
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको लहानस्थित सडक डिभिजन कार्यालयका तत्कालीन डिभिजनल इन्जिनियर (कार्यालय प्रमुख) रवीन्द्रलाल दाससहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले बुधबार विशेष अदालतमा दायर गरेको मुद्दामा दाससँगै तत्कालीन इन्जिनियर शैलेन्द्रकुमार चौधरी र सब-इन्जिनियर चन्द्रकान्त चौधरी, धनन्जय/रब्बानी जेभी तथा उक्त जेभीका प्रोप्राइटर जफिर कबारीलाई समेत प्रतिवादी कायम गरेको छ ।
सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ५ चिकनास्थित प्रदेश सरकारको योजनामा सडक डिभिजन, लहानद्वारा निर्माण व्यवसायीलाई काम गराउन दिएको सडक ढलान कार्य योजनामा २ करोड ३४ लाख रुपैयाँ बराबर रकमको गुणस्तरहीन सामग्री प्रयोग गरी मनोमानी ढंगले कार्य सञ्चालन गरी अनियमितता तथा हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ ।
उनीहरूविरुद्ध जनही २ करोड ३४ लाख ९९ हजार ९४५ रुपैयाँ बिगो कायम गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।