२५ असार २०८३, बिहीबार

विषम परिस्थितिमा शान्ति सुरक्षा कायम गर्न लिएको पहलबारे भ्रम नफैलाउन सेनाको अपिल

असोज २४, २०८२
काठमाडौं
विषम परिस्थितिमा शान्ति सुरक्षा कायम गर्न लिएको पहलबारे भ्रम नफैलाउन सेनाको अपिल
फाइल फोटो

नेपाली सेनाले शान्ति सुरक्षाको प्रयासलाई भ्रममा पार्ने गतिविधि भएको भन्दै त्यसबाट टाढा रहन आग्रह गरेको छ ।

शुक्रबार एक अपिल जारी गर्दै सेनाले जेनजी आन्दोलनका क्रममा आन्तरिक सुरक्षामा पर्नसक्ने असरलाई मूल्याङ्कन गरी छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ सेनाले आवश्यकताअनुसार पहलता लिएको जानकारी गराएको हो ।

'गत भदौ २३ र २४ गतेको विषम परिस्थितिलाई सामान्यीकरण गर्ने सम्बन्धमा नेपाली सेनाले वहन गरेको भूमिकाप्रति विद्वतवर्ग, समाजसेवी, सञ्चारकर्मी तथा आम नागरिकहरूबाट प्राप्त भएका विभिन्न रायसुझाव तथा समालोचनात्मक अभिव्यक्ति प्रति हार्दिक आभार व्यक्त गर्दछौं । आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढंगले मूल्याङ्कन गरी छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकताअनुसार पहलता लिएको अवगत गराउन चाहन्छौं,' सेनाको अपिलमा भनिएको छ ।

साथै सेनाले नेतृत्वलाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी र धारणाहरूप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

'हालको संवेदनशील अवस्थामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संस्था र नेतृत्वलाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी र धारणाहरू सम्प्रेषण भएकोमा नेपाली सेनाको ध्यानाकर्षण भएको छ । नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको तथ्य समेत जानकारी गराउँदछौं,' अपिलमा थप भनिएको छ ।

साथै सेनासम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न पनि सेनाले आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्