०९ साउन २०८३, शनिबार
सरकारी जग्गा हिनामिना

रंगेली मालपोतको बदमासी– खोप केन्द्रको ७ कठ्ठा जग्गा भारतीय नागरिकको नाममा

असोज २८, २०८२
विराटनगर
रंगेली मालपोतको बदमासी– खोप केन्द्रको ७ कठ्ठा जग्गा भारतीय नागरिकको नाममा

मोरङको सुनवर्षी नगरपालिकामा रहेको सरकारी खोप केन्द्रको जग्गा भारतीय नागरिकको नाममा पुगेको रहस्य बाहिरिएको छ । रंगेली मालपोत कार्यालयका कर्मचारीसँगको मिलोमतोमा व्यक्तिको नाममा नामसारी गरी बेचबिखन समेत भएको हो ।

७ कठ्ठा जग्गा कीर्ते गरी एक भारतीय नागरिकको नाममा दर्ता गरिएको रहस्य खुलेको छ ।

दशकौंदेखि खोप केन्द्रको भोगचलनमा रहेको करोडौं मूल्यको सार्वजनिक जग्गा मालपोतका कर्मचारीसँगको मिलोमतोमा व्यक्तिको नाममा नामसारी गरी बेचबिखन भएको पाइएको सुनवर्षी नगरपालिकाले जनाएको छ ।

null

सुनवर्षी नगरपालिका वडा नं. ९ (साबिक डाईनिया गा.वि.स. वडा नं. ९) मा रहेको कित्ता नम्बर १६६ को ०–७–० (सात कठ्ठा) क्षेत्रफल भएको जग्गा २०३६ असार २७ गते नापी भएको थियो ।

उक्त नापीअनुसार फिल्डबूक २०७४ फागुन २३ गते प्राप्त गर्दा सो जग्गाको जोताहा तथा जग्गाधनी नाम थर महलमा खाली थियो । २०७४ सालमा भने कर्मचारी र बिचौलियाको मिलेमतोमा भारतको बिहार राज्य, अररिया जिल्ला, सिकटी प्रखण्ड, मुरारीपुर निवासी पद्मादेवी गनगाइँको नाममा दर्ता भएको पाइएको हो । उनी भारतमा बस्दै आएको नै ३० वर्षभन्दा बढी भएको सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशीले बताए ।

'पहिला गनगाइँको जन्म यहीँ हो', उनले भने, 'विवाह गरेर गएपछि उहाँले भारतीय रासन कार्ड समेत लिइसक्नुभएको छ ।'

null

सुनवर्षी नगरपालिकाले गत भदौ ८ गते मालपोत कार्यालय रंगेलीलाई पत्र लेख्दै घटनाको छानबिन गर्न र सम्बन्धित कागजात उपलब्ध गराउन भनेको थियो ।

नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने अधिकार आफूमा निहित रहेको भन्दै मालपोत कार्यालयलाई तत्काल अनुसन्धान अघि बढाउन आग्रह गरेको थियो । नगरपालिकाको पत्रपछि अनुसन्धान थालेको मालपोत कार्यालय रंगेलीले उक्त जग्गा कीर्ते गरी व्यक्तिको नाममा लगिएको पुष्टि गरेको छ ।

जग्गाको धनीपुर्जा समेत रद्द गरिएको छ । रद्द गरिएको पत्र मालपोत कार्यालयले नगरपालिकालाई दिएको मेयर राजवंशीले बताए । २०७४ सालमा उक्त जग्गा पद्मा देवी गनगाइँको नाममा श्रेस्तामा चढाइएको देखिन्छ । तर, त्यसको आधार र प्रक्रिया शंकास्पद छ ।

नगरपालिकाले पठाएको पत्रको अंश

जग्गा राजीनामा, नामसारी वा कुन व्यहोराले प्राप्त भएको हो भन्ने कैफियतमा स्पष्ट नभएको कार्यालय प्रमुख सुनिल पौडेलले बताए । अक्षर पनि केरमेट गरिएको र नबुझिने खालको रहेको उनले बताए । उनले कीर्ते कार्यलाई वैधता दिन गरिएको 'हालसाबिक' (नयाँ नापीमा अद्यावधिक) को मिसिल (फाइल) समेत कार्यालयबाट गायब पारिएको बताए ।

पुरानो कित्ता नं. १६६ लाई नयाँ नापीमा कित्ता नं. १२२ मा 'हालसाबिक' गरी रूपान्तरण गरिएको जानकारहरू बताउँछन् । पद्मा देवीको नाममा आएपछि उक्त जग्गालाई ९ टुक्रामा कित्ताकाट गरी बेचबिखन गरिएको छ । यो रंगेली मालपोतको तेस्रो काण्ड हो ।

यसअघि पनि दुईवटा यस्ता काण्ड आएका छन् । कर्मचारी र भूमाफियाको सेटिङमा मोरङ सुनवर्षी–६ मा रहेको १७ कठ्ठाभन्दा बढी ऐलानी जग्गा दर्ता सरकारी अभिलेख (ढड्डा) को पाना च्यातेर व्यक्तिको नाममा लगेको सार्वजनिक भएको थियो ।

null

फर्जी श्रेस्ता कायम गरेर ऐलानी जग्गा व्यक्तिको नाममा ल्याउने रंगेली मालपोत कार्यालयका तीन कर्मचारी र जग्गा आफ्नो नाममा ल्याउने भीमप्रसाद सिंहसहित चारै जनालाई मोरङ जिल्ला अदालतले पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको छ ।

मुख्य योजनाकार भनिएका सुरक्षा गार्ड कामदेव मण्डल, नायब सुब्बा रेवती अधिकारी, कम्प्युटर अपरेटर अर्जुन न्यौपाने र जग्गा हडप्न खोज्ने भीमप्रसाद सिंहलाई पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो ।

यस्तै, सोही मालपोत कार्यालयले रंगेली नगरपालिका–२ (साबिक बबिया बिर्ता–३) मा रहेको हुलाकी राजमार्गसँग जोडिएको १ बिगाहा १९ धुर सरकारी जग्गा पनि व्यक्तिको नाममा लगेको अर्को काण्ड समेत सार्वजनिक भएको छ ।

यसबारे पनि बुझ्ने काम भइरहेको मालपोत कार्यालय रंगेलीले जनाएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्