
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध सोमबार जाहेरी लिएर पुगेका जेनजी अगुवा सुधन गुरुङलाई प्रहरीले फर्काइदिएको २४ घण्टा नपुग्दै प्रदर्शनमा मारिएकाका आफन्त प्रहरीमा अर्को जाहेरी लिएर पुगेका छन् ।
सोमबार गुरुङले शुरू एमाले अध्यक्ष समेत रहेका ओली र कांग्रेस नेता लेखकलाई पक्राउ गर्नुपर्छ भन्दै सामाजिक सञ्जालमा ट्रेन्ड चलाएका थिए । पछि प्रहरी प्रमुख, गृहमन्त्री हुँदै प्रधानमन्त्रीसम्मलाई गुहार्दा पनि प्रहरी नेतृत्व टसमस नहुँदा जाहेरी दर्ता स्थगन भएको थियो । आफ्नो अडानमा ‘ब्रेक’ लागेपछि गुरुङले अर्को जुक्तिसहित मंगलबार मृतक र घाइतेका आफन्तलाई अगाडि सारे ।
गुरुङ सोमबार शुरूमा गृह मन्त्रालयमा पुगेर गृहमन्त्री ओम प्रकाश अर्याललाई भेटेर जाहेरी लिई जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेका थिए । एक्कासी ओली र लेखकविरुद्ध जाहेरी आएपछि परिसरले तालुक निकाय काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, एआईजी दानबहादुर कार्कीलाई जानकारी गरायो ।
कार्कीले ‘अहिले होल्ड गर्ने, माथि कुरा गर्छु’ भनेपछि परिसरले ‘दर्ता गर्ने आदेश छैन’ भन्दै गुरुङलाई फिर्ता पठायो । गृहमन्त्रीको समेत टेबल ठोक्ने गुरुङले आफूलाई प्रहरीले नटेरेको भन्दै ‘भोलि देखाइदिन्छु’ भनेर परिसरबाट बाहिरिए सिधै फेरि गृह मन्त्रालय छिरेका थिए ।
प्रहरी प्रमुख चन्द्रकुबेर खापुङ, एआईजी कार्की, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख, एआईजी मनोज केसी लगायत प्रहरी अधिकृत गृहमन्त्रीको कार्यकक्षमा थिए । गुरुङ सिधै गृहमन्त्रीको कार्यकक्षमा छिरेर ‘प्रहरीलाई यो जाहेरी दर्ता गर्न निर्देशन दिनुस्’ भन्दै कड्किए ।
गृहमन्त्री अर्यालले प्रहरी प्रमुख खापुङलाई ‘तपाईंलाई यो जाहेरी दर्ता गर्न कुन कानूनले रोक्यो ?’ भनेर गुरुङकै अघि प्रश्न गरे । जवाफमा खापुङले यसरी जाहेरी दर्ता गर्दै जाने र सडकमा भोलि दलको प्रदर्शन आएपछि रोक्न नसक्ने तथा अवस्था झन् भयावह हुने उल्लेख गरे । त्यहाँ झण्डै एक घण्टाको छलफलपछि प्रधानमन्त्री सुशीला कार्कीलाई नै सोधेर अगाडि बढ्ने निष्कर्ष निकालिएको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले बताए ।
त्यसपछि राति साढे १० बजे गृहमन्त्री अर्याल र सुरक्षा निकायका अधिकारीहरू बालुवाटार पुगे । त्यहाँ जेनजीका अन्य अगुवा पनि थिए । अनि, प्रहरी प्रमुख खापुङले प्रधानमन्त्री कार्कीसँग ओली-लेखक लगायतलाई प्रकाउ गर्नु भन्ने आदेशको लिखित माग गरे । प्रधानमन्त्री कार्कीले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको आयोगले छानबिन गरिरहेकाले अहिले तत्कालका लागि आयोगलाई नै सबै जिम्मेवारी दिने बताइन् ।
पढ्नुहोस् यो पनि- ओली-लेखकविरुद्धको जाहेरीबारे बालुवाटारमा मध्यरातसम्म छलफल, प्रहरीले माग्यो लिखित आदेश
छलफलमा गृहमन्त्री अर्यालले जाहेरी दर्ता नगरे जेनजीहरू चुप नलाग्ने र प्रदर्शनमा उत्रिने भएकाले ‘अहिले दर्ता गरेर जाउँ’ भन्न थाले । आईजीपी खापुङले ‘दल र जेनजी भिडाएर फेरि रक्तपात मच्चाउने हो र ? यस्तो बेला जेनजीलाई सम्झाउनुपर्छ, यो काम हजुरबाटै हुनुपर्छ’ भन्दै गृहमन्त्रीलाई सुझाए ।
खापुङको कुरामा प्रधानमन्त्री कार्कीले पनि सहमति जनाइन् । त्यसपछि राति सवा ११ बजे बालुवाटारबाट अर्यालसहित प्रहरीका सुरक्षा अधिकारीहरू बाहिरिए ।
मंगलबार दिउँसो परिसरमा जाहेरी लिएर सुधनकै सहयोगी पुगे । साथमा जेनजीकै प्रदर्शनमा मारिएकाका र घाइतेका आफन्त थिए । जाहेरी उनीहरूलाई नै लिन लगाइएको थियो । लामो छलफलपछि जाहेरी प्रहरीले बुझ्यो । तर, उक्त जाहेरी गौरीबहादुर कार्कीकै नेतृत्वको आयोगलाई बुझाउने भनिएको छ ।
यसैबीच, आफ्ना पार्टी अध्यक्षविरुद्ध जाहेरी परेपछि अनेरास्ववियुका नेताहरू चुप बस्न सकेनन् । उनीहरूले पनि जेनजीको प्रदर्शनलाई उकास्ने, प्रदर्शनको योजनाकार, सिंहदरबार र अदालत जलाउन उकास्ने लगायतका हर्कतमा संलग्न रहेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह र जेनजी अगुवा भनिएका सुधन गरुङविरुद्ध जाहेरी दिए ।
अनेरास्ववियुका महासचिव दीपक धामी, पूर्वअध्यक्ष समिक बडाल लागयतको टोली जाहेरी लिएर प्रहरी परिसर काठमाडौंमा पुगेको थियो । प्रहरीले यो जाहेरी पनि आयोगमै दिने तयारी गरेको छ । प्रहरीले अखिलका नेताहरूलाई सरकारी वकिलसँग परामर्श गरेर मात्रै दर्ता गर्ने वा नगर्ने जवाफ दिने बताएको छ ।
आफूहरूले यसका लागि २४ घण्टासम्म कुर्ने धामीले बताए । ‘प्रहरीलाई तपाईंहरूले दर्ता गर्नुभएन भने दरपीठ गरेर निस्सा दिनुस् भनेका छौं, २४ घण्टा कुर्छौं, भएन भने अर्को कदम चल्छौं’, धामीले भने ।