण गरिरहेका छन् ।

'मेरो दशैं त ठीकै हुन्छ, परिवारसँग मनाउन घर जाँदैछु,' डा. झा भन्छिन्, 'तर, अस्पतालका सबै कर्मचारीको दशैं यस्तो हुँदैन । हामी चौबीसै घण्टा सेवा दिने संस्था हौँ, त्यसैले बिरामीको उपचार हाम्रो पहिलो प्राथमिकता हो ।'

सामूहिक जिम्मेवारीको पर्व

कोशी अस्पतालमा कार्यरत ६ सयभन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारीहरूका लागि दशैं व्यक्तिगत खुसीभन्दा पनि सामूहिक जिम्मेवारीको पर्व हो । सबैलाई एकैपटक बिदा दिन असम्भव भएकाले अस्पताल प्रशासनले आलोपालो प्रणाली (रोटेसन सिस्टम) मार्फत बिदा व्यवस्थापन गरेको छ ।

'हामीले केहीलाई दशैंमा र केहीलाई तिहारमा बिदा लिनुस् भनेर मिलाएका छौँ,' डा. झा भन्छिन् । 

जुन विभागमा धेरै कर्मचारीलाई छुट्टी आवश्यक पर्छ, त्यहाँ कम व्यस्त विभागका कर्मचारीहरूले स्व:स्फूर्त रूपमा गएर ड्युटी सम्हालिदिन्छन् ।

यो निःस्वार्थ भावनाप्रति कृतज्ञता व्यक्त गर्दै डा. झा भन्छिन्, 'यो सहकर्मीहरूबीचको आपसी समझदारी र सहयोगको उत्कृष्ट उदाहरण हो, जसले गर्दा हामी चाडपर्वमा पनि अटुट सेवा दिन सक्षम छौँ ।'

चाडपर्वमा स्वस्थ रहने मन्त्र

दशैं भन्नेबित्तिकै मीठोमसिनो र चिल्लोचाप्लो खानेकुराको सम्झना आउँछ । तर, एक चिकित्सकको रूपमा डा. झा आममानिसलाई सन्तुलित भोजन गर्न सुझाउँछिन् ।

'चाडपर्वमा केही पनि नखानुस् भन्न त मिल्दैन, तर जे खानुहुन्छ, लिमिटमा खानुस्,' उनको सरल तर, महत्वपूर्ण सुझाव छ ।

विशेषगरी दशैंमा अत्यधिक खपत हुने रातो मासु स्वास्थ्यका लागि त्यति राम्रो नमानिने भएकाले यसको मात्रामा ध्यान दिनुपर्ने उनी बताउँछिन् ।

'खाना खाइसकेपछि पेट भरिएको संकेत दिमागसम्म पुग्न केही समय लाग्छ, त्यसैले पेट टन्न हुनुभन्दा अलिकति अगाडि नै खान छाड्नु बुद्धिमानी हुन्छ,' उनी भन्छिन् ।

चिल्लो, मिठाइ र अन्य परिकारहरू पनि सन्तुलित रूपमा खाँदै शारीरिक रूपमा सक्रिय रहन उनको आग्रह छ । धेरै खाने र शारीरिक गतिविधि शून्य हुने अवस्थाले स्वास्थ्यमा समस्या ल्याउन सक्ने भएकाले नियमित हिँडडुल र व्यायामलाई निरन्तरता दिनु आवश्यक छ ।

चौबीसै घण्टा सेवा

चाडपर्वको समयमा अस्पतालको ओपीडी सेवा बन्द रहे पनि आकस्मिक कक्ष, अन्तरङ्ग विभाग (इन–पेसेन्ट) र आकस्मिक शल्यक्रिया सेवा चौबीसै घण्टा सुचारु रहन्छ । 

डाक्टर, नर्सदेखि सरसफाइ कर्मचारीसम्म, सबै आ–आफ्नो ड्युटीमा खटिएका हुन्छन् । टीकाको दिन नै किन नहोस्, कुनै आपतकालीन अवस्था आएमा घरमा बिदा मनाइरहेका चिकित्सकहरू पनि तुरुन्तै अस्पताल आइपुग्नुपर्ने हुन्छ ।

यो समयलाई अस्पतालले अन्य महत्वपूर्ण कामका लागि पनि उपयोग गर्छ । बिरामीको चाप कम भएको मौकामा आईसीयू र एचडीयू जस्ता संवेदनशील कक्षहरूको 'फ्युमिगेसन' (संक्रमणरहित बनाउने प्रक्रिया) र गहिरो सरसफाइ गरिन्छ, ताकि चाडपर्वपछि बिरामीले अझै सुरक्षित र स्वच्छ वातावरणमा उपचार पाऊन् ।

सेतो कोटभित्रको सेवाभाव

जब हामी आफ्नाहरूसँग हाँसो खुसी साट्दै दशैं मनाइरहेका हुन्छौं, तब कोशी अस्पतालका यी स्वास्थ्यकर्मीहरू कसैको जीवन बचाइरहेका हुन्छन्, कसैको पीडा कम गरिरहेका हुन्छन् । उनीहरूका लागि बिरामीको ओठमा आउने मुस्कान नै सबैभन्दा ठूलो आशीर्वाद र दशैंको शुभकामना हो ।

उनीहरूको यो त्याग र समर्पणले नै समाजलाई स्वस्थ र सुरक्षित राख्न मद्दत गरेको छ । उनीहरूको सेतो कोटभित्रको यो सेवाभाव नै दशैंको सबैभन्दा ठूलो उत्सव हो ।

salt training

कमेन्ट गर्नुहोस्