२७ जेठ २०८३, बुधबार
संघीयतापछिको अवस्था

सुक्न थाले पहाडी जिल्ला सदरमुकाम, संघीयता र सडक सञ्जालले नयाँ ठाउँमा बजार

असोज २९, २०८२
बुटवल
सुक्न थाले पहाडी जिल्ला सदरमुकाम, संघीयता र सडक सञ्जालले नयाँ ठाउँमा बजार

दश वर्ष अघिसम्म प्यूठानको सदरमुकाम खलङ्गा यति व्यस्त थियो कि भीडले पैदल हिँड्न पनि गाह्रो हुन्थ्यो । मल्लरानी गाउँपालिकामा पर्ने खलङ्गा बजार आजभोलि सुनसान छ ।

व्यापार व्यवसाय घट्यो, होटलहरू सुनसान भए, किनमेल गर्न आउनेहरू हराए । वि.सं. २०७४ मा मुलुकमा संघीयता आएर सेवा गाउँ–गाउँमा विस्तार भएसँगै नागरिकलाई सदरमुकाम आउनुपर्ने बाध्यता हट्यो ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण, शीतल हावापानी, बसोवासको आकर्षण रहेको खलङ्गा अहिले विशुद्ध प्रशासनिक केन्द्रमा मात्र सीमित हुन पुगेपछि बजार र शहरका गल्ली चकमन्न छन् ।

मुलुकमा स्थानीय तह पुन:संरचनापछि साविकका ४९ वटा गाविस रहेको जिल्लाका विभिन्न पायक पर्ने केन्द्रमा बजार बन्दै गएका छन् । सदरमुकाम भने सन्नाटा छाउने अवस्थामा पुगेको छ ।

वि.सं. २०१८ सम्म एउटै जिल्ला रहेको प्युठान र रोल्पा छुट्टिएर दुई जिल्ला बनेका थिए । आज खलङ्गा अधुरो भविष्यको दोभानमा अल्मलिएजस्तै भएको पुराना स्थानीय व्यवसायी तथा प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष सन्देश आचार्य बताउँछन् ।

'सदरमुकामको व्यापार गाउँ–गाउँमा सर्‍यो,' अध्यक्ष आचार्यले लोकान्तरसँग भने, 'जिल्लाभरका मान्छे आउने खलङ्गा सेन्टर रहेन । व्यापार ८० प्रतिशतसम्म खस्कियो, बिजुवार, बाग्दुला, भिंगरी, चकचके नयाँ बजार बने, अब खलङ्गालाई पर्यटकीय क्षेत्रका रूपमा मात्र विकास गर्न सकिने सम्भावना छ ।'

खलङ्गालाई धेरैले 'स्विट्जरल्यान्ड' को उपमा पनि दिने गरेका आचार्यको भनाइ छ । तत्कालीन राणा शासनको नजरमा खलङ्गाको विशेष महत्त्व थियो । जङ्गबहादुर राणाले आफ्नो पिताको सम्झनामा शिवालय मन्दिर स्थापना गरेका थिए । अहिले ती सांस्कृतिक सम्पदाहरू समेत जीर्ण र संरक्षणविहीन अवस्थामा पुगेका छन् । तीव्र बसाइँसराइ भए पनि प्यूठानको जनसंख्या बढ्न सकेको छैन ।

***

गुल्मीको सदरमुकाम तम्घासले पनि पुरानो साख गुमाउँदै गएको छ । ऋणात्मक जनसंख्या रहेको गुल्मीको सदरमुकाम कतै निकट भविष्यमा 'निर्जीव' शहर बन्ने त होइन भन्ने स्थानीयको चिन्ता देखिन्छ ।

तम्घास बजार सुक्दै जानुको कारण स्थानीय तहसँगै मदन भण्डारी लोकमार्ग सञ्चालनमा आउनुलाई पनि मानिन्छ ।

null

लोकमार्गले जिल्लाका विभिन्न पालिका केन्द्रमा चहलपहल बढाएको छ भने तम्घास सुनसान बन्न पुगेको छ । १२ स्थानीय तह रहेको गुल्मीको पूर्वी क्षेत्रमा पर्ने छत्रकोट, रूरुक्षेत्र, सत्यवती, कालीगण्डकी र चन्द्रकोट गाउँपालिकाका नागरिकलाई सदरमुकाम अपायक पर्छ । उनीहरूलाई सदरमुकाम पुग्नुभन्दा बुटवल झन् सहज र सजिलो छ । सदरमुकाम पश्चिमका पालिकामा लोकमार्गले जोडेपछि सदरमुकाम सुक्न पुगेको हो ।

null

मालिका गाउँपालिकाको केन्द्र अर्खाबाङ बनेपछि बजार विस्तार हुँदा पुरानो व्यापारिक केन्द्र सिमलटारी सुकेको छ । त्यस्तै धुर्कोट गाउँपालिकाको केन्द्र बरबोटमा बजार बन्न थालेको छ भने मदानेको पुर्कोटमा थप बजार विस्तार भएको छ ।

मुसिकोटको केन्द्र बामी पुरानो व्यापारिक केन्द्र अहिले शहरका रूपमा विकास भइरहेको छ । तम्घासमा ८ वर्ष अघिसम्म ३० लाख पर्ने घडेरी अहिले १५ लाखमा पनि बिक्री हुन छाडेका छन् । कुनै बेलाको प्रमुख व्यापारिक केन्द्र बनेको रिडी बजार पनि अहिले सुनसान छ ।

तम्घासका पुराना व्यवसायी मृगेन्द्रप्रसाद शेरचन अहिले तम्घास छोड्ने क्रम निरन्तर बढ्दो र व्यापार व्यवसाय घट्दो रहेको बताउँछन् ।

'अहिले तम्घास पासपोर्ट र नागरिकता बनाउन गाडीमा आएर १ घण्टा बसेर फर्किने ठाउँ मात्र बनेको छ,' व्यवसायी शेरचनले लोकान्तरसँग भने, 'बजारको मुभमेन्ट छैन । ५० प्रतिशत सटर खाली छन् । पूर्वी गुल्मीका लागि इलाका प्रशासन कार्यालय मझुवामा हुँदा तम्घास बजार आउँदैनन् । जग्गा कारोबार पनि छैन । कस्तो थियो, कस्तो भयो, सम्झँदा पनि अचम्म लाग्छ अहिले ।'

स्थानीय सरकार, निजी क्षेत्र र नगरबासीको सहकार्यमा रेसुङ्गालाई प्रवर्द्धन गरी पर्यटक ल्याएर सदरमुकाम फेरि जीवन्त राख्न आवश्यक रहेको उनले बताए ।

null

***

डेढ दशक अघिसम्म १८ घण्टासम्म नसुत्ने अर्घाखाँचीको प्रवेशद्वारको रूपमा रहेको कपिलवस्तुको पत्थरकोट बजार अहिले सुनसान छ ।

बुटवलदेखि पश्चिम पहाड प्रवेशको मूलद्वार मानिने पत्थरकोट गुमनाम भएको छ । सन्धिखर्क जोड्ने मुख्य सडक विस्तारसँगै वर्षौंदेखि पत्थरकोट बजारको अस्तित्व मेटिँदै गएको स्थानीय नारायणप्रसाद बेल्बासे बताउँछन् । 'सिङ्गो अर्घाखाँची, पूर्वी प्यूठान र गुल्मीदेखि रोल्पासम्मको व्यापारिक केन्द्र पत्थरकोट अहिले चकमन्न छ,' ४० वर्षदेखि त्यहाँ बस्दै आएका बेल्बासे भन्छन्, 'पक्की सडक विस्तार हुनुअघि गोरूसिङ्गेबाट पत्थरकोटसम्म यातायातका साधन आउँथे । ५० वटा होटल थिए, नुन र चामलका ठूला–ठूला रास हुन्थे । अहिले केही छैन ।'

ग्रामीण भेगसम्म सडक सञ्जाल जोडिएपछि पुराना बजार सुनसान बनेका छन् भने सडक किनारमा नयाँ बजार खुलेका छन् ।

स्थानीय तहले अरू विकासभन्दा सडकलाई नै प्राथमिकता दिएकाले अहिले सबै जिल्लाका वडामा सडकको पहुँच पुगिसकेको छ । सडकले सबै ठाउँ जोड्दा जिल्लाका मुख्य र पुराना बजार अहिले सुनसान बनेका छन् ।

जनयुद्धका बेला धेरै प्रभावित रोल्पाको सुलीचौर, हलेरी, मध्यपहाडी लोकमार्गसँगै रुकुमपूर्वको खवाङ नयाँ बजार बनेका छन् ।

null

त्यस्तै, कालीगण्डकी करिडोरले पाल्पाको रामपुरलाई ठूलो बनाएको छ । यहाँबाट तनहुँको भीमाद हुँदै काठमाडौं र नारायणगढ जाने दुरी छोटिएको छ । जसले गर्दा रामपुर पहाडी जिल्लाको ठूलो शहरको रूपमा विकास हुँदै गएको छ ।

'जिल्ला टुक्रिएसँगै नवलपरासी (परासी)को बजार ७० प्रतिशत सुक्यो' जनसंख्या र वातावरण क्षेत्रका जानकार युवराज कंडेल भन्छन्, 'बर्दघाटमा इलाका प्रशासन कार्यालय स्थापनासँगै बर्दघाट सुनवल हाइवे क्षेत्रले विकासमा फड्को मार्‍यो ।'

उनले थपे, 'कपिलवस्तुको सदरमुकाम तौलिहवा सुक्यो । ठूलो बजार चन्द्रौटा बनेको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको गोरूसिङ्गेमा इलाका प्रशासन कार्यालय सञ्चालनसँगै तौलिहवा जाने मान्छे कम भए । बजार क्षेत्र हाइवेतर्फ तानियो ।'

पहाडी जिल्लाको घट्दो जनसंख्या र युवा रोजगारीका लागि विदेश वा ठूला शहरतर्फ झर्ने क्रम तीव्र छ । स्थानीय उद्योग र रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्यमा सुधार, यातायात र पूर्वाधार सुधार, प्रशासनिक सेवा विस्तार, पर्यटन र संस्कृतिको उपयोग, पर्यटनले होटल, पसल, यातायात, र रोजगारी बढाउँछ, लगानीका लागि प्रोत्साहन, स्थानीय नेतृत्वको दृष्टि र योजना आवश्यक देखिन्छ । प्रशासनिक भवन, पसल र कार्यालयहरू खुला भए पनि जनताको आवतजावत निकै कम छ ।

नेपाल नगरपालिका महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष खिलध्वज पन्थीले मध्यपहाडी जिल्ला बसाइँसराइबाट आक्रान्त भएको र अब पर्यटन प्रवर्द्धनको योजना आवश्यक देख्छन् ।

रेसुङ्गा नगरपालिकाका प्रमुख (मेयर) समेत रहेका पन्थीले भने, 'पहाडी जिल्लामा रैथाने बाली प्रवर्द्धन, सुन्तला, कागती, कफी खेतीको उत्पादन र बजारीकरण गरेर बजारलाई जोगाउनुपर्छ । सँगै, अब पर्यटनका लागि पनि योजना बनाएर घुम्नको लागि पहाडी जिल्लाका ऐतिहासिक स्थलहरूको विकास जरुरी भयो ।'

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये ६ वटा पहाडमा पर्छन् । जहाँ कतै नयाँ शहर बनेका छन् भने कतै बसाइँसराइले गाउँ खाली भइरहेका छन् । अहिले रुपन्देही, बाँके, दाङ र कपिलवस्तुमा बसाइँसराइ गर्नेहरू बढी छन् ।

null

null

null

salt training

कमेन्ट गर्नुहोस्