
फिफा विश्वकप छनोट फुटबलको आफ्नो पछिल्लो खेलमा जर्मनीले सजिलो जीत हात पारेको छ । जर्मनीले शनिबार बिहान सम्पन्न खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी लक्जम्बर्गलाई ४–० गोलले हराएको हो ।
जर्मनीको जितपछि विश्वकप छनोटअन्तर्गत युरोपेली क्षेत्रको समूह ‘ए’ तालिकाको समीकरण रोचक मोडमा पुगेको छ । उक्त समूहमा रहेका चारमध्ये तीन टोलीले समान ६ अंक बटुलेपछि समीकरण रमाइलो बनेको हो ।
चारवटै टोलीले तीन–तीन खेल खेलिसक्दा जर्मनी ६ अंकसहित पहिलो स्थानमा आसिन छ । जर्मनी एक खेलमा स्लोभाकियासँग पराजित भएको थियो । समान ६ अंक बटुलेको उत्तरी आयरल्यान्ड तालिकाको दोस्रो स्थानमा छ ।
स्लोभाकिया पनि ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । समूहमा लक्जम्बर्ग सबैभन्दा कमजोर टोलीको रूपमा देखिएको छ । लक्जम्बर्गले हालसम्म तीनवटै खेलमा पराजय भोगेको छ ।
घरेलु मैदानमा शनिबार बिहान खेलिएको लक्जम्बर्ग विरुद्धको खेलमा जर्मनीका लागि जोशुआ किमिचले दुई गोलको योगदान गरे । डेभिड राउम र सेर्गी ग्नाब्रीले पनि एक–एक गोल गरे ।
खेलका क्रममा लक्जम्बर्ग १० खेलाडीमा समेटिएको थियो । निर्धारित समयको २०औँ मिनेटमै लक्जम्बर्गका डिर्क कार्लसन रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
सोही समूहको अर्को खेलमा उत्तरी आयरल्यान्डले स्लोकाभियाकालाई २–० गोलले हरायो । उक्त खेल उत्तरी आयरल्यान्डको घरेलु मैदानमा खेलिएको थियो । जारी विश्वकप छनोटमा स्लोभाकियाको यो पहिलो हार हो ।