
अध्यागमन विभागका सूचना अधिकारी समेत रहेका निर्देशक टीकाराम ढकालको कार्यकक्षमा असोज २९ गते बुधबार दुई महिला आफ्नो पासपोर्ट फिर्ता गरिदिन भनेर बिलौना गरिरहेका थिए ।
असोज २७ गते हवाई टिकट काटेर कतार जान लाग्दा त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृतले ती दुई महिलालाई ‘अफलोड’ (फिर्ता) गरेका रहेछन् ।
अध्यागमन अधिकृतले चेकजाँच गर्दा उनीहरूले पेश गरेको कागजातमा छेडखानी भएको आशंकापछि फिर्ता गरिएको रहेछ ।
त्यसको दुई दिनपछि उनीहरू पासपोर्ट फिर्ता माग्न अध्यागमन विभागका निर्देशक ढकालको कार्यकक्षमा पुगेका थिए । आफूहरू स्वेच्छाले कतार जान लागेकाले पासपोर्ट फिर्ता गरिदिन उनीहरूको माग थियो ।
उनीहरूमध्ये एकजना ओखलढुंगा र एक मोरङका रहेछन् । उनीहरूसँग ढकालले सामान्य सोधपुछ पनि गरे ।
ढकाल : कुन देश जान लागेको ?
महिला : कतार जान लागेको हो ।
ढकाल : किन जान लागेको ?
महिला :त्यसै घुम्न जान लागेको हो । होटलमा बसेर फर्किने हो ।
ढकाल : कति दिनका लागि जान लागेको हो ?
महिला : दुई दिनको लागि ।
ढकाल : कुन होटलको बूकिङ हो ?
महिला: स्काइ ।
ढकाल : कुन सिटीमा त्यो होटल हो ?
महिला : थाहा छैन ।
ढकाल : कसले भिसा अप्लाइ गरेको हो ?
महिला : आफैंले गरेको हो ।
ढकाल : कुन वेबसाइटबाट अप्लाइ गरेको हो ?
महिला : त्यो थाहा छैन ।
ढकाल : होटल बूकिङको कन्फरमेसन नम्बर दिनुस् न त । त्यो दिनुभयो भने म तपाईंहरूको पासपोर्ट अहिल्यै दिन्छु ।
महिला : नम्बर छैन ।
ढकाल : कसले तपाईंहरूको टिकट काटिदिएको हो ? कसले भिसा लगाइदिएको हो ? त्यसको नाम भनिदिनुभयो भने अहिले पासपोर्ट मात्र होइन, ५/५ हजार रूपैयाँ पुरस्कार पनि दिन्छु ।
महिला: होइन त्यो सबै किन चाहियो ? हामी आफ्नो खुशीले, स्वेच्छाले घुम्न जान लागेको हो । त्यसमा तपाईंलाई वा सरकारलाई के मतलब ? त्यसै हामीले काटिसकेको टिकटको दाम अब फिर्ता आउँदैन । त्यत्रो पैसा डुब्यो । त्यत्रो ऋण छ । अब अहिले घर पनि फिर्ता हुन सक्दिनँ ।
त्यसपछि ती दुईमध्येकी एक महिलाका श्रीमान र अर्की महिलाकी दिदी भनिने अर्की एक महिला पनि ढकालको कार्यकक्षमा प्रवेश गरे ।
त्यसपछि एक महिलाले भनिन्, ‘उहाँ मेरो श्रीमान हो । उहाँको सल्लाहमै कतार घुम्न जान लागेको हो । कसैको उक्साहटमा, कसैको प्रलोभनमा जान लागेको होइन ।’
अध्यागमन निर्देशकले पुनः पहिलेकै प्रश्न गर्दा उनका श्रीमानले पनि कुनै जवाफ दिन सकेनन् । पासपोर्ट फिर्ता गरिदिनुपर्यो भन्दै उनले पनि हारगुहार गरे ।
झन्डै २० मिनेटको दोहोरो संवादपछि ढकालले अहिले छानबिन गर्न बाँकी नै रहेकाले आइतबारसम्म त्यसको टुंगो लाग्ने र त्यसपछि फोन गरेर आउन भने । ढकालले एउटा कागजमा आफ्नो नम्बर पनि लेखेर दिए ।
***
त्यसको केही समयपछि फेरि अर्की एक महिला पासपोर्ट माग्न आइपुगिन् । उनलाई पनि अध्यागमन निर्देशक ढकालले माथि जस्तै प्रश्नहरू गरे । घुम्न जान लागेको बताएकी उनले थप जवाफ दिन सकिनन् ।
कतार जान भनेर भिजिट भिसा लगाएकी उनको कागजात शंकास्पद लागेपछि त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट अफलोड गरिएको थियो ।
त्यसक्रममा अध्यागमनका अधिकृतले उनको पासपोर्ट पनि नियन्त्रणमा लिएका थिए । अध्यागमन निर्देशक ढकालका अनुसार माथिका २ सहित यी ३ महिलामध्ये एक जनाको दुईतर्फी (आउने/जाने) टिकट थिएन भने दुई जनाको होटल बूकिङ थिएन ।
उनीहरूको कागजातका विषयमा अध्यागमन विभागले आन्तरिक छानबिन गरिरहेको छ ।
‘आइतबारसम्म आन्तरिक छानबिन सक्छौं । केही समस्या रहेछ भने मैले होइन, प्रहरीले नै अब तपाईंहरूलाई फोन गर्छ । केही समस्या रहेनछ भने मलाई फोन गर्नुहोला । आइतबार तपाईंहरूले पासपोर्ट पाउनुहुन्छ,’ ढकालले उनीहरूलाई एकै खालको जवाफ दिएका थिए ।
***
जेनजी आन्दोलनपछि यूएई, मलेसियासहितका देशले भिजिट भिसामा कडाइ गरेका छन् । अझै पनि कतारलाई ट्रान्जिट बनाएर नेपालबाट कामदारहरू भिजिट भिसामा विदेशिन प्रयासरत देखिन्छन् ।
रामचन्द्र तिवारी अध्यागमन विभागमा महानिर्देशक (जीएम) बनेर गए (साउन) पछि भिजिट भिसामा जानेहरूमाथि कडाइ गरिएको छ ।
कागजात शंकास्पद लागेर अफलोड हुने यात्रुको पासपोर्ट समेत अध्यागमन विभागले जफत गर्ने गरेको छ ।
विभागका निर्देशक ढकालकै नेतृत्वमा विभाग र अन्य कर्मचारी समेतको आन्तरिक छानबिन समिति बनेको छ ।
छानबिनका क्रममा सामान्य त्रुटि मात्र देखिए पासपोर्ट फिर्ता गर्ने गरिएको छ । अन्यथा, थप छानबिनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पठाउने गरिएको ढकालले बताए ।
‘साउनदेखि अहिलेसम्म भिजिट भिसाका नाममा जान लागेका कुल ६ सयभन्दा बढी यात्रुहरूलाई अफलोड गरिएको छ,’ ढकालले लोकान्तरसँग भने, ‘त्यसमध्ये भिजिट भिसा तथा थप कागजातमा छेडखानी गरेको आशंकामा कुल १९९ जनाको पासपोर्ट जफत गरेका छौं ।’
जफत गरिएका १९९ मध्ये २२ जनाको मात्र छानबिन गर्न बाँकी रहेको उनले बताए । अहिलेसम्म केही न केही समस्या तथा त्रुटि देखिएको, भिसासहित कागजातमा छेडखानी गरेको भन्दै १३० जनाको पासपोर्ट थप छानबिनका लागि सीआईबीलाई पठाइएको उनले खुलाए ।
‘सीआईबी जेनजी प्रदर्शनका कारण अन्य काममा व्यस्त हुनुपरेको थियो,’ ढकालले लोकान्तरसँग भने, ‘अब छिट्टै ती सबै पासपोर्टसहितका विषयमा छानबिन गर्ने भन्ने जानकारी पाएको छु ।’
प्रायजसोको वर्किङ भिसाको नम्बरमा छेडखानी गरेको पाइएकाले कीर्ते तथा मानव बेचबिखन अन्तर्गतको कसुरमा सीआईबीले छानबिन गर्न लागेको उनले खुलाए ।
‘गन्तव्य मुलुकको दूतावासले रोजगार डिमान्ड प्रमाणीकरण नगरेको अवस्थामा यहाँ नेपालमा श्रम स्वीकृति प्रदान गरिँदैन,’ ढकालले थपे, ‘त्यस्तो अवस्थामा वर्किङ भिसाको नम्बर नै एडिट गरेर चेन्ज गर्ने, छेडखानी गर्ने गरेको पाइएको छ । त्यसरी भिसामा छेडखानी गरेर भिजिट भिसाको नाममा पठाउन लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन अधिकृतले अफलोड गर्नुका साथै पासपोर्ट समेत जफत गरेर छानबिन गर्ने गरिएको हो ।’
त्यसरी छानबिनमा परेका व्यक्तिहरूमध्ये अधिकांश महिला नै रहेका छन् । नक्कली नाता प्रमाणित गरेको फेक कागजात बनाउने, होटल बूकिङको फेक कागजात बनाउने, आते-जाते दोहोरो हवाई टिकट हुनुपर्नेमा फर्किने टिकट नरहने केसमा त्यस्ता व्यक्तिलाई अफलोड गर्ने गरिएको उनले बताए ।
मलेसिया, यूएई लगायतले भिसामा कडाइ गरेपछि कतार हुँदै घरेलु कामदारका रूपमा कुवेत र ओमान जाने क्रम बढेको छ ।
त्यसैका लागि व्यक्तिलाई म्यानपावर कम्पनीहरूसँगको साँठगाँठमा फेक कागजात बनाएर वर्किङ भिसामा समेत छेडखानी गरी फेक भिजिट भिसा बनाएर कतार जाने गरेको पाइएको हो ।
नेपाल सरकारले महिलाहरूलाई घरेलु कामदारको रूपमा पठाउन प्रतिबन्ध लगाए पनि म्यानपावर कम्पनीहरूको मिलामेतोमा नेपाली नागरिक अवैध बाटोबाट घरेलु कामदारमा जान लाग्दा अध्यागमन विभागले अहिले विमानस्थलबाट मान्छे फर्काउनुका साथै पासपोर्ट समेत नियन्त्रणमा लिएर छानबिन गर्न थालेको हो ।
‘हामीलाई थाहा छ कि हाम्रा सोझासाझा नागरिकलाई म्यानपावर कम्पनीहरूले नै सबै फेक कागजात बनाएर भिजिट भिसाको नाममा घरेलु कामदार बनाउन पठाउन लागेको हो,’ ढकालले थपे, ‘तर, हाम्रो आन्तरिक छानबिनका क्रममा कसैले पनि म्यानपावर व्यवसायी वा एजेन्टको नाम भन्दैनन् ।’
अब सीआईबीले छानबिन गर्यो भने त्यो सबै कुरा खुल्न सक्ने उनले बताए ।