१९ असार २०८३, शुक्रबार
विकासमा सुस्तता

बुटवल–गोरुसिंगे सडक: कामदार अभावले सुस्तायो निर्माणको गति

असोज १७, २०८२
बुटवल
बुटवल–गोरुसिंगे सडक: कामदार अभावले सुस्तायो निर्माणको गति

निर्माण शुरू हुँदा तीव्रताका साथ काम भएको बुटवल–गोरुसिंगे सडक खण्डको काम सुस्ताएको छ । पूर्व–पश्चिम राजमार्गको मध्य खण्डमा पर्ने सडक विस्तारको काम शुरूमा धमाधम भए पनि वर्षायाम र चाडपर्वसँगै कामदार अभाव हुँदा निर्माणको गतिमा ब्रेक लागेको हो ।

गत वर्ष माघ १० गते बुटवलमा तत्कालीन उपप्रधानमन्त्रीद्वय विष्णु पौडेल र प्रकाशमान सिंहले संयुक्त रूपमा आयोजनाको शिलान्यास गरेका थिए । तिनाउ पश्चिममा पर्ने यो खण्डको काम हालसम्म जम्मा १५ प्रतिशत मात्र भएको छ ।

आयोजनाका प्रमुख इन्जिनियर कुशलता न्यौपानेले वर्षायाम शुरू भएलगत्तै कामदार अभावले गति सुस्ताए पनि चाडबाडपछि तीव्र हुने बताइन् ।

'असार–साउनमा झरीले प्रभावित होला कि भनेर सुस्त–सुस्त काम गरियो तर, अहिले पनि झुक्यायो,' आयोजना प्रमुख इन्जिनियर न्यौपानेले भनिन्, 'अझै केही दिन पानी पर्ने मौसम पूर्वानुमान देखाएको छ ।'

झरीले पुलहरूको अप्रोचमा क्षति भएको र त्यस्ता ठाउँमा डाइभर्सन गरी सवारी आवागमन गराइएको आयोजना प्रमुख न्यौपानेको भनाइ छ ।

सडक खण्डमा दैनिक ७०० जनाभन्दा धेरै मजदुर खटिएर काम गरिरहेका थिए । अहिले परेको झरीले प्रभावित भएको छ र मजदुरको संख्या पनि घटेको छ ।

समयमै काम सक्नका लागि एक हजार जति मजदुरको आवश्यक पर्छ । पुल, कल्भर्ट, अन्डरपास, नाली र वालहरूको निर्माणकार्य चलिरहेको छ ।

वर्षायाममा पुलका केही संरचनामा क्षति पुगेको छ ।

बुटवलदेखि रूपन्देही र कपिलवस्तुको सीमाक्षेत्र कोठीनदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरुसिंगेसम्म २५ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम भइरहेको छ । आयोजनाका फिल्ड इन्जिनियर जिगेशप्रसाद चौधरीले दशैं, तिहार र छठपछि पुरानै रफ्तारमा काम गराउने गरी तयारी भइरहेको बताए ।

सडकखण्डका लागि पहिल्यै तयार पारिएका प्रिकास्ट ड्रेन (नाली) का संरचना सडक किनारमा भण्डारण गरिएको छ ।

पुलहरूमा पाइलिङ र फाउन्डेसनका काम पूरा भएर अन्डरपास, एनिमल क्रसिङ, तीन प्रकारका वाल, पुलका संरचना निर्माणका काम भइरहेका छन् ।

शिलान्यास लगत्तै यो सडक खण्डमा पुलहरूका संरचना निर्माणका काम गर्दै दुई खण्डमा बाँडेर यो सडकको स्तरोन्नतिको काम भइरहेको छ ।

अहिले बुटवलदेखि गोरुसिंगेसम्म दुई खण्डमा विभाजन गरेर आरसीसी रिटेनिङ वाल, बक्स कल्भर्ट, बक्स ब्रिज, एनिमल क्रसिङ स्ट्रक्चर र पुलहरूको फाउन्डेशनको काम धमाधम भइरहेको छ । यस्तै, प्रिकास्ट ड्रेन, प्रिकास्ट कर्बस्टोन, भेहिकल अन्डरपास र आरई वाल तथा प्रिकास्ट ग्रेडरका काम भइरहेका छन् ।

यो सडकखण्डमा सबैभन्दा लामो पुल ३०० मिटरको वाणगंगा नदीमा बनिरहेको छ । पुलको सबैभन्दा जटिल काम पूरा भएको र अब बाँकी कामका लागि तयारी संरचनाहरू ल्याएर फटाफट जडान गर्न मिल्ने गरी आधार तयार भएको र त्यसका लागि धेरै समय नलाग्ने इन्जिनियर चौधरीले बताए ।

तिनाउ पश्चिम पर्ने बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक चार लेनमा विस्तार गर्दा अन्य सडक निर्माणमा जस्तो जथाभावी खनेर नभत्काई दुवैतर्फको छेउबाट विस्तार गरिएको छ । जसले गर्दा पूर्व–पश्चिम खण्डमा पर्ने यो सडकमा यात्रा गर्ने सवारी र यात्रुले सास्ती खेप्नुपरेको छैन ।

बुटवल–नारायणगढ सडक निर्माण गर्दा एकैपटक सबै सडक भत्काएर काम शुरू गर्दा धूलो, हिलो र सवारी आवागमनमै असहजता उत्पन्न हुँदा चौतर्फी आलोचनापछि यो सडक निर्माण गर्दा कालोपत्रे रहेको भागलाई नभत्काई पहिले दुवै छेउबाट विस्तार थालिएको हो ।

तत्कालीन राजा महेन्द्रको पालामा वि.सं. २०१९ सालमा निर्माण गरिएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिंगे सडकखण्ड ६ दशकपछि नयाँ निर्माणका लागि चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले ठेक्का लिएको छ ।

१३ अर्ब ५५ करोड ९५ लाखमा काम पूरा गर्ने गरी गत असार १३ गते ठेक्का लगाइएको थियो । ठेक्का लागेको मितिले ३ वर्षभित्र सडक निर्माण सक्ने सम्झौता छ । सडक विस्तारका लागि निर्माण कम्पनीले अहिले नापजाँच शुरू गरेको छ ।

यो राजमार्ग निर्माण भएको करिब ६२ वर्षपछि अहिले विस्तार हुन लागेको छ । विस्तार गर्दै यसलाई पश्चिम महेन्द्रनगरसम्मै पुर्‍याउने लक्ष्य छ । अहिलेको चरणमा गोरुसिंगेसम्मको करिब ५० किलोमिटरमा काम शुरू भएको छ भने, लगत्तै चन्द्रौटासम्मको सडक विस्तारको प्रक्रिया अगाडि बढाउने संघीय सरकारको तयारी छ । अहिले गोरुसिंगे–चन्द्रौटा सडकखण्ड १९ किलोमिटरका लागि डिजाइन सकिएको छ ।

अहिले विस्तार भइरहेको सडक खण्डमा ६ ठाउँमा 'भेहिकल अन्डरपास' बनाइने भएको छ । बाक्लो बस्ती भएका शहरी क्षेत्रका चोकहरूमा सडकलाई ५० मिटरमा फराकिलो बनाइने र रणनीतिक सडकहरू जोडिने क्षेत्रमा अध्ययनपश्चात गाडी नै वारपार गर्न मिल्ने गरी 'भेहिकल अन्डरपास' निर्माण गरिने आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेले जानकारी दिइन् ।

जीतगढी–बेलबास चोक, नयाँगाउँ चोक, तामनगर चोक, सैनामैनाका मुर्गिया बजार र बुद्धनगर चोक तथा कपिलवस्तुको चार नम्बर जीतपुर चोकमा यस्ता 'भेहिकल अन्डरपास' बन्ने छन् ।

यस्तै, सडक खण्डमा करिब १९ वटा अन्डर र ओभरपासका पुल पैदल यात्रुका लागि बनाइने छ । अहिले निर्माण कम्पनीले पुल बनाउने तिनै चोकहरूमा माटो परीक्षण गरिरहेको छ ।

सडक खण्डमा वनक्षेत्र पनि पर्ने भएकाले वन्यजन्तुमैत्री बनाउने गरी डिजाइनका काम भइरहेका छन् । यो सडकअन्तर्गत सालझन्डी–पिपरा खण्डमा जंगल क्षेत्र छ । बनगाई–गोरुसिंगे सडक खण्डमा पनि जंगल क्षेत्र पर्छ ।

विस्तारपछि सडक फराकिलो हुने र सवारीसाधनको गति पनि बढी हुने हुँदा वन्यजन्तु आवतजावत गर्दा अवरोध नहोस् र उनीहरूलाई कुनै प्रकारको क्षति नहोस् भनेर अन्डरपाससहित सडक विस्तार गर्न लागिएको हो ।

जंगल क्षेत्रमा १९ वटा एनिमल अन्डरपास बनाइने भएको छ । १९ मध्ये सालझन्डी–पिपरा खण्डमा चारवटा बनाइने छ । कोइलीघेरुवा–बनगाई–गोरुसिंगे जंगलमा १० वटा अन्डरपास बनाइनेछ । जंगल रहेको क्षेत्रमा सडकलाई २४ मिटरको बनाउने र ठाउँ–ठाउँमा वन्यजन्तु वारपार गर्न अग्ला पुल बनाइनेछ । वन क्षेत्रका अतिरिक्त बस्ती भएका ठाउँमा भने सडक त्यसको दोब्बर फराकिलो हुनेछ ।

५० किमी सडकमध्ये ३० किलोमिटरमा भने दुवैतर्फ सर्भिस लेनसहितको ६ लेनमा निर्माण हुनेछ । जंगल क्षेत्र पर्ने सालझन्डी–पिपरा र बनगाई–गोरुसिंगेसम्म करिब २० किलोमिटर छ । त्यहाँ सर्भिस लेनविनाका अर्थात् ४ लेनको सडक बन्नेछ भने एनिमल अन्डरपास र भेहिकल पासका संरचना बन्नेछन् । आयोजनाका अनुसार ४ लेनको सडक ३७ मिटर र शहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडा बनाउने काम भइरहेको छ ।

सडकसँगै बुटवलको तिनाउ नदीमा आकर्षक सिग्नेचर पुल निर्माण गरिने भएको छ । विभिन्न देशका पुल विज्ञहरूसँगको परामर्शमा पुलको आर्किटेक्ट र स्ट्रक्चर डिजाइन तयार भएको छ । अत्याधुनिक पुलको डिजाइन तयारसँगै बुटवलमा जनप्रतिनिधिहरूसँग विभिन्न चरणमा छलफल पनि भइसकेका छन् ।

बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) खेलराज पाण्डेयले विश्व बैंकका प्रतिनिधिसँग पुल निर्माणमा उपमहानगर सहकार्य र सहजीकरण गर्ने बताए । पुल निर्माणका क्रममा आवश्यक पर्ने जग्गा व्यवस्थापन र पुल आसपासको क्षेत्रको बस्तीका बारेमा थप अध्ययन गरेर निर्णय गर्ने जानकारी गराएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्