२३ असार २०८३, मंगलबार
जेनजी आन्दोलनपछिको परिस्थिति

दुई अतिवादविरुद्ध 'अढाइ फ्रन्ट'मा नागरिक !

असोज २६, २०८२
काठमाडौं
दुई अतिवादविरुद्ध 'अढाइ फ्रन्ट'मा नागरिक !

सामान्य आँखाले हेर्दा राजनीतिक इतिहासमा आउने आँधीबेहरीहरू बडो गर्जनाका साथ आकस्मिक र अप्रत्याशित रूपमा प्रकट हुने गर्छन्। तर, तिनको पृष्ठभूमि दशकौं दशकअघिका घटनाक्रमसँग पोखिँदै, ठोक्किँदै र हुत्तिँदै आएको हुन्छ। तिनको अलिखित स्क्रिप्ट प्रत्येक नागरिकको मनमा गढ्दै र बढ्दै गएको हुन्छ। राज्यतन्त्रमा देखापर्ने भ्रष्टाचार, स्वेच्छाचार र अत्याचार जब बिस्तारै मादकताले लट्ठ क्यासिनोका नर्तकीभन्दा भल्गर हुन थाल्छ, ठीक त्यहीबेला आम नागरिकमा घृणाको स्तर पनि आफ्नो चरम सीमामा पुग्छ।

समय एकैसाथ समानान्तर रेखामा प्रकट हुन्छ। सत्तासीनहरू अहंकार, दम्भ र उन्मादको क्लाइमेक्समा हुन्छन् भने भुइँमान्छेहरू निराशा, दिक्दारी र डरत्रासको चरण पार गर्दै शासकका विरुद्ध आक्रोशका क्लाइमेक्समा हुन्छन्। शासक अहंकारको त्यो घोडाबाट यसरी गर्जन्छ मानौं उसको त्यही रौबदार फर्मानबिना अब पातहरू हल्लिने छैनन्। निकट समयमै हावाले शासकसँग अनुमति लिएर मात्रै चल्ने कबुलनामा गर्नुपर्ने छ। भुइँमान्छेहरू यसरी जुर्मुराउँछन् मानौं उनीहरूको रगतले मानव जातिको इतिहासकै भयानक प्रलय सिर्जना गर्नेछ र त्यो शासकको चिहानमा गएर रोकिने छ। यही उत्कर्षको संघर्षले सत्ता परिवर्तनको निर्णायक ढोका खोल्छ।

यस्ता संघर्षहरू अक्सर नागरिकको स्वस्फूर्त आयोजनामा हुन्छन्। कहिलेकाहीँ ती कुनै दर्शन, वाद वा विचारधाराको पक्षका रूपमा प्रकट हुन्छन्, त्यसको नेतृत्व तिनका नेताहरूले गर्छन्। कहिलेकाहीँ ती असंगठित विद्रोहको भुल्काका रूपमा आउने गर्छन्।

नेतृत्वविहीन हुँदा ती तुहिने खतरा हुन्छ। कहिलेकाहीँ ती सामाजिक मनोविज्ञानका जगमा प्रायोजित खालका हुन्छन्। त्यसको डिजाइन, रणनीति, लक्ष्य र भविष्यका लागि जसले पूर्व फन्डिङ गर्छ उसैको इशारामा त्यस्ता आन्दोलनहरूको दशा र दिशा तय हुन्छ।

असंगठित, लक्ष्यविहीन र आक्रोशको उत्कर्षका रूपमा अभिव्यक्त हुने त्यस्ता आन्दोलन वा विद्रोहमा मौकामा चौका हान्न आइपुगेका केही थान टाठाबाठा र प्रायोजित मानिसहरूको हातमा जब सत्ताको बागडोर पर्छ, तिनले आफ्ना पूर्ववर्ती शासकको भन्दा लाखौं गुणा मुलुक खरानी बनाउँछन् र त्यही बाँकी खरानी उडाउने आँधी सृजना गर्न पनि ती कसैको गोटीका रूपमा परिचालित भइरहन्छन्। हामी आकस्मिक र अप्रत्याशित राजनीतिक आँधीको निशानामा पर्‍यौं, सत्य कुरा यही हो। त्यसका आयोजक र प्रायोजक को थिए? त्यो पछि छलफल गरौंला, समीक्षा गरौंला र पाठ सिकौंला। यस पृष्ठभूमिका लागि मलिलो जमिन उपलब्ध गराउने भने हामी नै थियौं, यसमा कुनै लेकिन परन्तु गर्न आवश्यक छैन। तर, अब अगाडिको बाटो कसरी तय गर्ने? कसले के भूमिका पूरा गर्ने, खासगरी नागरिकहरूको भूमिकालाई कति महत्त्व दिने र नागरिकहरू भूमिका खेल्न कति जागरूक हुने ? मुख्य विषय यही हो।

यतिबेला नागरिकले अढाइ फ्रन्ट वार एकैसाथ लड्नु परेको छ। निःशस्त्र, निहत्था र निमुखा नागरिकले अढाइ फ्रन्ट वारको सामना गर्न तयार हुने कुरा इतिहासकै असामान्य र विरलै परिघटना हो। एउटा मोर्चामा विध्वंसकारी जत्था छ। त्यसको माग के हो? त्यसको निशाना कता हो? जलेर खण्डहर बनेको, ऐतिहासिक दस्तावेजविहीन, शासन प्रशासनका फर्म्याटविहीन कुरूप र अत्यासलाग्दो सिंहदरबारको भग्नावशेष कब्जा गरेर संसार जितेको भ्रममा रहेको त्यस उत्तेजित जमातलाई आफ्नो वास्तविक धरातलमा ओर्लन कति समय लाग्ने हो अनुमान गर्न कठिन छ।

निर्जीव संरचना बालेर आगो ताप्दै अँध्यारो रातमा विजयको घोडा दौडाउन हौसिएको विद्रोही जमात जनताको लाइफलाइन प्रहरी प्रशासन र अदालतमाथि धावा बोल्न गर्जियो। मुलुक जलिसकेपछि पनि त्यो शान्त छैन। आफ्नै सरकार बनाउँदा पनि त्यो सन्तुष्ट छैन। आँखा चिम्लेर प्रतिशोधको बाटो हिँड्ने धम्कीबाहेक त्यसले राजनीतिक संवाद, सहमति, सहकार्य र सम्झौता पनि एउटा चरणमा पुगेपछि आवश्यक हुन्छन् भन्ने कुरा बोध गर्न चाहेकै छैन। यसको निशाना भ्रष्टाचारी र त्यसको संरक्षण गर्ने दल प्रमुखहरूमाथि हो वा भ्रष्टाचारको बहानामा दलीय व्यवस्था विरुद्ध हो अझै क्लियर छैन। यो लगातार निषेधको बाटोमा छ।

खासगरी मुलुकको यस अपूरणीय क्षतिको पृष्ठभूमि हाम्रा कारणले निर्माण भएको हो, हामीले यस घडीमा नैतिकता प्रदर्शन गर्दै लोकतान्त्रिक मूल्य र आफ्नो व्यक्तिगत आचरणलाई देखाउनुपर्छ भन्ने रत्तिभर महसुस नभएको नेतृत्व पङ्क्ति आफूलाई डेन्टिङ पेन्टिङ गर्दै बडो सिङ्गारपटारका साथ पुनर्बहालीको तरखरमा छ।

सिंहदरबारको धुवाँले तर्साएको समाज र केही घण्टा आतंकित भएका दलमाथि त्यही दृश्य स्मरण गराउँदै दादागिरीकै शैलीमा शासन चलाउने आकांक्षा अब डरलाग्दो महत्त्वाकांक्षामा परिणत भएको छ। महत्त्वाकांक्षाको राजमार्गमा निर्बाध दौडन पाउने आत्ममुग्धता नै यस जमातका लागि सबैभन्दा अहितकर हो। संसारका सबै शक्तिहरूले प्रतिरोधको सामना गर्नुपर्छ। तर, मूलधारको नेतृत्वमा आइपुग्दा पनि निषेध र प्रतिशोधको सिद्धान्तलाई आफ्नो कर्म बनाउने चरित्रले  कहिल्यै सही दिशा दिँदैन। पहिलो प्रतिशोध हमेशा काउन्टर प्रतिशोधको शिकार बन्छ। प्रतिशोधको शृंखला अनन्त हुँदैन। एक निश्चित बिन्दुमा पुगेपछि आफू विजयी भएर पनि प्रतिशोधको बाटो तय गर्ने शक्ति नकरात्मक ऊर्जाका साथ विचलन, विलय र बन्ध्याकरणमा पुगेर टुङ्गिन्छ।

यसर्थ आम नागरिक र नागरिक समाजको एउटा फ्रन्ट लडाइँ विध्वंश र विघटनवादी शक्तिविरुद्ध आवश्यक छ। मैले विध्वंश र विघटनवादी शक्ति यस अर्थमा भनें— मसिनो हिसाब गर्ने हो भने सय अर्ब माथिको सार्वजनिक र निजी सम्पत्तिमा विध्वंश मच्चाइएको छ, यसको परिणाम मुलुकले कम्तीमा आउने पचास वर्षसम्म विपत्तिका रूपमा व्यहोर्नुपर्ने छ। न्याय परिषद्देखि संवैधानिक अङ्गहरू विघटनको कुरा छ। जनताको सुरक्षाको साथी प्रहरी पहिले नै झन्डै विघटित अवस्थामा छ। कतै यी हरकतहरूले सिङ्गो मुलुकलाई विघटनतर्फ त धकेल्दैछैन भन्ने चिन्ता आम वृत्तमा छ। यसर्थ नागरिकको पहिलो फ्रन्ट वार त्यही प्रवृत्तिसँग हो।

दोस्रो फ्रन्ट दलका मठाधीशहरू विरुद्ध जरुरी छ। दशकौं दशक सत्ताको रजगजमा बसेर पद प्रतिष्ठालाई मात्रै जीवनको अक्सिजन ठानेका सदाबहार सत्ताधारीहरू आफ्नो कुर्सीमा फर्कने भगीरथ प्रयत्नमा छन्। निर्देशित लोकतन्त्रद्वारा शासन गरिरहेका उनीहरूलाई एक मिनेट पनि पद छाड्न मन छैन। सत्ता र शक्तिको दुरुपयोगद्वारा दलभित्र आफ्ना भक्तहरूको ठूलै जमात बनाइसकेका उनीहरूलाई पार्टी कमिटीबाट अवरोधको कल्पनासम्म छैन। भक्तहरूबाट अनुमोदन हुन उनीहरूलाई कठिन हुने कुरा पनि भएन।

खासगरी मुलुकको यस अपूरणीय क्षतिको पृष्ठभूमि हाम्रा कारणले निर्माण भएको हो, हामीले यस घडीमा नैतिकता प्रदर्शन गर्दै लोकतान्त्रिक मूल्य र आफ्नो व्यक्तिगत आचरणलाई देखाउनुपर्छ भन्ने रत्तिभर महसुस नभएको नेतृत्व पङ्क्ति आफूलाई डेन्टिङ पेन्टिङ गर्दै बडो सिङ्गारपटारका साथ पुनर्बहालीको तरखरमा छ। परिस्थितिको आवश्यकता र समयको माग भन्दै आफैंले आफ्नो महत्त्व र महिमागान गाउँदै आजीवन नेतृत्वमा रहिरहने मनसायमा अझै कुनै परिवर्तन देखिँदैन। जसलाई पैतलामुनिको जमिन भाँसिएर आफैं डुब्न लागेको थाहा भएन तिनलाई फेरि महान् हस्ती भन्न पर्ने बाध्यतामा तिनका कार्यकर्ता छन्। मानौं कि जेनजी विद्रोह असफल हुनु भनेको उनका सारा काला कर्तुतले वैधानिकता पाउनु हो। जेनजी हारे र बेबी बूमर जितेको शैलीमा विजय उत्सव मनाउनुपर्ने जस्तो। यसर्थ नागरिकको दोस्रो फ्रन्ट वार दलीय मठाधीश प्रवृत्ति विरुद्ध हुनुपर्छ।

ठ्याक्कै भन्दा दुई भयानक प्रवृत्ति— एउटा लोकतन्त्रको आवरणमै रहेर भ्रष्ट, पदलोलुप, दम्भ, अहंकार र व्यक्तिवादको विम्ब बनेको छ, त्यस प्रवृत्तिलाई नागरिकले पुनः अनुमोदन गर्न सक्ने अवस्था छैन। दोस्रो, भ्रष्टाचारविरोधी आवरणमा आएको विध्वंसक जत्था छ, त्यसले मुलुकको इतिहास र वर्तमान दुवै खरानीमा परिणत गर्‍यो। सार्वजनिक सम्पत्ति र निजी सम्पत्ति दुवै एकैसाथ निशाना बनाएको त्यसले उद्यमशीलता, लगानी मैत्री वातावरण, जनताको भौतिक र सामाजिक सुरक्षाको सुनिश्चितता गर्ला भन्ने आशा गर्ने ठाउँ छैन।

लोकतान्त्रिक अभ्यासका सम्पूर्ण मञ्चहरू, राज्यको शक्ति सन्तुलन र पृथकीकरणका केन्द्रहरू ध्वस्त बनाएर सेनासँग वार्ता गर्नुपर्छ भन्नेहरू लोकतन्त्रप्रति प्रतिबद्ध हुनेछन् र तिनले उन्नत राज्य व्यवस्थाको प्रयास गर्नेछन् भन्ने कल्पनासम्म कसरी गर्नु ? दुई अतिवाद— एउटा सत्ता लिप्साको अतिवाद र अर्को विध्वंसात्मक अतिवादका विरुद्धको लडाइँ— संगसंगै गाउँ नगर र शहर बजार जताततै नागरिकको जीउ धनको सुरक्षामा स्वयंसेवी युनिट बनाएर प्रहरी प्रशासन, कर्मचारीतन्त्र र न्यायपालिकाको मनोबल उच्च पार्ने काम पनि फ्रन्टवारकै एउटा सानो हिस्सा हो। त्यसकारण यतिबेला नागरिकले अढाइ फ्रन्ट वारको सामना गर्न नेपाली इतिहासकै अद्वितीय भूमिका निर्वाह गर्नुपर्ने छ। नागरिकको यस भूमिकालाई सहयोगीका रूपमा नागरिक समाज, राजनीतिक दलका इमान्दार कार्यकर्ता र देशप्रेमी बुद्धिजीवीले साथ दिनुपर्ने छ।

आफ्ना यी कार्यभारबाट नागरिक विमुख भए मुलुक अझै रावणको लङ्का जलेझैं जल्छ। देशले महाभारतको कुरुक्षेत्रको रणसङ्ग्रामको दृश्य हेर्दै आफ्नो आँखै अगाडि अस्तित्व नामेट स्वीकार गर्नुपर्ने अवस्था आउनसक्छ। मुलुकलाई रुवाण्डाको अवस्थामा त धकेलिसके तर नागरिक एकता र प्रतिबद्धता भए हामी खरानीबाट उठेर समृद्धिको सपना देखौंला तर मुलुकलाई यतिबेला दुई अतिवादको भुङ्ग्रोबाट बचाउनु नै हाम्रो अहम् कर्तव्य हो।

salt training

कमेन्ट गर्नुहोस्