११ साउन २०८३, सोमबार
आईसीसी टी-ट्वान्टी विश्वकप छनोट

नेपाल टस जितेर फिल्डिङमा, जापानलाई पहिले ब्याटिङको निम्तो

असोज २४, २०८२
काठमाडौं
नेपाल टस जितेर फिल्डिङमा, जापानलाई पहिले ब्याटिङको निम्तो

ओमानमा जारी आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

नेपालले टस जितेर जापानलाई पहिले ब्याटिङ गर्न निम्तो दिएको हो । खेल नेपाली समय अनुसार अपरान्ह सवा ४ बजे शुरू हुनेछ ।

नेपाल र जापान यसअघि नै समूह ‘बी’ बाट ‘सुपर–६’ चरणमा पुगिसकेका छन् । 

शुक्रबारको खेल यी दुबै टोलीका लागि निकै महत्वपूर्ण छ । यो खेलमा विजयी हुने टोली आफ्नो समूहको विजेता बन्दै ‘सुपर–६’ चरणमा पुग्नेछ । पराजित हुने टोली उप–विजेताका रुपमा अगाडि जानेछ ।

यसका अतिरिक्त, शुक्रबारको खेलमा जित निकाल्दै समूह विजेता बन्ने टोलीले ‘सुपर–६’ चरणमा प्रवेश गर्दा दुई अंक पनि सँगै लैजाने छ । सम्बन्धित टोलीका लागि यो दुई अंक ‘सुपर–६’ चरणमा निकै महत्वपूर्ण सावित हुनेछ ।

समूहगत चरणको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो । जापानले पनि आफ्नो पहिलो खेलमा कुवेतलाई नै पाँच विकेटले पराजित गरेको थियो । लगातार दुई हारपछि कुवेत भने छनोटको होडबाट बाहिरिसकेको छ ।

एसिया–प्रशान्त क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा नौ टोली सहभागी छन् । प्रारम्भिक चरणमा नौवटा टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट पहिलो र दोस्रो हुने टोली ‘सुपर–६’ चरणमा पुग्ने प्रावधान छ ।

‘सुपर–६’ चरणको खेलको समाप्तिपछि अंक तालिकाको पहिलो, दोस्रो र तेस्रो स्थानमा आउने टोली आगामी टी–२० विश्वकपमा छनोट हुनेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्