२२ जेठ २०८३, शुक्रबार

कात्तिक दोस्रो सातादेखि काठमाडौंमा ‘हरर चलचित्र महोत्सव’

असोज ३०, २०८२
काठमाडौं
कात्तिक दोस्रो सातादेखि काठमाडौंमा ‘हरर चलचित्र महोत्सव’

आगामी कात्तिक दोस्रो सातादेखि ‘काठमाडौं हरर चलचित्र महोत्सव’ हुने भएको छ । नेपालमा पहिलोपटक आयोजना हुन लागेको महोत्सवका लागि १५ देशका २५ उत्कृष्ट ‘हरर’, ‘फ्यान्टेसी’ तथा लोककथा आधारित चलचित्र छनोट भएका छन् । 

अक्टोबर ३१ तारिखमा मनाइने ‘हेलोविन डे’को अवसर पारेर आगामी कात्तिक १४ देखि १६ गतेसम्म  काठमाडौंमा आयोजना हुने उक्त महोत्सवले नेपाली दर्शकलाई अन्तर्राष्ट्रियस्तरका रहस्यमय र डरलाग्दा कथाहरूको अनुभव गराउने आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए ।

उनले भने, 'नेपालमा केही फरक गरौँ भनेर हामीले शुरूआत गर्न लागेका हौँ । रहस्यमय र डरलाग्दा कथाहरूको अनुभव गर्न रुचाउने दर्शकका लागि यो महोत्सव उपयोगी हुनेछ ।'

अध्यक्ष पाठकले विश्वभरबाट प्राप्त एक सयभन्दा बढी चलचित्रमध्येबाट छनोट समितिले गुणस्तर, विविधता र पारदर्शिताका आधारमा १५ देशका २५ चलचित्र छनोट गरेको जानकारी दिए । 'नेपालमा हरर शैलीका चलचित्रको निर्माण कम छ । यो महोत्सवले यसलाई प्रोत्साहन दिँदै दर्शकलाई नयाँ अनुभव प्रदान गर्नेछ । नेपाली लोककथा र संस्कृतिसँग जोडिएका तत्व पनि समावेश हुनेछन्,' उनले भने ।  

महोत्सवका लागि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विज्ञहरू सम्मिलित निर्णायक मण्डलमा प्रसिद्ध फोटोग्राफर राजभाइ सुवाल, चलचित्र समीक्षक होसाम फाह्मी, एलेक्जान्ड्रा एनवर्ग र यास्मिन बुछफार छन् । महोत्सवको मुख्य उद्देश्य नेपालमा ‘हरर’ शैलीका चलचित्रको निर्माण र विकासलाई प्रोत्साहन गर्नु रहेको आयोजक संस्थाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्