
नेकपा (माओवादी केन्द्र)ले पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको छ ।
माओवादी नेता राजन दाहालका अनुसार झुठ्ठा सामग्री प्रवाह गरी भ्रम सिर्जना गराउनुका साथै चरित्रहत्या गरेकाले सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले आइतबार ब्यूरोमा उजुरी दिएको हो ।
सुवेदीले एक अन्तवार्तामा जेनजी आन्दोलनको दुई दिनअघि माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको निवासबाट दुई वटा ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाइएको अभिव्यक्ति दिएका थिए ।
प्रचण्ड सचिवालयले सुवेदीको दाबी पुरै गलत र तथ्यहीन प्रचार भएको यसअघि नै बताइसकेको छ ।
‘सामाजिक संजालबाट पार्टी नेतृत्वविरुद्ध चरित्रहत्या गरिँदा गम्भीर साइबर अपराध भएकाले निज देवेन्द्र सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको छ,’ दाहालले सामाजिक सञ्जालमा लेखेका छन्,‘ संयोजकको सचिवालयका तर्फबाट हिजो ब्यूरोमा गरिएको उजुरीमा डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानूनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको छ ।’