
दुई वर्षअघि (२०८० मंसिर) मा चितवन राष्ट्रिय निकुञ्जभित्र दुईवटा गैँडालाई वीभत्स ढंगले मारेर खाग तस्करी गर्ने कार्यमा संलग्न ८ जना जेनजी प्रदर्शनको फाइदा उठाएर जेलबाट भागेको पाइएको छ ।
चितवन कारागार चलान भएका चितवनकै माडीका याङ्बो भन्ने इन्द्रबहादुर तामाङ, राप्तीका पासाङ भन्ने आइतसिंह मोक्तान, भरतपुरका सोमराज गुरुङ, रामेछापका शक्तिबल लामा, हेटौंडा मकवानपुरका रमेश खाती र मकवानपुरकै मनहरि गाउँपालिका– ६ का सीताराम थिङ भागेका हुन् । उनीहरू हालसम्म पनि कारागारको सम्पर्कमा आएका छैनन् ।
चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहा अन्तर्गत चपरचुली सुरक्षा पोस्टनजिकै कोर क्षेत्रमा दुईवटा गैँडा खाल्डोभित्र मृत फेला परेका थिए ।
सोही घटनामा संलग्न भएको आरोपमा निकुञ्जले सुरक्षा निकायको सहयोगमा गैँडा मार्ने मुख्य योजनाकार र नाइकेको रूपमा रमेश, शमशेर र सीतारामलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत मुद्दा चलाएको थियो ।
त्यस्तै, गैँडा सिकारीका रूपमा आइतसिंह, उनबहादुर स्याङ्तान र इन्द्रबहादुर रहेको निकुञ्जले बताएको थियो । निकुञ्जले त्यतिबेलै खाग बिक्री वितरण र सिकारीलाई सहयोग गरेको आरोपमा अर्जुन रोका र धनबहादुर गुरुङलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।
एक महिनादेखि योजना बनाएर निकुञ्जभित्र प्रवेश गरी खाल्डो खनेर उनीहरूले गैँडालाई पासो थापेका थिए । खाल्डोमा परेपछि गोली हानी मारेर खाग काटेर लगेको घटना सामान्य थिएन । यो घटनाको अन्तर्राष्ट्रियकरण समेत भएको थियो । नेपालले साइटिस सन्धिमा हस्ताक्षर गरेकाले लोपोन्मुख र साइटिसभित्र परेका जनावरको चोरी/सिकारी नियन्त्रण गर्नुपर्ने हुन्छ । निकुञ्जले यो घटनामा संलग्नलाई पक्राउ गर्न ११ दिन लागेको थियो ।
‘धेरै मेहनत गरेर गैँडा चोरी सिकारी गर्नेलाई पक्राउ गरियो, जेल पनि चलान भए, तर आन्दोलनको फाइदा उठाएर उनीहरू भाग्न फल भए,’ निकुञ्जका एक अनुसन्धान अधिकृतले लोकान्तरसँग भने, ‘गैँडाको चोरी सिकारीको एउटा र्याकेट नै फरार हुँदा फेरि जोखिम बढेको छ ।’
कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचीअनुसार चितवन कारागारबाट मात्रै गैँडाको खाग तस्करी एवं चोरी सिकारी र अन्य वन्यजन्तुको अखेटोपहार बिक्री वितरणमा संलग्न १६ जना कैदीबन्दी सम्पर्कविहीन छन्, जसमा गैँडाको चोरी सिकारी र खाग तस्करीमा संलग्नमध्येका नामुद मकवानपुर सरीखेत– १ का करण मोक्तान भन्ने करण प्रजा, नवलपरासी पूर्व गैँडाकोटका मिनबहादुर गुरुङ भन्ने खङ्गबहादुर गुरुङ, गैँडाकोटकै राजमान थापा मगर, चितवन कालिकाका तारा भन्ने विरमानसिंह प्रजा, सुरेश प्रजा र बझाङ मटेराका प्रकाशराज जोशी समेत चितवन कारागारबाट भागेका छन् ।
चितवन कारागारबाटै हिउँचितुवाको अखेटोपहार ओसारपसारमा संलग्न दुईजना क्रमश: लमजुङस्थित दोर्दी–४ का विजय गुरुङ र गोरखास्थित धार्चे– १ का शासन गुरुङ पनि भागेका छन् ।
सालकको अखेटोपहार ओसारपसारमा संलग्न बर्दघाट –४ नवलपुरका शमुएल नेपाली, सुमित सुनार, शिवसताक्षी– ८ झापाका विवश रोक्का र सोही ठाउँका आशिश लिम्बू पनि कारागारको सम्पर्कबाहिर छन् ।
वन्यजन्तुको चोरी सिकारी एवं ओसारपसारमा संलग्नमध्येका २२ जना केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका हुन् । विभागको सूचीअनुसार सालकको खपेटा ओसारपसार एवं बिक्री वितरणमा संलग्न भई कैद भुक्तान गरिरहेका धादिङ त्रिपुरासुन्दरी गाउँपालिका– ३ का गोपालबहादुर बानियाँ, रामेछाप दोरम्बाका शुकलाल तामाङ, सर्लाही बरहथवाका कुबेरबहादुर स्याङ्तान, दोलखा सैलुङका सुवास तामाङ र सिन्धुपाल्चोक भोटेकोशीका टासी तामाङ जगन्नाथदेवल कारागारबाट भागेका छन् ।
जगन्नाथदेबलबाट भाग्नेमा गैँडा मारी खाग ओसारपसार तथा बिक्री वितरणमा संलग्न भई कारागारमा जेल जीवन व्यतित गरिरहेका भोजपुरस्थित अरुण गाउँपालिका– २ का डम्बरकुमार आले, चितवन कालिका नगरपालिका– ९ का सोमबहादुर चेपाङ, एकसिंगे गैँडाको खाग ओसारपसारमा संलग्न दोलखाको मेलुङ गाउँपालिका– ७ का प्रदीप मगर, गैँडा मारी खाग खरिद बिक्री र कैद भागी भगाएको मुद्दामा रहेका रोल्पा खुङ्ग्रीका अर्जुन सेन ठकुरी र गैँडा मारी खाग चोरी लगेको मुद्दामा रहेका मकवानपुर हेटौँडाका विष्णुबहादुर कार्की पनि फरार छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विभिन्न समयमा पक्राउ गरेर कारागार चलान गरेका अभियुक्तहरू जेलबाट फरार भएका छन् ।
विभागका अनुसार चितुवाको छाला ओसारपसार तथा बिक्रीवितरणमा संलग्न रामेछापको दोरम्बा गाउँपालिका–२ का पासाङ टासी तामाङ, ध्वाँसे चितुवाको छाला ओसारपसार तथा बिक्रीवितरणमा संलग्न रसुवाको कालिका गाउँपालिकाका सञ्जय तामाङ र सोलुखुम्बुको दूधकोशीका सोनाम भन्ने पूर्ण राईसमेत फरार छन् ।
रेड पाण्डाको छाला बिक्रीवितरण गरेको मुद्दाका अभियुक्त झापा बिर्तामोडका आशिष जोगी, बाग्लुङ बरेङका ताराबहादुर थापा, हात्तीको दाह्रा ओसारपसार तथा बिक्रीवितरण मुद्दाका गोरखा सिरानाचोकका सविन गुरुङ, रसुवा उत्तरगयाका टेकबहादुर तामाङ, बाघको छाला बिक्रीवितरण तथा ओसारपसार मुद्दाका तनहुँ देवघाटका विष्णुबहादुर गुरुङ र कस्तुरी मृग चोरी मुद्दामा जेलमा रहेकी नुवाकोटकी माया तामाङ समेत फरार रहेको विभागको सूचीमा उल्लेख छ ।
वन्यजन्तु मुद्दामा फरार सूचीमा रहेकामध्ये एकजना भारतीय नागरिक पनि छन् । जिउँदो कछुवा तस्करी गरेको मुद्दाका भारत पटनाका फैजाल आलम भन्ने शाह फैशल पनि फरार छन् ।
विभागको सूचीअनुसार वन्यजन्तुको अखेटोपहार ओसारपसार तथा बिक्री वितरणमा संलग्न धादिङ खनियाबास गाउँपालिका– १ झार्लाङका सुकबहादुर तामाङ पनि अहिलेसम्म कारागारको सम्पर्कमा आएका छैनन् ।
प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरे राष्ट्रिय निकुञ्ज र प्रहरीले धेरै मेहनत गरेर पक्राउ गरेका तस्कर, सिकारी र बिक्री वितरण गर्ने ठूलो समूह जेलबाट भाग्दा त्यसले थप जोखिम उत्पन्न भएको बताउँछन् ।
‘अहिले जो–जो भागेका छन्, ती सबै वन्यजन्तु तस्करी र सिकारीका नामुद हुन्, कतिपय अवस्थामा प्रहरीले सूचनामा पैसा खर्च गरेर समेत पक्राउ गरेको थियो,’ घिमिरेले लोकान्तरसँग भने, ‘फरारमाथि हाम्रो निगरानी जारी छ ।’