१२ साउन २०८३, मंगलबार
आईसीसी टी–२० विश्वकप छनोट क्रिकेट

आसिफ र दीपेन्द्रको अर्धशतकसँगै नेपालले सामोआलाई दियो २१२ रनको विशाल लक्ष्य

असोज ३१, २०८२
काठमाडौं
आसिफ र दीपेन्द्रको अर्धशतकसँगै नेपालले सामोआलाई दियो २१२ रनको विशाल लक्ष्य

ओमानमा जारी आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगिताको ‘सुपर–६’ चरणको आफ्नो अन्तिम खेलमा नेपालले सामोआलाई जीतका लागि दुई सय १२ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय ११ रन बनाएको हो । जारी छनोट प्रतियोगितामा कुनै पनि टोलीले बनाएको यो दोस्रो ठूलो स्कोर हो ।

ओपनर ब्याट्सम्यान असिफ शेख र कुशल भुर्तेलले नेपाललाई गतिलो शुरूआत दिए । उनीहरूले ६३ रनको साझेदारी गरे । आसिफ शेखले उत्कृष्ट अर्धशतक बनाए । २४ वर्षीय आसिफले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो १०औं अर्धशतक हो ।

उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार ६ सय रन पनि पूरा गरे । आसिफले टोलीका लागि ६९ रनको योगदान गरे । यस क्रममा उनले ४१ बलको सामना गरी चार छक्का र सात चौका हिर्काए ।

१३औं ओभरको पाँचौं बलमा आसिफ आउट हुँदा नेपालले एक सय १० रन बनाइसकेको थियो । अर्का ओपनर कुशल भुर्तेलले १७ रन बनाए ।

कुशलले १५ बलमा एक छक्का र दुई चौका प्रहार गरे । उनी सातौं ओभरको चौथो बलमा आउट भएका थिए । कुशलले अघिल्लो खेलमा अर्धशतक बनाएका थिए ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएको दीपेन्द्रसिंह ऐरी पनि टोलीका लागि उत्कृष्ट अर्धशतकीय योगदान गरे । उपकप्तानको भूमिकामा रहेका दीपेन्द्रले ५३ रन बनाए ।

यस क्रममा दीपेन्द्रले केवल ३३ बलको सामना गरी चार छक्का र दुई चौका पनि प्रहार गरे । १७औं ओभरको पाँचौं बलमा दीपेन्द्र आउट हुँदा नेपालले एक सय ६० रन बनाइसकेको थियो ।

चौथो नम्बरका ब्याट्सम्यान आरिफ शेख नौ रन बनाउँदै पेभेलियन फर्किए । १४औं ओभरको अन्तिम बलमा तेस्रो विकेटका रूपमा आरिफ शेख पेभेलियन फर्कँदा नेपालले एक सय २० रन बनाएको थियो ।

पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका कप्तान रोहित पौडेलले अविजित २१ रन बनाए । उनले केवल १२ बलमा एक छक्का र एक चौका पनि प्रहार गरे ।

दीपेन्द्र पेभेलियन फर्किएपछि उनको स्थान लिन आएका लोकेश बमले पनि आक्रामक पाली खेल्दै अविजित ३९ रनको योगदान गरे । उनले केवल १२ बलमा चार छक्का र दुई चौका हिर्काए ।

यो खेलमा विजयी भए नेपाली टोली छनोट प्रतियोगिताको उपाधिसहित स्वदेश फर्कने छ । नेपालले यसअघि दुईपटक टी–२० विश्वकप खेले पनि छनोट प्रतियोगिताको उपाधि भने जित्न सकेको छैन ।

एसिया–प्रशान्त क्षेत्रको जारी छनोट प्रतियोगिताबाट नेपाल, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई)ले यसअघि नै सन् २०२६ मा आयोजना हुने टी–२० विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।

‘सुपर–६’ तालिकामा नेपाल र ओमानको समान आठ–आठ अंक छ । नेट रन रेटमा ओमानभन्दा नेपाल अगाडि छ । नेपालको नेट रन रेट ०.७४५ र ओमानको नेट रन रेट ०.४५६ रहेको छ ।

यूएई ६ अंकसहित तालिकाको तेस्रो स्थानमा आसीन छ ।

कतार, जापान र सामोआको विश्वकपमा छनोट हुने सपना भने समाप्त भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्