
अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडि सुरक्षाकर्मीको संख्या बढाइएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका एक प्रहरी अधिकृतका अनुसार अख्तियार अगाडि सुरक्षाकर्मीको संख्या बढाइएको हो ।
जेन–जी समूहले अख्तियारका प्रमुख आयुक्त र आयुक्तहरूको राजीनामा माग गरिरहेका बेला सुरक्षा सतर्कता बढाइएको हो ।
राजीनामा नदिए अख्तियार अगाडि प्रदर्शन गर्ने चेतावनी जेनजी समूहले दिएका थिए ।
जेनजी समूहले राइमाथि राजीनामा गर्न इमेलमार्फत् दबाब दिएका छन् । जेनजी समूहले अख्तियार प्रमुख राई नक्कली भुटानी शरणार्थी तथा वाइडवडी खरिदलगायत विभिन्न भ्रष्टाचार काण्डमा मुछिएको आरोप लगाएको छ ।
‘चयनमुखी अनुसन्धान’ गरेको भन्दै राइमाथि अनुसन्धान गर्नुपर्ने विशेष अदालतको आदेशलाई समेत आधार बनाएर जेनजी समू्हले राजीनामा गर्न राईलाई दबाब दिएको थियो ।
केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा अध्यादेशमार्फत् गरिएको नियुक्ति संविधानसम्मत् नभएको जेनजीको दबाब पत्रमा उल्लेख छ ।
राजीनामा नगरे कार्यालयमै उपस्थित भएर दबाब दिने जेनजी समूहको चेतावनीपछि अख्तियार कार्यालय बाहिर विशेष सुरक्षा बढाइएको हो ।
जेनजी समूहले राजीनामा गर्न आग्रह गर्दै आजै राईलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।