२० असार २०८३, शनिबार

भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

असोज २७, २०८२
काठमाडौं
भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित ७ जना र निर्माण सेवा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

'कारागार रानागाउँ नेटीबजार सडक' निर्माणमा अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उनीहरूविरुद्ध ८१ लाख ५३ हजार ६३० रुपैयाँ ५१ पैसा बिगो कायम गरिएको छ ।

आयोगले घर्तीसहित इन्जिनियर मोहन मल्ल, सामाजिक विकास अधिकृत अनिश शाह, कानून अधिकृत प्रकाशकुमार शाही, लेखापाल राजेन्द्रबहादुर कठायत, नायब सुब्बा कृतिबहादुर थापा र थापा-सविन-सुदर्शन जेभी र उक्त जेभीका आधिकारिक प्रतिनिधि थापा निर्माण सेवाका प्रोप्राइटर दीपबहादुर खत्रीविरुद्ध मुद्दा दायर गरेको हो ।

कारागार रानागाउँ नेटीबजार सडकमा मिलेमतो गरी सबैभन्दा बढी अंक कबोल गर्ने थापा-सविन-सुदर्शन जेभीलाई छनोट गरी भ्रष्टाचार गरेको दाबी आयोगको छ ।

आर्थिक वर्ष २०८०/०८१ को संघीय, प्रदेश र स्थानीय सरकारको समपूरक अनुदान अन्तर्गत स्वीकृत कारागार रानागाउँ नेटीबजार सडक निर्माणको लागि २ करोड ८० लाख रुपैयाँ विनियोजन भएको थियो ।

कार्यालयको ठेक्का प्रकृयामा ८ वटा बोलपत्र दाताको आर्थिक प्रस्ताव उनीहरूकै उपस्थितिमा खोलिएको थियो ।

उक्त प्रस्तावमा सफल एक बोलपत्रदाताको अंकमा न्यून कबोल गर्ने बोलपत्रदाताको कबोल अंक ८१ लाख ५३ हजार ६३० रुपैयाँ ५१ पैसा रकम अन्तर गरी गराई नेपाल सरकार/प्रदेश सरकार/भेरी नगरपालिका/सार्वजनिक संस्थालाई गैरकानूनी हानिनोक्सानी पुर्‍याउने र आफू समेतलाई गैरकानूनी लाभ प्राप्ति गर्ने बदनियतले कार्य गरेको अख्तियारको दाबी छ । 

यस्तो छ आयोगको विज्ञप्ति : 

salt training

कमेन्ट गर्नुहोस्