
नेपाली सेनाले शान्ति सुरक्षाको प्रयासलाई भ्रममा पार्ने गतिविधि भएको भन्दै त्यसबाट टाढा रहन आग्रह गरेको छ ।
शुक्रबार एक अपिल जारी गर्दै सेनाले जेनजी आन्दोलनका क्रममा आन्तरिक सुरक्षामा पर्नसक्ने असरलाई मूल्याङ्कन गरी छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ सेनाले आवश्यकताअनुसार पहलता लिएको जानकारी गराएको हो ।
'गत भदौ २३ र २४ गतेको विषम परिस्थितिलाई सामान्यीकरण गर्ने सम्बन्धमा नेपाली सेनाले वहन गरेको भूमिकाप्रति विद्वतवर्ग, समाजसेवी, सञ्चारकर्मी तथा आम नागरिकहरूबाट प्राप्त भएका विभिन्न रायसुझाव तथा समालोचनात्मक अभिव्यक्ति प्रति हार्दिक आभार व्यक्त गर्दछौं । आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढंगले मूल्याङ्कन गरी छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकताअनुसार पहलता लिएको अवगत गराउन चाहन्छौं,' सेनाको अपिलमा भनिएको छ ।
साथै सेनाले नेतृत्वलाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी र धारणाहरूप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
'हालको संवेदनशील अवस्थामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संस्था र नेतृत्वलाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी र धारणाहरू सम्प्रेषण भएकोमा नेपाली सेनाको ध्यानाकर्षण भएको छ । नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको तथ्य समेत जानकारी गराउँदछौं,' अपिलमा थप भनिएको छ ।
साथै सेनासम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न पनि सेनाले आग्रह गरेको छ ।