२३ असार २०८३, मंगलबार
खर्च कटौती प्रस्ताव अस्वीकार

खर्च कटौती गर्ने संघीय सरकारको निर्णयलाई कोशीको चुनौती

मुख्यमन्त्री कार्की भन्छन्- हामीले आफ्नो निर्णय र कानुनअनुसार गर्ने हो
असोज २३, २०८२
विराटनगर
खर्च कटौती गर्ने संघीय सरकारको निर्णयलाई कोशीको चुनौती

संघीय सरकारले गरेको खर्च कटौती र आर्थिक मितव्ययितासम्बन्धी निर्णयलाई कोशी प्रदेश सरकारले चुनौती दिने भएको छ । सचिवालय, स्वकीय र राजनीतिक नियुक्ति हटाउने संघीय सरकारको निर्णय कोशीमा भने कार्यान्वयन नहुने भएको हो । 

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार आफ्नै कानून र निर्णयअनुसार चल्ने भन्दै संघीय सरकारको निर्देशन मान्य नहुने बताए । संघीय सरकारको निर्णय प्रदेशले मान्नुपर्ने बाध्यता नरहेको उनको भनाइ छ । ‘संघीय सरकारले गरेको निर्णय त हामीले के भन्नु र ?’ उनले भने, ‘हामीले आफ्नो निर्णय कार्यान्वयन आफ्नो कानुनअनुसार गर्ने हो ।’

संघीय सरकारले जेनजी आन्दोलनपछि खर्च कटौती गर्ने भन्दै मुख्यमन्त्री र मन्त्रीहरूले सचिवालयमा ३ जना मात्र राख्न पाउने, सल्लाहकार राख्न नपाउने, सांसदहरूको स्वकीय सचिव खारेज गर्ने, दरबन्दीबाहिर नियुक्त गरेका कर्मचारी हटाउनेसहित निर्णय गरेको थियो । यस्तै, सचिवालयको लागि छुट्टै कार्यकक्ष र गाडीसहितका अन्य सुविधा नदिने पनि निर्णय छ ।

संघीय सरकारको निर्णयपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भने तोकिएको मापदण्डभन्दा बाहिर रहेका ६ जना सल्लाहकारलाई पदबाट हटाइसकेका छन् ।

तर, कोशीका मुख्यमन्त्री कार्कीले भने खर्चमा मितव्ययिता अपनाउने संघीय सरकारको निर्णय प्रदेशको क्षेत्राधिकारमाथिको हस्तक्षेप भएको बताए । कार्कीले प्रदेशको खर्च व्यवस्थापनबारे संघीय सरकारले चासो राख्न नपाउने तर्क गरे । ‘मैले तपाईंको घरमा गएर खेतिपाती र व्यवहार मिलाइदिन मिल्छ र ? मिल्दैन नि !’ उनले भने । 

प्रदेशमा अनावश्यक खर्च, गाडी दुरुपयोग वा बजेट दुरुपयोग भए मात्र बजेट घटाउने भन्दै कार्कीले संघीय सरकारको निर्णयको पछि नलाग्ने अडान लिएका छन् । 

कार्कीले संघीय सरकारको निर्णय नमान्ने बताए पनि उनी नेतृत्वकै मन्त्रिपरिषद्को असोज २ गतेको निर्णय भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खर्च कटौतीसम्बन्धी विस्तृत प्रस्ताव तयार गर्न आर्थिक मामिला मन्त्रालयलाई पत्राचार गरेको पाइएको छ ।

प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेलले कोशी प्रदेश सरकारले खर्च कटौतीका लागि ठोस कदम चालिसकेको बताइन् । असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा महत्वपूर्ण विषयमा प्रस्ताव ल्याउन मन्त्रालयहरूलाई निर्देशन दिएको उनको भनाइ छ ।

प्रदेशका पदाधिकारीहरूको सेवा–सुविधासम्बन्धी ऐनको अनुसूचीमा भएको व्यवस्था संशोधन गर्नुपर्ने भएकाले त्यसको प्रस्ताव ल्याउन आर्थिक मामिला मन्त्रालयलाई जिम्मा दिएको पौडेलको भनाइ छ । ‘ऐनको अनुसूचीमा संशोधनको प्रस्तावसहित खर्च कटौतीलगायतका विषयहरू ल्याउन आर्थिक मामिला तथा योजना मन्त्रालयलाई जिम्मा दिइएको छ,’ उनले भनिन् ।

बाढी–पहिरोबाट क्षतिग्रस्त सरकारी भवनको अवस्थाबारे प्रतिवेदन पेश गर्न भौतिक पूर्वाधार मन्त्रालयलाई र गाडीहरूको क्षति तथा व्यवस्थापनबारे प्रतिवेदन बनाउन आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी दिएको प्रमुख सचिव पौडेलको भनाइ छ । अब बस्ने मन्त्रिपरिषद् बैठकमा खर्च कटौतीसहितका प्रस्ताव पेश हुने उनले बताइन् । 

खर्च कटौतीको प्रस्ताव ल्याउने जिम्मा पाएको आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले भने छलफलको प्राथमिकता निजी सचिव वा सल्लाहकार हटाउने नभएको जिकिर गरे । ‘यो खर्च कटौती भनेको निजी सचिवहरूभन्दा पनि विभिन्न शीर्षकका, विभिन्न ठाउँका अनावश्यक खर्चहरू कति कटाउन सकिन्छ भनेर हो,’ उनले भने । प्रशासनिक खर्च भने कटौती गरेको उनले बताए ।

खर्च कटौतीको निर्णय प्रमुख सचिवसहित कर्मचारी संयन्त्र संघीय सरकारको निर्णय लागू गर्नुपर्ने पक्षमा भए पनि मुख्यमन्त्री र मन्त्रीहरूले त्यसलाई स्वीकार नगर्ने बताएका छन् ।  

कर्णाली प्रदेशमा पनि प्रमुख सचिवले सचिवालय र स्वकीय सचिवको पारिश्रमिक रोक्का गर्न निर्देशन दिँदा मुख्यमन्त्री यमलाल कँडेलले रोकेको सार्वजनिक भइसकेको छ ।

कोशी प्रदेश सभा सचिवालय भने सांसदका स्वकीय सचिवहरूको तलब नपठाउने रणनीतिमा छ । ‘प्रदेश सरकारले कुनै निर्णय नगरे पनि हामी असोज महिनादेखिको तलब स्वकीयको खातामा पठाउँदैनौं’ सचिवालयका एक कर्मचारीले भने, ‘तलब दिनेगरी अर्को निर्णय प्रदेशले गरेको अवस्थामा भने मान्न बाध्य हुने छौं ।’

salt training

कमेन्ट गर्नुहोस्