
स्वास्थ्य र शिक्षा सुधारको मागले उग्र बनेको जेनजी आन्दोलन उत्तर अफ्रिकी देश मोरक्कोमा हिंसात्मक बनेको छ । प्रदर्शनकारीहरूले राजधानी राबाटमा एउटा बैंक जलाएका छन् भने धेरै पसल र सवारी साधनहरूमा तोडफोड गरेका छन् ।
अगादिर शहरमा प्रहरीको गोली लागेर तीन युवाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । प्रदर्शनका क्रममा एक हजारभन्दा बढी मानिसहरूलाई पक्राउ गरिएको छ । ३५४ जना घाइते भएको समाचारमा उल्लेख छ, जसमा धेरैजसो सुरक्षाकर्मी छन् ।
देशका सरकारी अस्पतालहरूमा सुविधाहरूको गम्भीर अभाव भए पनि मोरक्को सरकारले २०३० फिफा विश्वकप र अफ्रिका कप अफ नेशन्सको लागि १० अर्ब डलर खर्च गरिरहेको छ।
सीएन्एनका अनुसार, युवा नेतृत्वको यो विरोध आन्दोलनलाई जेनजेट २१२ आन्दोलन भनिएको छ। २१२ मोरक्कोको अन्तर्राष्ट्रिय टेलिफोन डायलिङ कोड हो।
नेपाल जस्तै, मोरक्कोमा प्रदर्शनकारी युवाहरूको कुनै एकल नेता छैन। मानिसहरू सामाजिक सञ्जालमार्फत जुलुस गरिरहेका छन् । मोरक्कोमा बेरोजगारी दर १२.८ प्रतिशत छ, युवा बेरोजगारी ३५.८५ र स्नातक बेरोजगारी १९ प्रतिशत पुगेको छ।
मोरक्कोमा प्रत्येक १,४३० जनाको लागि एक डाक्टर छ, जुन विश्वव्यापी औसतभन्दा साढे दुई गुणा कम हो ।
टिकटक र डिस्कर्डजस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूमा आन्दोलन शुरू भएको थियो । गत आइतबार प्रदर्शनकारीहरूको गिरफ्तारीपछि यसले थप समर्थन प्राप्त गरेको रिर्पोटमा उल्लेख छ । पक्राउ पर्नेहरूमा मोरक्कोका स्टार गोलकिपर यासिन बाउनो र प्रसिद्ध र्यापर एल ग्रान्डे टोटो पनि छन्।
यसपछि, बुधबार हिंसात्मक विरोध प्रदर्शनहरू तीव्र भएका हुन् । राजधानी राबाट, मुख्य व्यावसायिक शहर कासाब्लान्का र बन्दरगाह शहर ट्याङ्गियरमा पनि विरोध प्रदर्शनहरू भए । स्थानीय सञ्चारमाध्यमले पर्यटकीय केन्द्र माराकेशमा पनि हिंसा भड्किएको र प्रदर्शनकारीहरूले प्रहरी चौकीमा आगजनी गरेको रिपोर्ट गरेका छन् ।
आन्तरिक मन्त्रालयका प्रवक्ता रशिद अल खल्फीले अशान्तिपछि मोरक्कोभरि ४०९ जनालाई हिरासतमा लिइएको बताए। २६० भन्दा बढी प्रहरी अधिकारी र २० प्रदर्शनकारी घाइते भएका छन् भने ४० प्रहरी सवारी साधन र २० निजी कारहरूमा आगजनी गरिएको छ ।
यो विद्रोह गत महिना नेपाल, इन्डोनेसिया, फिलिपिन्स र मेडागास्करमा युवा नेतृत्वमा भएका ठूला प्रदर्शनहरूपछि आएको हो।