
नेपाल टेलिकमले ग्राहकको मागलाई सम्बोधन गर्न जीएसएम पोस्टपेडमा रिकरिङ सजिलो अनलिमिटेड प्याकेज सञ्चालनमा ल्याएको छ ।
भोलि शुक्रबार (असोज ३१ गते)देखि लागू हुनेगरी जीएसएम पोस्टपेडका लागि सञ्चालन गरिएका सम्पूर्ण सजिलो अनलिमिटेड प्याकेजमा प्याकेजको समयावधि समाप्त भएपछि स्वचालित रूपमा पुन: प्याकेज खरिद हुनेगरी रिनेवल प्याकेज सञ्चालनमा ल्याउन लागेको हो ।
साविकका सजिलो अनलिमिटेड ६९९, ७९९, ९९९, १४९९ र एक्जेक्युटिभ प्याकलाई मुख्य अफरको रूपमा लिएर पहिलोपटक प्याकेज खरिद गर्दा अंग्रेजी महिनाको १५ तारिखलाई आधार मानेर प्रो-रेटको आधारमा रकम काटिने र त्यसपछि प्रत्येक अंग्रेजी महिनाको १५ तारिखमा स्वत: सोही प्याकेज नवीकरण हुने व्यवस्था लागू गरिएको छ ।
अंग्रेजी महिनाको १५ तारिखमा बिलको हिसाब हुँदा प्याकेजको शुल्क भन्दा उपलब्ध क्रेडिट लिमिट पर्याप्त नभएमा सेवा अवरुद्ध हुन जान्छ र भुक्तानीपश्चात् मात्र सेवा सुचारू हुनेछ । यस्ता प्याकेज खरिद गर्ने ग्राहकले उल्लिखित डाटा र एसएमएसले नपुग भएमा सोका लागि अन्य प्याकेज खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
ग्राहहकले बढी वा कम रिसोर्सेजसहितका अन्य रिकरिङ प्याकेज खरिद गर्न चाहेमा वा साविकका नर्मल एसएमएस र डेटा प्याकेज प्रयोग गर्न खोजेमा सो पनि खरिद गर्न सकिनेछ ।
एउटा रिकरिङ प्याकेज चलिरहेको अवस्थामा अन्य रिकरिङ प्याकेज खरिद गरेमा उक्त प्याकेज पेन्डिङ अवस्थामा रहनेछ र पेन्डिङ प्याकेज लगत्तै आउने अंग्रेजी महिनाको १५ तारिखमा मात्र एक्टिभ हुनेछ ।
अन्य नर्मल प्याकेज लिएको हकमा भने भ्यालिडीटी कम रहेको प्याकेजको रिसोर्सेज पहिले प्रयोग हुनेछ । सेवा डिएक्टिभेट गर्न चाहने ग्राहकले जीएसएम पोस्टपेड अफसर (Rs. 300) सब्सक्राइब गरी रिकरिङ सेवा बन्द गर्न सक्नेछन् ।
रिकरिङ सजिलो अनलिमिटेड प्याकेज सुचारू गर्न *1415*2*4# डायल गरी छनोट गर्नुपर्नेछ । थप जानकारीका लागि नेपाल टेलिकमको नम्बरबाट १४९८ मा कल गर्न सकिने कम्पनीका प्रवक्ता रविन्द्र मानन्धरले जनाएका छन् ।